सार्वजनिक बिदामा पनि रामेछाप प्रशासन खुल्ने
रामेछाप । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिइरहेको छ । उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले बिहीबार सूचनामार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका लागि वैशाख पूर्णिमा, श्रीकृष्ण जन्माष्टम, रक्षाबन्धन, घटस्थापना, क्रिसमस, उभौली, धान्यपूर्णिमा, तमु ल्होसार, माघी, सोनाम ल्होसार, महाशिवरात्री र ग्याल्पो ल्होसारका दिन कार्यालयबाट सेवा संचालन हुनेछ ।
त्यसैगरी ईद, बकरईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिनमा पनि कार्यालय खुल्ने जनाइएको छ । सार्वजनिक बिदाका दिन नागरिकता प्रमाणपत्र जारी हुने, राहदानीको सिफारिस हुने र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा संचालन हुने उक्त कार्यालयले जनाएको छ । बिदाका दिन मुद्दा, प्रशासन, संघसंस्थालगायतका अन्य शाखाको काम भने हुने छैन ।
यसअघि उक्त कार्यालयले कार्यालयको सेवासम्बन्धी सम्पूर्ण फारामहरु निस्शुल्क उपलब्ध गराउनुका साथै अनलाइन फर्मसमेत कार्यालयबाटै भरीदिने गर्दै आएको थियो ।
Facebook Comment