लीला कहाँबाट सुरु हुन्छ ?

नारायण अधिकारी
२८ वैशाख २०८० १०:४१

समाजका सबै प्रकारका व्यक्ति, समाज, राज्यलगायत सिद्धान्त, वाद, मान्यता, धर्म, संगठन, सँस्कृति र नयाँ ज्ञान, नयाँ राज्य, नयाँ शासकद्वारा स्थापित मान्यताहरूमा पनि लीला भइरहेको हुन्छ। तसर्थ, समाजको पहिलो इकाइ व्यक्ति भएकोले व्यक्तिको विचारधाराबाट नै लीला सुरु भइसकेको हुन्छ।

मानिस कम्पयुटर होइन, जसमा एउटा इनपुट हालेपछि त्यसलाई अपडेट नगरेसम्म त्यही एउटै सँस्कृतिमा बसिरहेको हुन्छ। त्यसो हुँदा कम्प्युटरमा लीला हुँदैन। मानिसमा त्यसकारण लीला हुन्छ।

के हो लीला ?

लीला शब्द नेपाली भाषा र सँस्कृतिमा सनातन चलिआएको शब्द हो। सीधा अर्थमा हिन्दु धर्ममा श्रीकृष्णले बाल्यकालमा गरेको अनेकअनेक बालक्रीडाहरूलाई हेरेर भगवान्ले कृष्णका रूपमा गरेको लीला भनेर प्रचलित भएको र यही रूपमा यसलाई बुझिन्छ। त्यसैले लीला भनेर भनिरहँदा लीला शब्द अपरिचित जस्तो लाग्दैन।

तर हामीले यहाँ चर्चा गर्न खोजेको कुरा चाहिँ समाजमा भइरहेका विविध व्यवहारिक, वैचारिक, सामाजिक, राजनीतिक र यस्तै यस्तै हजारौं लीलाहरूको हो। इन्द्रबहादुर राईको २० सूत्रीय घोषणापत्रबाट सापटी लिएर भन्दा “जीवन र जगत्को कर्मभूमिमा लीलानुसारी संघर्षमा रत रहौं।

लीलाक्षेत्रमा छौँ र नभुलौँ तर खेलौँ बाँच्ने खेल।”  हो, यसरी मानिसले “बाँच्ने खेल खेल्दा” हुने लीलाबोधको, लीलालेखनको, लीलाविचारको, लीलावादको चर्चा हो।

के हो लीलालेखन ?

बाँच्ने खेल खेल्दा एउटा विषयवस्तुमा आउँदै जाने गर्ने नयाँ पुराना बोधहरू नै लीलाबोध हुन् भने त्यहीँ बोधको लेखनी नै लीलालेखन हो। तसर्थ, लीलालेखन भन्दा लेखनमा हुने लीला भन्ने बुझेर अगाडि गए सजिलो हुन्छ।

केवल खेलमा, नाटकमा, अभिनयमा मात्र लीला हुँदैन, यो लेखनमा पनि हुन्छ। लीलालेखन वा लीलाविचारको चर्चा गर्दा केही शब्दावलीहरू बारम्बार जोडिएर र दोहोरिएर आउँछन्। ती शब्दावलीलाई लीलाकै सन्दर्भमा जोडेर बुझियो भने लीला बुझ्न सजिलो हुन्छ। लीलालेखनमा स्थापित भएका केही शब्दावलीहरू हुन्ः

शब्दावली

‘लीला’, ‘लीलालेखन’, ‘लीलाबोध’, ‘लीलाविचार’, ‘लीलावाद’, ‘भ्रान्ति’, ‘वस्तु’, ‘वस्तुता’, ‘मानव–सापेक्षता’, ‘मानव-निरपेक्षता’, ‘निमित्त’, ‘स्थितता’, ‘आयाम’, ‘उत्तर आधुनिक’, ‘विनिर्माण’, ‘वेदान्ती, ‘भाषिककला’, ‘धारणा’, ‘अनिश्चितता’, ‘अनिर्धार्यता’, ‘आयामिक’ जस्ता शब्दावलीहरू अब लीला साहित्यमा प्रचलित भएर बारम्बार दोहोरिने भएका छन्।

यी शब्द र यिनका अर्थहरूलाई लीला लेखनका सन्दर्भमा जोडेर बुझियो भने सजिलोसँग लीला लेखन र यसको प्रविधिलाई बुझ्न सकिन्छ।

यहाँ एउटा शब्दलाई लिन चाहन्छु म आयाम। आयामको कुरा गर्दा लीलालेखनले कुनै वस्तुको वस्तुतामा मानवसापेक्षताले प्रवेश पाउनेबित्तिकै त्यहाँ आयामको निर्माण हुन थाल्छ। वस्तुको आकार, प्रकार, सानो ठूलो, अग्लो होचो हुन थालेपछि त्यस्ता वस्तुमा आयाम हुने भए।

विचारमा भिन्न दृष्टिकोण भनेको के हो? भिन्न दृष्टिकोण भनेको तथ्यमाथि विविध दृष्टिकोणहरू आयामहरू बनेर आउँदैनन् त? आउँछन्। आएपछि तिनै विविध दृष्टिकोणहरूले त्यो वस्तुलाई आयामिक बनाइदिन्छ। अर्को शब्दमा भन्ने हो भने त्यहाँ वस्तुमाथि धारणाहरू बन्न थाल्छन्।

धारणाहरूको आविष्कार हुन थाल्छ। त्यसपछि त्यो वस्तु निरपेक्ष त्यसकै टायम एण्ड स्पेसमा त बस्दछ तर मानव समाजमा चाहिँ विशेषण बोकेर, धारणा बनेर, विचार वा वादमा रूपान्तरण भएर आउँछ। यही नै लीला हो।
आज नेपाली साहित्यमा लीला

हामी बाँचिरहेको समाजमा भइरहेका सबै गतिविधिहरू लीला हुन्। हामीले बुझेका कुरा भ्रान्ति हो, हामी भ्रान्ति बुझिरहेका हुन्छौं भन्ने इन्द्रबहादुर राईज्यूको गुण जस्ताको तस्तै डा.रत्नमणि नेपालमा सरेको देखिन्छ।

कृष्ण धरावासीले व्याख्या गरेको लीलामा “भ्रान्ति” शब्दको ठाउँमा अधिकांश “सत्य” शब्दको प्रयोग भएको पाइन्छ। इन्द्रबहादुर राई र रत्नमणि नेपालले हामी भ्रान्ति बुझ्छौै र नयाँ भ्रान्तितिर अघि बढ्छौं भन्ने कुरालाई नै धरावासीले हामीले बुझेको सत्य स्थिर रहँदैन, क्षणिक रहन्छ र दोस्रो तेस्रो नयाँ सत्य स्थापित हुँदै जान्छ भन्नुभएको छ। यहींनेर कृष्ण धरावासी र रत्नमणि नेपालमा फरक देखिन्छ।

धरावासी र रत्नमणि नेपालका बीचको अन्तरको कुरा गर्दा धरावासीले “कुन ठाउँमा लीला हुँदैन” भनेर अपवादको व्याख्या गरेको मैले पाएको छैन तर डा.रत्नमणि नेपालले भने सर्वज्ञ अथवा व्यक्ति, निरङ्कुश शासक आदिले लीलाबोध गर्दैनन् भनेको पाइएको छ।

अब मेरो धारणा के हो भने सर्वज्ञ व्यक्ति अथवा मान्छे को हो? त्यसको बोध कसरी गर्ने? त्यो कसैलाई भिराइदिने विशेषण मात्र हो। बोधिसत्व प्राप्त गरी बुद्ध बनेका गौतम बुद्ध पनि सर्वज्ञ थिए भनेर गरिएको एउटा धारणा मात्र हो। उनलाई शंकाको सुविधा दिन सकिन्छ।

लीला साहित्यमा इन्द्रबहादुर राईपछि नेपालभित्रका प्रथम पुरुष कृष्ण धरावासी हुन् भने द्वितीय पुरुष डा.रत्नमणि नेपाल हुन्। लीला साहित्यको विषयमा बुझ्न धरावासीको कृति “लीलाबोध” र डा.रत्मणि नेपालको कृति “लीला धारणा र कथाहरू” बजारमा पाइन्छ।

लीला साहित्यका यी दुई पात्रहरूका अनुसार, लीला भनेको जब कुनै वस्तु विशेषता, विशेषण, रूप वा कुनै घटना बनेर आउँछ, लीलाको प्रारम्भ नै त्यँहाबाट सुरु हुन्छ।

अघिसम्म केही नभएको, धारणाविहीन वस्तु जब ‘कालो सेतो’ जस्तो रंग बोकेर आउँछ, ‘ठूलो सानो’ जस्तो स्वरूप बोकेर आउँछ, ‘लामो छोटो’ जस्तो नाप बोकेर आउँछ, ‘गोलो चेप्टो’ जस्तो आकार बोकेर आउँछ, ‘खुसी उमंग वा भय’ जस्तो भाव आदि बोकेर आउँछ भने त्यस्तो विशिष्ट अवस्थाबाट लीला प्रारम्भ हुन्छ।

अनि त्यसले थप विशेषता, व्याख्या, दृष्टिकोण, चर्चा, आलोचना, समालोचना, प्रशंसा, घृणा, प्रेम, तुलना, समानता आदिले कुनै वस्तुको वस्तुतालाई त्यसको स्थितताबाट चलायमान बनाइदिन्छ।

त्यसपछि वस्तुको चिनारी थपिँदै घट्दै नाम, उपनाम, विशेषण वा परिभाषामा बदलिन्छ। अर्को शब्दमा भन्नुपर्दा मानव–निरपेक्ष स्थितिबाट वस्तु मानव-सापेक्ष स्थितिमा रूपान्तरण हुन्छ।

यसपछि विषय वा वस्तुले विवेचना र विचारद्वारा लामा लामा व्याख्या पनि पाउन थाल्छन्। शोधहरू पाउन थाल्छन्। स्रष्टा द्रष्टाले अब निरपेक्ष अवस्थाबाट हजारौं हजार मानव स्वार्थमा वस्तुलाई चरित्रमा ढाल्न थाल्दछन् आ-आफ्नै धारणामा। यही परिस्थितिको व्याख्या विश्लेषण नै लीलालेखन हो, लीला साहित्य हो।

जस्तो एउटा कुखुराले मान्छेलाई वा गाईलाई हेर्यो भने के धारणा बनाउँछ? कस्तो होला त्यो धारणा? कुखुराले मान्छेलाई लाम्चो गोलो, ठूलो सानो वा यस्तै केही धारणा बनाउँछ? बनाउँदैन।

त्यसैले कुखुराले हरेक वस्तुलाई धारणामा होइन, खाली एउटा वस्तुका रूपमा धारणाविहीन निरपेक्ष देख्दछ। कुखुरामा कुनै लीलाबोध, कुनै लीलाविचार केही हुँदैन।

आँखाले पनि धोका खान्छ। इन्द्रेनीमा कति रङ हुन्छन्? आँखाले हेरेर भन्न सकिँदैन? देखेको कुरा मात्र कुरा हुँदैन। देखेको कुरा भ्रमात्मक हुन्छ, अपर्याप्त हुन सक्छ। एउटा धारणा मात्र हुन्छ त्यो।

कानले धोका खान्छ। काफल पाक्यो चरीले काफल पाक्यो नै भन्छ वा अरु केही भन्छ? के सुन्छ कानले? सुनेका सबै कुरा शब्दमा उतार्न सकिँदैन।

गीतारबाट निस्किएको धुनलाई कुन अक्षरमा लिपिबद्ध गरी शब्द बनाउन सकिन्छ? तर सुनिन्छ। सुनेको कुरालाई यस्तो ध्वनि निस्कियो भनेर एउटा धारणा मात्र बन्ने हो। शब्दले भन्न सक्नेभन्दा पर पनि कुनै आवाज हुन्छ? सबैलाई कहाँ शब्दमा व्याख्या गर्न सकिएको हुन्छ र?

लीलाको उद्देश्य

लीलाको उद्देश्य निष्कर्ष दिने होइन। यसले जीवन जगतको विरोधाषासलाई त्यस्तै देखाउने र एउटै धारणामा आउने परिवर्तनको पर्दाफास मात्रै हो। समाजमा भएका मानव निरपेक्ष र सापेक्ष दुवै बोधको सानोभन्दा सानो क्वान्टम लेभलसम्म पुगेर उजागर गरिदिने कुरा हो।

समाजमा धारणा कसरी उत्पन्न हुन्छन् र तिनले कसरी एउटा समूह, सँस्कृति, धर्म, राजनीति, राज्य आदि निर्माण गर्दछ साथै तिनीहरू बन्ने, भत्किने र पुननिर्माण कसरी भइरहेका हुन्छन् भन्ने स्थितिलाई बोध गराउँदछ।

धारणाको कुरा गर्दा मानवसभ्यता विकासको क्रममा राज्य बन्ने एउटा धारणा आयो। यही धारणाको बिस्तारित रूप राज्यसहितको आजको विश्व हो। अहिले पनि राज्य बन्ने र समाप्त हुने प्रक्रिया चलिरहेका छन्।

राज्यको उत्तपत्ति भएको लामो समयपछि कार्लमाक्र्ससम्म आइपुग्दा राज्यविहीन समाजको कल्पना गरेर साम्यवादी सिद्धान्तको धारणा विकास भयो। त्यसले अहिले पनि धेरथोर अस्तित्वमा रहेर पूँजीवादविरुद्ध पृथ्वीमा काम गरिरहेकै छ। राजनीतिमा यो सबैभन्दा ठूलो आकारको राजनीति लीला हो।

अर्को शब्दमा भन्ने हो भने धारणाहरू बदलिरहने कुरा हुन्, धारणाले अन्तिम सत्य पत्ता लगाउन सक्दैन किनभने अन्तिम सत्य अथवा एब्सोलुट ट्रुथ यथार्थमै हुँदैन।

कति किसिमका हुन्छन् लीला ?

लीला यति नै कसिमका हुन्छन् भन्ने निर्धारण हुँदैन। यो अनिर्धार्य कुरा हो। तथापि मैले यहाँ केही किसिमहरूको उल्लेख गर्न चाहन्छु। भविष्यमा यसलाई तथ्यात्मक पुस्टि गर्नुपर्ला। यसका लागि अनुसन्धान, खोज आवश्यक पर्दछ।

भाषिक लीला
ग्रे

प, द्रक्ष्याफलम, अंगुर कथामा एकै कुरामा विवाद बढेको छ। भाषिक अज्ञानताले एउटै वस्तुलाई विभिन्न नाममा बुझियो। एउटै वस्तुलाई विभिन्न भाषामा बुझिया तर आफूआफूमा चाहिँ विवाद भयो। यो हो भाषिक अज्ञानको लीला।

“ईश्वर अल्लाह तेरे नाम, सबको बुद्धि दे भगवान्”। भन्ने ईश्वरको बारेमा हिन्दी गीतमा भनिएको छ। कसैले ईश्वर भने कसैले अल्लाह भने तर धार्मिक पृथतकता देखाउन एउटा अज्ञेय शक्ति एउटाको लागि ईश्वर, अर्कोको लागि अल्लाह। ईश्वर र अल्लाहको बीचमा जुन अन्तरव्याख्या छ, त्यो नै लीला हो।

भक्तिमा लीला

कसका भगवान् ठूला? राम ठूला कि कृष्ण ठूला? मोहमद ठूला कि जिसस क्राइस्ट ठूला? गीता ठूलो कि बाइबल ठूलो? कुरान ठूलो कि त्रिपिटक ठूलो? यो तुलनामा मात्र होइन, यस्ता भक्तिमय विषयवस्तुमा हुने अन्तरले भक्तिलीलालाई प्रस्ट पार्छ।

सापेक्षता र निरपेक्षतामा लीला

हामी भन्छौं सूर्य पूर्वबाट उदाउँछ, पश्चिममा गएर अस्ताउँछ। यो एउटा यथार्थ हो, तर यो यथार्थ होइन फेरि, किन? खासमा सूर्य गतिशील भएर पूर्वबाट उदाई पश्चिममा अस्ताएको कुरा नभई पृथ्वी आफ्नो अक्ष (एक्सिस)मा पूर्वबाट पश्चिमतर्फ घुम्दा सूर्यलाई पूर्वमा देखिएको र पश्चिममा छेलिएको देखिएको कुरालाई हामीले सूर्य पूर्वबाट उदाएको र पश्चिममा अस्ताएको भन्यौं। सूर्य त सौर्यमण्डलको बीचमा स्थिर छ।

यो स्थिरता केवल सौर्यमण्डलको सापेक्षतामा मात्र स्थिर भएको हो तर सौर्यमण्डललाई निरपेक्ष छाडिदिने हो भने यो आकाशगंगाको वरिपरी गतिशील छ।

यसर्थ, सूर्यलाई यदि सौर्यमण्डलको सापेक्षतामा राख्दा स्थिर हुन्छ भने निरपेक्षतामा राख्दा आकाशगंगामा गतिशील छ। सूर्यको यो सापेक्ष र निरपेक्ष स्थिति नै लीला हो। यसलाई विज्ञान लीला भनौं वा सापेक्ष/निरपेक्ष लीला, लीला त छ।

आत्ममुग्धता/आत्मप्रशंसाको लीला

कहिलेकाहीँ व्यक्तिलाई यो काम म मात्र गर्न सक्छु, म मात्र जान्दछु भन्ने आत्मबोध हुन्छ। तर यसलाई व्यवहारिक सत्यमा ल्याउने हो भने आत्ममुग्धताको पर्दाफास हुन्छ।

एउटा लघु कथा छ। कुनै प्रेमीले आफ्नी प्रेमिकालाई फकाउन अथवा प्रभावमा लिनलाई भन्यो, “म संसारको सबै सुख ऐश्वर्य तिमीलाई प्रदान गर्छु। तिमी मागेर हेर, म आकाशको जून तारा टिपेर तिम्रो केशमा सजाइदिन्छु।”

प्रेमिकाले आश्वस्त हुन प्रेमीलाई भनी, “के साँच्चै मेरा लागि तिमी यी सब गर्न सक्छौ?” “सक्छु”, प्रेमीले सहजभावमा भन्यो। “लौ न त प्रिय, मलाई एउटा तारा टिपेर ल्याइदेऊ अहिले नै!”, प्रेमिकाले मागी।

हा! प्रेमीको त्यो “सक्छु” भन्ने आत्ममुग्धता क्षणभङुगुर भयो। अघि तारा झार्न “सक्छु” भनेको सत्य र अहिले “निहत्था” हुनुका दुई सत्यका बीचको अन्तर के हो? आत्मुग्धताको लीला।

कवितामा लीला

प्रा.तुलसी दिवससँग कुराकानी भयो। उहाँले भन्नुभयो, हिजोको कविता, आजको कविता र भोलिको कविता फरक हुनुपर्छ। हिजोको समय र आजेको समय वा भोलिको समय एउटै होइन।

हरेक कालसँग लेखिने कवितामा भाव बदलिन्छ, भाष्य बदलिन्छ, विचार बदलिन्छ र यी विविध कवितामा कालमा बदलिएका कविताहरूले बोेकेका युग सापेक्ष भावहरूका बीचमा पनि एक लीला रहेछ। कवितामा लीला।

जीवनको अन्तमा देवकोटाले भनिदिनुभयो, “आखिर कृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक।” आजसम्म देवकोटा ईश्वरवादी थिए कि अनिश्वरवादी भनेर त्यसपछिका पुस्ताहरूले कति माथापच्ची गरिहेका छन्।

यसरी मानिसले आफ्नो आफ्नो बोध र विचारका आधारमा वस्तु वा विषयलाई विविध दृष्टिमा प्रस्तुत हुन्छन् र नयाँ नयाँ दृष्टिकोण अगाडि आउँछन् र यो प्रक्रिया निरन्तर चलिरहन्छ। यही नै आजको नेपाली साहित्यमा चलिरहेको लीला लेखनको अवस्था हो।

लीला साहित्य कसरी लेख्ने ?

झापाका चिनिएका केही साहित्यकारहरूले कृष्ण धरावासीको विषयमा विविध धारणा व्यक्त गरेका थिए। त्यसमध्ये तेजराज खतिवडा (तेराख)ज्यूले भन्नुभयो, “धरावासीले लीलाको कुरा त गर्नुभयो तर कस्तो लेख्यो भने लीला हुन्छ भनेर चाहिँ भन्नुभएन।

लीलालाई कुनै सूत्रीय धारणा अथवा कुनै प्रविधि भने दिनुभएन। त्यसैले यो कुरा त्यति स्पस्ट छैन। उहाँले लीला साहित्यको फर्मुला (सूत्र) दिनुभएन। कस्तो लेख्यो भने त्यो साहित्य लीला हुन्छ?

यसबारे कृष्ण धरावासीज्यूले भन्नुभएको छ, एक समयमा एउटा सत्य हुन्छ, त्यस सत्यका त्यसपछि अरु अरु धारणा वा नयाँ धारणाहरू आउँदै जान्छ। एउटै वस्तुका फरक समयमा फरक सत्य हुन्छन्। यी दुई वा सोभन्दा बढी सत्यहरूको आपसको जोड वा अन्तर नै लीला हो।

यसैबारे लीला साहित्यमा अहिले आएर यो अब लीलावादल हुनुपर्छ भनेर त्यसैको वकालत गर्दै लीला धारणा र कथाहरूमा डा.रत्नमणि नेपालले पनि भन्नुभएको छ, मानिसले भ्रान्ति बुझ्छ, त्यसपछि हामी अर्को व्यक्तिलाई यो भ्रान्तिमय धारणा बाँड्दै नयाँ नयाँ भ्रान्तिहरू सिर्जना गर्दै समाजमा फैलिरहन्छ।

भ्रान्तिलाई उहाँले अर्को ठाउँमा धारणा पनि भन्नुभएको छ। कुनै पनि वस्तुलाई देखेपछि त्यसको वस्तुता होइन, धारणा बन्छ। यो धारणा नै एउटा भ्रान्ति पनि हो। भ्रान्ति नै लीला हो।

धरावासी र डा.नेपालका बीचको शब्दको अन्तर भनेको धरावासीले अलग अलग सत्य हुन्छन् भन्नुहुन्छ भने डा.नेपालले यसलाई भ्रान्ति भनेर लिपिबद्ध गनुएभएको छ। लीलासम्बन्धी केही प्रचलित उदाहरणहरू यहाँ तल विभिन्न स्थान, काल, सन्दर्भबाट लिइएको छ।

लीला बुझ्न केही उदाहरणः

प्रकृतिसँग मानिसको लीलामय सम्बन्ध छ। कोरानालाई मानिसले बनाएका सीमाना, जात, धर्म, लिंग, भाषा, देश, नियम, कानुनले कहाँ छेक्यो? कोरोनाले मानिसले बनाएका सबै पृथक सँस्कृतिलाई एकैपटक भत्काइदिएन?

मानिस केवल मानिसबाहेक केही होइन भनेर मानिसको वास्तविक औकात प्रमाणित गरिदिएन? कहाँको देश, कहाँको समाज, कहाँको सँस्कृति, कहाँको धर्म? कोरोनाले कहाँ विभेद गर्यो? मानिसका सबै मूल्य मान्यताहरू केवल मानिसका अबधारण वा भ्रान्ति वा मानवसापेक्ष सत्यहरू मात्र हुन्।

तसर्थ, मानिसका कुनै पनि गतिबिधि सर्ब सत्य होइनन्, केवल धारणा मात्र हुन्। धारणा सार्वकालीन हुँदैनन् र छिनछिनमा परिवर्तन भइरहन्छन्। यो नै लीला हो।

पौराणिक साहित्यमा लाखौं यस्ता जीवनपरक लीला भएका भटिन्छन्। भीष्म र अर्जुनका बीच हुँदै गएको महाभारतको युद्धमा अर्जुनको बाँणले भीष्मको रथलाई बीस कोस पर हुत्तियो। बदलामा भीष्मले अर्जुनको रथमा वाण प्रहार गरी दुई इन्च पछाडि हुन्याइदिए।

अर्जुनलाई आफ्नो शक्तिको अहम जाग्यो। अर्जुनले कृष्णलाई बताए, “हे कृष्ण, मेरो शक्तिको तपाईंलाई ज्ञान भयो? ल हेर्नुहोस् मेरो तागत। मेरो वाणले भीष्मको रथ बीस कोस पर ठेलियो तर भीष्मको वाणले मेरो रथ केवल दुई इन्च मात्र।” यहाँ अर्जुनको अथाह शक्तिको एउटा सत्य स्थाति भयो।

कृष्णले अर्जुनलाई जवाफमा भने, “हे अर्जुन! तिम्रो रथमाथिको झण्डामा हेर।” माथि हनुमान गर्जिरहेका थिए। कृष्णले अगाडि भने, “जुन हनुमानको पुच्छर भीमसेनले हल्लाउन पनि सकेनन्। तिम्रो रथमाथि तिनै हनुमान बसिरहेका छन्।

नत्र भीष्मको बाँणको अगाडि तिम्रो रथको हविगत कस्तो हुने थियो? हे अर्जुन, त्यसमाथि म स्वयम् यस रथमा बसेको छु।” अर्जुनको महाशक्तिको विश्वासलाई कृष्णले ठीक ठाउँमा ल्याएर राखिदिए र भने, “हनुमानको भारले तिम्रो रथको भारलाई वास्तविक भारभन्दा हजारौं गुणाले बृद्धि गरिदिएको थियो र रथ केवल दुई इन्च मात्र पछि सर्‍याे।

हे अर्जुन! यो दुई इन्च दुरी तिम्रो बीस कोसको तुलनामा कैयौं गुणा बढीको दुरी हो। नत्र भीष्मको बाँणको गतिलाई हे अर्जुन! तिमी देख्न पनि सक्ने छैनौ।” यहाँ अर्जुनको अति लघुतम शक्तिको अर्को सत्य स्थापित भयो। सुरुमा अर्जुनको महाशक्ति अहिले आएर एउटा मिथ्या भ्रम सावित भयो।

भौतकवादी चिन्तन अथवा वैज्ञानिक चिन्तन र आध्यात्मिक चिन्तनका बीचको द्वन्द्व र समानान्तर हिँडाइको स्थितिलाई हेर्नुहोस्, त्यो कस्तो लीलामय छ? विज्ञानले सधैं प्रमाण खोज्छ तर जहाँ विज्ञानले उत्तर दिँदैन, त्यहाँ आध्यात्मिक चिन्तन आएर भन्छ यो सबै भगवान्को लीला हो।

चालीस वर्षदेखि घुमिरहेको भोएजरले कहाँ देखायो ईश्वर ? तर पनि ईश्वरप्रतिको धारणा त अहिले पनि बढिरहेकै छ। प्रति घण्टा ६७ माइलको गतिमा सौर्यमण्डलबाट बाहिर चालीस वर्षदेखि अन्तरिक्षमा १५९ एस्ट्रोनोमिकल दुरी, अथवा २३ अरव ५२ करोड किलोमिटरको दुरी पार गर्दा ईश्वरको अस्तित्व कहीं देखिँदैन। यो एउटा वैज्ञानिक यथार्थवादी सत्य होइन।

तर यसको विपरीत अब उता ईश्वरको अस्तित्व छैन भन्ने निक्र्याैल गर्न सकिन्छ त? हुन सक्छ, हामीसँग ईश्वरलाई देख्ने छैठौं नेत्र नै छैन। हाम्रो शरीरविज्ञानमा नभएको प्रविधिले भएको अस्तित्वलाई नबुझेको हुन सक्तैन?

यो भनिरहँदा ईश्वर छ तर हामीले देख्न नसकेको हो भनेर ठोकुवा गरेको पनि होइन। साँचै हुन पनि सक्छ; ईश्वर, साँचै नुहन पनि सक्छ। यो त एउटा भ्रान्तिशिवाय केही होइन।

ईश्वर छ वा छैन भन्ने दुवै तर्क समानान्तर छन्। यी धारणाले समाजमा विविध दर्शन, आविष्कार निर्माण गरेर विविध सामाजिक तह निर्माण गरिरहेका छन् भन्ने लीलामय चित्र स्पस्ट देख्न सकिन्छ।

हाम्रो विज्ञानले पत्ता लगाएका ८.७ मिलियन अर्थात् ८७ लाख किसिमका विविध जैविक अस्तित्व पृथ्वीमा छन् तर सबैलाई हामी हाम्रो आँखाले मात्र देख्न सक्तैनौं। अहिलेसम्मको सबैभन्दा सानो वस्तु देख्ने माइक्रोस्कोपले पनि देख्न नसक्ने साना प्राणी कति होलान्?

हाम्रो पूर्वीय दर्शनमा वर्णित आठ सिद्धिमध्ये अणिमा र महिमा दुई सिद्धि लिउँ। सानोभन्दा सानो रूपमा, यति सानो कि अस्तित्वमा रहेको कुनै पनि आँखाले वा अहिलेको प्रविधिले देख्नेभन्दा सानो भएर बस्ने अणिमा सिद्धि वा ठूलोमा यति ठूलो कि युनिभर्स त के मल्टिभर्सलाई औंलामा नचाउनेभन्दा पनि ठूलो महिमा सिद्धि प्राप्त ईश्वर भनौं वा ईश्वरइतर कुनै शक्ति छैन भनेर कसरी विश्वास गर्ने? यी सबै मानवसापेक्ष धारणा मात्र हुन्, लीला खेल हुन्।

शंकाराचार्य धारणाः

जीवन र जगतको विषयमा कुरा गर्दा शंकाराचार्यको धारणा छ– ब्रह्म सत्य, जगत् मिथ्या। तर उनकै गुरु गौडपादाचार्यको धारणा ठीक विपरीत छ- ब्रह्म मिथ्या, जगत् सत्य। यी दुई विचारधाराहरू धारणागत लीला बुझ्न अति उपयोगी छन्।

धारणाले भ्रान्ति जन्माउँछ। यो निरन्तर स्थापित हुने, भत्किने, नयाँ आउने, त्यो पुरानो हुँदै फेरि भत्किने र फेरि अर्को नयाँ आउने हुँदै धारणा/सत्यहरू लीलामय हुँदै हाम्रो जीवन चलिहरेको छ।

महाभारतका एउटा प्रसंग छ युधष्ठिर र यक्षका बीचको प्रश्नोत्तरमा । केही प्रश्न यस्ता छन्-

यक्षले सोध्छन्, “के धर्म तर्कमा आधारित छ ?” युधिष्ठिरले जवाफमा भन्छन्, “छैन।”

यक्षले पुनः प्रश्न गर्दछन्, “उसो भए के ऋषीमुनीहरूको विचारधारामा छ त?” जवाफमा युधिष्ठिर भन्छन्, “ऋषीमुनीहरूको तर्कमा पनि धर्म छैन। किनभने एउटा ऋषिको विचार अर्को ऋषिको विचारसँग मिल्दैन। कुनै पनि ऋषिसँग सम्पूर्ण सत्य छैन।” “उसो भए धर्मको सम्पूर्ण सत्य कहाँ छ?”, यक्षले सोध्छन्। युधिष्ठिरले जवाफ हुन्छ, “यो व्यक्तिको हृदयरुपि गुफामा छ।” युधिष्ठिर यक्षका परीक्षामा पास हुन्छन्।

अब यहाँ लीला हेरौं। धर्म ऋषिको विचारमा रहेनछ किनभने अलग अलग ऋषिहरूको धर्मकाबारेमा अलग अलग धारणा हुँदोरहेछ। पौराणिक कालमा पनि धार्मिक लीला चलेको रहेछ।

धर्म भन्नु त व्यक्तिको धारणा मात्र रहेछ। सम्पूर्ण सत्य त व्यक्तिको हृदयको गुफामा हुँदोरहेछ। यसको अर्थ हो, हरेक व्यक्तिको हृदयमा व्यक्ति व्यक्तिका फरक फरक सत्य हुँदारहेछन्।

यक्षले युधिष्ठिरलाई विद्याको बारेमा पनि सोधका छन्, “कुन शास्त्र वा विद्या पढ्नाले मानिस बुद्धिमान हुन्छ?” युधिष्ठिरले भन्छन्, “कोही शास्त्र यस्तो छैन जसले मानिसलाई बुद्धिमान बनाउँछ। ज्ञानी मानिसहरूको संगतले मानिस बुद्धिमान हुन्छ।”

यसको अर्थ हो, शास्त्रले मानिसलाई बुद्धिमान बनाउने होइन रहेछ, बुद्धिमान् मानिससँगको संगतले रहेछ बुद्धिमान हुने त। अब, युधिष्ठिरले भनेको कुरा त उनको धारणा मात्र हो। तपाईंको मेरो राम प्रसादको यहाँ अलग अलग धारणा हुन सक्छ।

यक्षले युधिष्ठिरलाई पास गराएको पनि आफ्नो धारणासँग युधिष्ठिरको धारणा मिलेको हो। नत्र त्यहाँ परिणाम अलग हुन सक्थ्यो। यो अहिलेको धारणा हो।

उदाहरणः माक्र्सवादः

उत्पत्तिकालमा माक्र्सद्वारा लिखित अर्थशास्त्र त्यसपछि माक्र्सवाद बन्यो। पछि त्यसले राजनीतिक स्वरूप ग्रहण गर्यो र त्यो माक्र्सवादमा रूपान्तरण भयो। त्यसको प्राथमिक स्थितता बदलिँदै आज संसारभरि माक्र्सवाद कति विविधतामा फैलिएर लीला गरिरहेको छ, यहाँ व्याख्या गर्नुपरेन।

पृथ्वी चेप्टो छ भन्ने धारणाः

बैज्ञानिक कपर निकोलसले तत्कालीन समयमा पृथ्वी सूर्यको वरिपरी घुम्छ र सूर्य स्थिर छ भने । त्यतिबेला क्याथोलिकहरूले पृथ्वी स्थिर छ र पृथ्वीको वरिपरी सूर्य घुम्छ भन्ने विश्वास गरेका थिए।

पछि अर्का वैज्ञानिक ग्यालियो ग्यालिली प्रयोग नै गरेर सूर्यको वरिपरी पृथ्वी घुम्छ भन्ने सिद्धान्तलाई प्रमाणित गरे। अब त्यतिबेला राज्य शक्तिको स्रोतको रूपमा क्याथोलिक चर्चले यो कुरा धर्मविरोधी हो भनेर ग्यालिलियोलाई पवित्र चर्चमा आत्मसमर्पण गर्ने आदेश दियो। त्यो चर्चका एउटा समूहले उनलाई कैद गर्नुपर्ने र मृत्युदण्डको माग गरे।

त्यसबेला एकथरी उदारवादीहरूले ग्यालिलियोलाई प्रयोगले जे सिद्ध गरे पनि माफ मागेर सजायबाट बच्चनुहोस् भनेर सुझाव दिए। सुझावअनुसार ग्यालिलियोले प्रयोगले त सूर्य स्थिर रहेको र पृथ्वी सूर्यको वरिपरी घुम्छ भन्ने देखाउँछ तर मेरो यस भनाइले कसैलाई चोट परेको छ भने म माफी माग्न चाहन्छु।

चर्चले उनलाई माफी दिएन। पुर्पक्षपछि चर्चले उनलाई जन्मकैद दियो। उनको बुढ्यौली र कमजोर स्वास्थ्यका कारण उनले घरमै नजरबन्दमा रही सजाय भोग्ने सुविधा पाए।

यो कुरा १६३३ तिरको कुरा थियो। तर त्यसको ठीक ३५९ वर्षपछि सन् १९९२ मा क्याथोलिक चर्चले ग्यालिलियोलाई निर्दोष घोषणा ग¥यो। यसका लागि चर्चका पोप जन पल द्वितीयले स्वर्गीय ग्यालिलियोसँग माफी मागे।

सामाजिक मान्यतामा हुर्किएको त्यति शक्तिशाली विश्वास भत्कन कैयौं समय लाग्दोरहेछ। यो इतिहासको एउटा संवेदनशील एवम् घतलाग्दो सामाजिक लीला हो ।

मे ७ मा अनेसास, डिसी च्याप्टरको आयोजनामा मनासास, भर्जिनियामा प्रस्तुत लीला लेखनसम्बन्धी विचार ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *