‘हुक्काः एन एब्सर्ड ड्रिम्स’मा ट्वीस्ट ल्याउने तेज
पोखरा। अभिनेता तेज गिरी काभ्रेमा जन्मिएर हेटौंडामा हुर्किएर हाल काठमाडौंमा बसे पनि १० वर्षदेखि पोखरासँग नजिक छन्। उनलाई चिन्नेले ‘पोखरेली’ नै भनेर चिन्दछन्। यिनै तेज पोखराकै फिल्मकर्मीले निर्माण गरेको फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम्स’मा विशेष भूमिकामा देखिँदैछन्। फिल्म आगामी जेठ १२ गतेबाट रिलिज हुँदैछ।
फिल्ममा तेज उनकै भनाईमा ‘ट्वीस्ट’ ल्याउने चरित्रमा छन्। यसअघि ‘धौली’ र ‘प्रेमगन्ज’मा दमदार अभिनय गरि चर्चा कमाई सकेका तेज ‘हुक्काः एन एब्सर्ड ड्रिम’बाट आशावादी छन्। यो फिल्म उनको “प्रेमगन्ज“ भन्दा पहिले नै छायांकन भएको फिल्म हो । विविध कारण रिलिज भने “प्रेमगन्ज“ भन्दा पछि हुन गयो।
‘धौलीमा मेरो चरित्र माया लाग्दो थियो । आमाको संघर्षमा साथ दिइरहेको पात्रको भूमिका निभाएको थिएँ। जो आफ्नो दाईलाई भेट्नका अतेन्तै भौतारिन्छ्न’, तेज भन्छन्, ‘हुक्काः एन एब्सर्ड ड्रिममा चाहिँ अलिक फरक टाइपको चरित्र छ। म पूर्ण सकारात्मक र पूर्ण नकारात्मक भन्दा पनि अलिक मध्यम किसिमको चरित्रमा देखिएको छु। फिल्मको कथामा ‘ट्वीस्ट’ ल्याउने पात्रको भूमिका निभाएको छु।’
फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ फिल्म ‘धौली’को टिमले निर्माण गरेको हो। ‘धौली’मा अभिनय गरेपछि यो टिमसँग एक दशकदेखि नजिकिएका तेज ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा जोडिएका हुन्। ‘फिल्मको स्क्रिप्ट इन्टरटेन किसिमको छ। पश्चिम क्षेत्रको माटो, हावापानीसँगै पोखरा आसपासको भाषालाई अत्यन्त सुन्दर ढंगले फिल्ममा प्रस्तुत गरिएको छ’, तेज खुल्छन्।
तेजको बुझाईमा ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले हुक्काको परिभाषालाई फेरेको छ। ‘हामी हुक्का भन्नासाथ हुक्का तान्ने, धुँवा नै उडाउने भन्ने सोच्छौं। तर फिल्मले पुर्खाले प्रयोग गर्ने हुक्कालाई देखाउन खोजेको छ। हुक्काको परापूर्वकालमा छुट्टै महत्व थियो। फिल्मले हुक्का वा अन्य कुनै पनि वस्तुको लतले मान्छेले केकेसम्म गर्छ भन्ने कुरालाई देखाउन खोजेको छ’, उनी भन्छन्,‘हुक्कालाई सिम्बोलिक माध्यम बनाइएको छ। हुक्कालाई एक प्रतीष्ठासंग जोडिएको छ। त्यसमा प्रेम, धोका पनि हुनसक्छ। त्यो लतले मानिसलाई कहाँसम्म पुर्याउन सक्ने भन्ने कुरालाई उठान गरेको छ।’
तेजको अनुभवमा नेपालमा बनेका अधिकांश फिल्ममा पुरुषलाई प्राथमिकता दिए पनि ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले महिला चरित्रलाई ‘हिरो’को रुपमा प्रस्तुत गरेको छ। ‘फिल्मको कथाले समाजको पात्रलाई रिलेट गर्छ। निम्न वर्गीय र मध्यम वर्गीय संघर्षको कुरालाई उठान गरेको छ’, तेज भन्छन्, ‘घरको समस्याभन्दा पनि जीवनमा आउने उतारचढावलाई कसरी समाधान गर्न सकिन्छ भन्ने र एउटा पारिवारिक कलहलाई कसरी शान्त मोड दिन सकिन्छ भन्ने हुक्काले देखाएको छ।’
शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ। रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।
Facebook Comment