सार्वभौम देशका नागरिक शरणार्थी बन्न मरिहत्ते, गैरनागरिकको पीडाले पिरोलिँदै भुटानी शरणार्थी

शरद रिजाल
२४ वैशाख २०८० १३:५०

काठमाडौं। नेपालमा केही दिनयता भुटानी शरणार्थी प्रकरण निकै पेचिलो रुपले सतहमा आएको छ। देशका उच्च तहका नेता र कर्मचारीको समेत संलग्नता देखिएको यस प्रकरणको जालो निकै फैलिएको देखिएको छ।

नेपाल प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको यस प्रकरणमा राज्यका उच्च तहका नेता र कर्मचारीको मिलेमतोमा देशका नागरिकलाई अवैध रुपमा भुटानी बनाएर तेस्रो मुलुक पठाउने गिरोहमा संलग्नता देखिएको छ। प्रहरीले हालसम्म आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

यस प्रकरणमा अधिकांश उच्चपदस्थ व्यक्तिहरु तानिएका छन्। नेपालका प्रमुख राजनीतिक दलका नेता पूर्वउपप्रधानमन्त्रीदेखि बहालवाला सरकारी कर्मचारीको संलग्नता देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणमा ठगिएका एक सय भन्दा बढीले नेपाल प्रहरीमा उजुरी दिएका छन्। उनीहरुले भुटानी शरणार्थी बनेर अमेरिका लैजाने गिरोहबाट २३ करोड भन्दा बढी ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।

यो प्रकरण सतहमा आएसँगै नेपालका बहुसंख्यक नागरिकहरुलाई मातृभूमिप्रतिको दायित्वबोध भन्दा पनि विकसित मुलुक पलायन भएर वैयक्तिक उन्नयन मोह सतहमा ल्याएको छ।

राज्यले विधिवत रुपमा बैदेशिक रोजगार नीतिलाई खुकुलो बनाउँदै युवाशक्ति पलायनलाई प्रश्रय दिने र त्यही राज्य संयन्त्रकै उच्च तहमा रहेका व्यक्तिहरुकै संलग्नतामा अवैध रुपमा नक्कली शरणार्थी बनाएर आर्थिक उपार्जन गर्ने नियतले बाह्य मुलुक पठाउने प्रपञ्च सार्वभौम राष्ट्रका लागि निकै  लज्जाको विषय हो।

हाम्रो माग तेस्रो मुलुक पुनर्वास कदापी थिएन। हाम्रा पूर्वज नेपालकै हुन्।त्यसैले हामी नेपालमै बस्न चाहन्थ्यौं। हाम्रो भाषा, संस्कृति सबै नेपालीसँग मिल्थ्यो। तथापि त्यसो हुन सकेन। यो हाम्रो बाध्यता हो। तर एउटा देशको स्वतन्त्र नागरिक तपाईंहरुको रहर कसरी भयो?

विदेशिनु रहर होइन बाध्यता नै हो देशमा रोजीरोटीको अवस्था नभएपछि मानिस विदेशिन बाध्य हुन्छ। हाम्रो देशमा परापूर्वकालदेखि नै विदेशीने प्रवृत्ति कायमै रहेको छ। यसको निरुपण राज्यसंयन्त्रले गर्नुपर्ने हो। तथापि समस्या आज पर्यन्त उस्तै छ। जिवीकोपार्जनका लागि वैदेशिक श्रम बजारमा होमिुन पर्ने अवस्था नेपालीजनका लागि बाध्यात्मक हो ।

यसको प्रमुख जिम्मेवार सत्ताका हिमायति र विद्यमान राज्य संरचना सञ्चालक नै मुख्य कारक हुनसक्दछन् तर मातृभूमिप्रति उपेक्षा गर्दै गैरकानूनी रुपले शरणार्थी बनेर देश छाड्न उद्धत जमातको संलग्नता भने क्षम्य हुन सक्दैन ।

नेपालका नेतादेखि उच्च पदस्थ कर्मचारी सामेल भएको यस प्रकरणमा नक्कली शरणार्थी बनेर अमेरिका जाने नेपाली जमातको संख्या अधिक रहेको देखिएको छ।त्यसैले हालसालै उजागर भएको नक्कली शरणार्थी प्रकरणको भागिदार लाखौं रकम तिरेर अवैध तवरले देश छाड्न तयार जमात पनि हो।

नेपालमा नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान चाहनेहरुको बिगबिगी बढिरहेको खुलासा भएपछि क्यानडा पुगेका एक भुटानी शरणार्थीले हाम्रो बाध्यता नेपालीलाई कसरी रहर भयो भन्दै प्रतिप्रश्न गरेका छन्।

नेपालमा भुटानी शरणार्थीको रुपमा लामो समयसम्म बसेर तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत हाल क्यानडामा रहेका खगेन्द्र गौतमले नेपालमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको उजागर भएपछि उनले नक्कली भुटानी शरणार्थी बन्न लागेका नेपालीलाई प्रतिप्रश्न गरेका हुन्।

भुटानमा जन्मिएका गौतम सात वर्षको उमेरमा १९९२ मा भुटानी सरकारले अपनाएको जातीय सफायाको सिकार बन्दै भुटानबाट विस्थापित भए पछि नेपालमा शरणार्थीको रुपमा बीस वर्ष झापामा बसोबास गरेका थिए।

भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत सन २०१० मा क्यानडा पुगेको उनले बताएका छन्। हाल गौतम क्यानडाको नागरिकका रुपमा त्यँही बसोबास गरिरहेका छन्।

नेपालमा रहँदा भुटानी शरणार्थीलाई गरिएको उपेक्षापूर्ण व्यवहारको स्मरण गरेका छन्। उनले नक्कली भुटानीका रुपमा शरणार्थी बनेर अमेरिका पुग्ने लालचालाई विगतमा नेपालमा रहँदा भुटानी शरणार्थीलाई गरिएको अपहेलना सम्झिएको बताउँछन्।

उनले भनेका छन्-शरणार्थीको हैसियतलाईसमेत किनबेच भएको देख्दा दुःख लागेको छ। हाम्रा पूर्वज नेपालकै हुन्।त्यसैले हामीलाई नेपालमा पुर्नस्थापना गरियोस् भन्ने हाम्रो आशा थियो।’

उनले अगाडि भनेका छन्-हाम्रो माग तेस्रो मुलुक पुनर्वास कदापी थिएन। हामी नेपालमै बस्न चाहन्थ्यौं। हाम्रो भाषा, संस्कृति सबै नेपालीसँग मिल्थ्यो। तथापि त्यसो हुन सकेन। यो हाम्रो बाध्यता हो। तर एउटा देशको स्वतन्त्र नागरिक तपाईंहरुको रहर कसरी भयो? ’

उनले नेपालमा बस्ने रहर हुँदाहुँदै आज विश्वर छरिएर बस्नपरेको बाध्यात्मक अवस्थाले पिरोलिरहेको बताएका छन्। अहिले नेपालमा उजागर भएको नक्कली भुटानी प्रकरणले भुटान सरकारलाई थप शरणार्थी उत्पादन गर्ने अवस्था निम्त्याउने सम्भावना बढाएको उनले औंल्याएका छन्।

नेपालमा रहेका भुटानी शरणार्थीहरु तेस्रो मुलुक पुनर्वास अन्तर्गत  विभिन्न मुलुकमा पुगिसकेका छन्। कतिपय शरणार्थीका रुपमा प्रमाणिकरणका रुपमा छुटेकाहरु पारिवारिक रुपमा विछोडिएर नेपालमै रहन बाध्य भएका छन्।

यही अवसथामा नेपालका नागरिकहरु भने राष्ट्रिय पहिचानलाई लत्याउँदै नक्कली शरणार्थी बनेर अमेरिका जान लालायित हुँदै लाखौं रुपैयाँ खर्चेर अवैध धन्दामा संलग्न रहेको पाइएको छ। यसले नेपालको सार्वमौम गरिमालाई विश्वसामु लज्जाजनक अवस्थामा पुर्‍याएको छ।

ती तेस्रो मुलुक क्यानडामा पुनर्वास भएका भुटानी शरणार्थी गौतमले यस प्रकरणबाट अधिकांश नेपाली मूलका भुटानी शरणार्थीहरु समेत समस्यामा परेको प्रवासबाट सञ्चालित नेपाल टच नामक अनलाइन मार्फत बताएका छन्।

उनले विश्वका विकसित विभिन्न मुलुकमा रहेका आप्रवासी भुटानीलाई लज्जाजनक अवस्थामा पुर्याएको बताएका छन्। उनको भनाइ अनुसार बाध्यतावश विश्वका विभिन्न मुलुकमा पुगेका भुटानी शरणार्थीलाई यस प्रकरणले लज्जाबोधको अवस्थामा पुर्‍याएको छ।

नेपालमा रहेका एक लाख भन्दा बढी भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनर्वास भइसकेका छन्। यद्यपि छ हजार भन्दा बढी नेपाली अहिले पनि पूर्वी नेपालका शरणार्थी शिविरमा रहेका छन्। उनीहरु विभिन्न कानूनी जटिलताका कारणले तेस्राे मुलुक पुनर्वास हुन पाएका छैनन्।

विश्वभर पुनर्वास भएका भुटानी शरणार्थीहरुका परिवार अलग अलग देशमा रहेका छन्। उनीहरु परिवारिक विछोडको पीडाले प्रताडित छन्। आफ्नो राष्ट्रिय पहिचान छैन।

तर, सार्वभौम देशका नागरिकहरु नागरिकता परित्याग गर्दै अर्कै देशको नागरिक बन्न अवैध रुपमा लाखौं खर्चेर जान तयार हुने नेपाली जमातले सक्कली भुटानी शरणार्थी र नेपालको स्वाभिमानको उपहास गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *