पाकिस्तानमा गम्भीर अवस्थाका बीच अमेरिकी दूतावासद्वारा अलर्ट जारी
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि रावलपिंडी, लाहोर, पेशावरलगायत धेरै सहरमा उनका समर्थक र तेहरिक–ए–इन्साफ पार्टीका कार्यकर्ताहरुको प्रदर्शन जारी छ । देशको अवस्थालाई मध्यनजर गर्दै अमेरिकी दूतावासले अलर्ट जारी गरेको छ ।
दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी दूतावासले इस्लामाबादमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडप र आगामी दिनमा हुन सक्ने वा योजना बनाइएका सबै प्रदर्शनको निगरानी गरिरहेको छ । यसैलाई ध्यानमा राख्दै इस्लामाबादस्थित अमेरिकी दूतावासले मे १०, २०२३ मा हुने सबै कन्सुलर अपोइन्टमेन्टहरू रद्द गर्दैछ।’
यससँगै दूतावासले एक एडभाइजरी जारी गरेको छ, जसमा पाकिस्तानमा बस्ने अमेरिकी नागरिकले कुन–कुन कुरामा ध्यान दिनु पर्ने भनिएको छ । यसमा भनिएको छ – सतर्क रहनुहोस् र ठूलो संख्यामा मानिसहरू भेला हुने ठाउँहरूमा जानबाट जोगिनुहोस्।
आफ्नो सुरक्षा योजनाहरू समीक्षा गरिरहनुहोस्। आफ्नो परिचय पत्र बोक्नुहोस् र कानूनको पालना गर्नुहोस् स्थानीय मिडिया मार्फत स्थिति बारे जानकारी लिइरहनुहोस्।
इमरान खानलाई मंगलबार इस्लामावाद प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गरेको थियो । यसपछि इमरानका समर्थकहरूले धेरै शहरहरूमा प्रदर्शन र तोडफोड गर्न थाले।
इमरान खानको गिरफ्तारीको विरोधमा पीटीआई कार्यकर्ताहरू रावलपिंडीस्थित सेनाको मुख्यालयमा प्रवेश गरेका छन्। प्रहरीका गाडीमा आगजनी भएको छ । जवाफमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।
Facebook Comment