पाकिस्तानमा इमरान खान पक्राउ परेपछि भड्किएको हिंसामा मर्नेको संख्या १० पुग्यो
काठमाडौं । इमरान खान पक्राउ परेपछि भड्किएको हिंसामा पाकिस्तानमा मृत्यु हुनेको संख्या १० पुगेको छ । खैबर पख्तुनख्वामा ७, पञ्जाबमा २ र बलुचिस्तानमा १ जनाको मृत्यु भएको छ ।
खैबर पख्तुनख्वाका कार्यवाहक मुख्यमन्त्री मोहम्मद आजम खानको अध्यक्षतामा भएको समीक्षा बैठकमा देश र प्रान्तको सुरक्षा अवस्थाको समीक्षा गरियो।
मन्त्रिपरिषद् बैठकले प्रदेशको अराजकतालाई मध्यनजर गर्दै सेना बोलाउन अनुमति दिएको हो ।
कार्यवाहक सूचना तथा प्रसारण मन्त्री फिरोज जमाल काकाखेलले अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रदेशको अवस्था बिग्रन नदिन सेना बोलाउने निर्णय गरिएको बताए ।
संविधानको धारा २४५ बमोजिम प्रदेश सरकारले शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ ।
मन्त्रीले भने, ‘विगत दिनदेखि प्रदेशका कैयौं जिल्लामा आन्दोलनकारीले हिंसात्मक प्रदर्शन गरेका छन् र सरकारी सम्पदाका साथै संवेदनशील संरचनामा पनि क्षति पुगेको छ, जुन कुनै पनि हालतमा स्वीकार्य छैन ।
विज्ञप्तिमा सूचना तथा प्रसारण मन्त्रीले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु नागरिकको अधिकार भए पनि कानुन मिच्ने, सरकारी सेवामा हुने क्षति बुझ्न नसकिने बताए ।
उनले कार्यवाहक मन्त्रिपरिषद्ले हिंसात्मक प्रदर्शनको आलोचना गर्ने भएकाले प्रदेशलाई थप क्षति हुनबाट जोगाउन सेना बोलाउनुपर्ने बताए ।
यसबाहेक, इस्लामाबाद पुलिसका प्रवक्ताका अनुसार इमरान खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले सेक्टर जे ११ मा रहेको रमना प्रहरी चौकीमा आगजनी गरेका छन् भने एउटा बख्तरबंद गाडी पनि जलाइएको छ।
प्रहरीका अनुसार आन्दोलनकारीको तर्फबाट पनि फायरिङ भइरहेको छ । प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न पनि आग्रह गरेको छ ।
प्रदर्शनकारीले निजी सवारीसाधनमा समेत तोडफोड गरेको प्रवक्ताले बताए । प्रहरीले सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।
सहरमा भड्किएको हिंसा रोक्न सेना बोलाइएको र विभिन्न क्षेत्रमा सैनिक टोली पुगिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा प्रहरी, रेन्जर र सेनाले विभिन्न क्षेत्रमा शान्ति सुरक्षाको काम गरिरहेको जनाइएको छ ।
आन्दोलनकारीलाई हिंसा रोक्न चेतावनी समेत दिइएको छ । यसैबीच, पञ्जाब प्रान्तका सबै शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएको छ।
Facebook Comment