चार्ल्स तृतीयले पहिरिए राजमुकुट

डिसी नेपाल
२३ वैशाख २०८० १७:१९

बीबीसी । चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन्। आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन्।

जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन्। यतिखेर वेस्टमिन्स्टर एबीमा राज्याभिषेकको विस्तृत समारोह चलिरहेको छ। यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए।

पत्नी क्वीन कन्सोर्ट कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कंदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो।

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए। राज्याभिषेक समारोह वेस्टमिन्स्टर एबीमा जारी छ जुन करिब २ घण्टा चल्नेछ।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू छन् र बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन्।

यसअघि रेलमार्फत् लन्डनको वाटरलु स्टेसन पुगेका सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ गएका थिए।

समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजेका छन्। त्यसमा १२ वटा नवनिर्मित धुन छन्। वेस्टमिन्स्टर एबीमा भव्य शाही समारोहको आयोजना गरिएको छ संसारभरबाट अतिथिहरू सहभागी छन्।

संसारभरिबाट विश्व नेता र राजपरिवारका सदस्यहरूसहित २ हजारभन्दा धेरैलाई समारोहका लागि निम्त्याइएको छ। मनोरञ्जन जगत्‌का व्यक्तिहरू समेत अतिथिका रूपमा सहभागी छन्।

यूकेका प्रधानमन्त्री ऋषि सुनक र देशका सातजना पूर्व प्रधानमन्त्रीहरू समारोहमा सहभागी छन्। यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन अभूतपूर्व राष्ट्रिय गौरवको क्षण भएको र हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शन भएको बताएका छन्।

उनले ट्वीटमार्फत् भनेका छन्ः ‘कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो।’

योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ। सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्।

राजतन्त्रविरोधी प्रदर्शनहरू समेत हुनसक्ने ठानिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *