राघव चड्ढा र परिणिती चोपडाले गरे इंगेजमेन्ट, हेर्नुहोस तस्विरहरु
काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडाले आम आदमी पार्टीका युवा सांसद राघव चड्ढासँग इन्गेजमेन्ट गरेकी छन् । शनिबार दिल्लीको कपुरथला हाउसमा दुबैको रिंग सेरेमनी भएको थियो ।
राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडा यो वर्षको सुरुदेखि नै चर्चामा छन् । धेरै दिनदेखि यी दुवैको विवाहको चर्चा चलिरहेको थियो ।
गत अप्रिलमा संसद्को बैठकमा सभामुखको अध्यक्षतामा उपस्थित उपराष्ट्रपति जगदीप धनखरले पनि यस विषयमा आलोचना गर्दै ‘आजकाल सामाजिक सञ्जालमा हुनुहुन्छ’ भनेका थिए ।
संसदबाहिर राघव चड्डालाई पत्रकारले यसबारे प्रश्न गर्दा उनले मुस्कुराउँदै भने, ‘तपाइँ राजनीतिको प्रश्न सोध्नुस्, परिणितीको होइन ।’ तर आम आदमी पार्टीका सांसद सञ्जीव अरोराले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै दुवैलाई बधाई दिएका थिए ।
राघव चड्ढा दिल्लीको राजिन्दर नगर विधानसभा क्षेत्रबाट विधायक थिए। उनलाई २०२२ को पञ्जाब चुनावमा आम आदमी पार्टीको सह-प्रमुख बनाइएको थियो। पञ्जाबमा आम आदमी पार्टीको ठूलो जितमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
राघव चड्डाले दिल्ली विश्वविद्यालयबाट स्नातक गरे र पछि चार्टर्ड एकाउन्टेन्ट बने। यससँगै उनी राष्ट्रिय कार्यकारिणी सदस्य र आम आदमी पार्टीका राष्ट्रिय प्रवक्ता पनि हुन्।
राघव चड्डाले सुरुदेखि नै अरविन्द केजरीवाललाई समर्थन गर्दै आएका छन् । सन् २०१३ मा आम आदमी पार्टीको चुनावी घोषणापत्रको मस्यौदा तयार गर्ने समितिमा राघव चड्डा पनि थिए । पञ्जाब चुनावमा राघव चड्डाले चरणजित सिंह चन्नीविरुद्ध कडा मोर्चा खोलेका थिए।
उनले चरणजीत चन्नीलाई आफ्नो निर्वाचन क्षेत्र चमकौर साहिबमा अवैध बालुवा उत्खनन गरेको आरोप लगाए। राघवले चुनावी मैदानमा चन्नीलाई घेरेर त्यसलाई राजनीतिक मुद्दा बनाउन अकस्मात भ्रमण पनि गरेका थिए ।
Facebook Comment