देश त पहिलेकै ठिक, कसैलाई मन परोस् कि नपरोस्

ईश्वर अर्याल
१ जेठ २०८० ७:२१

२०४६ अगाडि समाज सभ्य थियो। उत्पादन भब्य थियो। शिक्षा मर्यादित थियो। अर्थतन्त्र मजबुत थियो। भारा र पर्म चलेकै थियो। जांतो र घट्ट घुमेकै थिए। ढिकी र ओखल चलेकै थिए। गाह्रो र अफ्ट्यारो बाडेकै थिए। आफन्त भेट्दा हास्थे। छिमेकी भेट्दा हाल खबर सोध्थे।

गाउँमा कोही बिरामी पर्दा, हात-हातै, हतार-हतार सदरमुकाम लान्थे। खोल्सीको पानी बाडेकै थिए। मुलको/धाराको स्याहार गरेकै थिए। टपरी मै सही मिलेर भोज खाएकै थिए। धर्म संस्कृती संस्कार मन्छिन्द्रनाथका रथ झै निरन्तर चलिरहेका थिए।

नियम आफै बन्थ्यो। न कसैको थ्योरी न कसैको सिद्दान्त। मल खन्दा, बिहान खन्नेले, दिउसो भारी बोक्थ्यो। दाइ हाल्दा, एक खेप धान र अर्को खेप पराल बोक्थे। हिजो डल्ला फोड्नेले आज छेउकुना खन्थ्यो। आज आली लगाउने भोली ब्याडमा बस्थ्यो। खुट्टा खाली हुन्थे। परिश्रमको भारी ठूलो हुन्थ्यो।

जिउ सुकेकै भएनी, सहयोगी छाती बिशाल हुन्थ्यो। साँझमा थाक्थे, जत्ति थाक्थे उति हाँस्थे। जति हास्थे उति धेरै बाँच्थे। त्यसैले त होला ९० वर्षमा पनी मकैका ठेट्ना गडम-गडम चपाउँथे।

पसिनाले निथ्थ्रुक्क भिज्थे। पौरखका पसीना अत्तर भन्दा पनी सुगन्ध छर्दै, मगमग बासाउँथे। आखाले दख्नै पर्दैनथ्यो, बा को लुगा र आमाको लुगा, त्यसै थाहा हुन्थ्यो, सुगन्धले। ढुकुर बासेको जस्तो, साँझमा हुक्का ट्वारर्-ट्वारर् घरै पिच्छे बज्थे। तमाखुले त होला, फोक्सो बलियो हुन्थ्यो, दाँत मजबुत हुन्थे।

२०६५ जेष्ठ २९ गते नारायणहिटी छोडेका उनले, माटोको मायाले देश छोड्न सक्दिन भनेर खुलेरै भनेका छन्। झण्डै १५ वर्ष भयो। न कहिल्यै उदास छन्, न कहिल्यै हतास छन्। सधैं हसिलो अनुहार छ।

संस्कृत अनिवार्य थियो। यसैले होला, स्वर खुलेको र बोलि प्रष्ट थियो। शिक्षा नैतिक थियो र त समाज मर्यादित थियो। भुगोल अनिवार्य जस्तै थियो। देशको बारेमा सबैलाई ज्ञान थियो। ज्ञान सँग-सँगै माया पनी बाँडिएको थियो। उत्पादन आफ्नै थियो पहिचान आफ्नै थियो। झुत्रो नै सही टोपी, पछ्यौरा र पटुका सबैका थिए।

दशैं आयो। खोरमै खशी हुन्थ्यो। छिमेकी भेला हुन्थे। २०/२२ धार्नीको खसी छिन भरमै काटकुट पार्थे। भित्री आंस छिटो छिटो पकाउँथे, २/४ चोक्टा भाग पर्थ्यो, टाइचिन चिउरासँग लट्पट्याउथे, चाट्ट-चुट्ट पार्थे, आफ्नो आफ्नो काममा लाग्थे। खशीको करङ र दुईटा जती सपेटा अंगेनामाथि भारमा झुण्याइन्थ्यो। तप-तप बोसो भुईमा झर्थ्यो।

अलिक दिन पछि, अमिलो-अमिलो मासु, लङ सुकुमेल हालेर, मज्जाले झोल हालेर पकाउदा कम त मिठो हुन्थेन, मग-मग बासाउँथ्यो। भुँडी खुट्टा अन्त्यमा खाइथ्यो, त्यो पनि घिरौंलासँग, आहा कति मिठ्ठो।

तीन बजे बिहानै देखि गाँऊ भरी ढिकी बज्थ्यो, भक्राई-च्याई भक्राई-च्याई। चिउरा, ताईचिनको ढिकीमा कुटेको। मगमग बासाउथ्यो। दुहुनु सबैका हुन्थ्यो। कराई भरी दुध, ठेका भरी दही र मही, हर्पेश भरी ध्यू।

साच्चै भन्दा गाउँमा अभा नै थिएन, नुन सकिए पैंचो, चिनी सकिए पैंचो, भुटुन सकिए पैंचो। सम्झिएर बस्थे, फलानोबाट नुन ल्याए, फलानोबाट चिनी…। सम्झी-सम्झी तिर्थे। मोही पार्थे। गाउभरी बाँड्थे। एकको घरमा कार्जे हुँदा, प्रसाद (रोटी र अचार) गाउ-भरी पुग्थ्यो

शुभ-कार्य, जसको घरमा भएनी, गाउभरीबाट गोरस (दुध र दही) जम्मा गरिथ्यो, पाहुनालाई पेटभरी खुवाउन। नत्र गाउकै इज्जत जान्छ भन्थे, डराउँथे। बारीमै केराका घरी हुन्थे। कोही मालु, कोही झप्री त कोही हलिमुङ्ग्रे। मालु केरा ज्वाइँसापलाई दिने भन्थे। मालु केरा एउटा कोशा मात्रै खाँदा पनि, दुई/तीन दिन सम्म ढ्याउ आउँदा, बासाइ रहन्थ्यो।

टह-टह जुनेली रातमा, नयाँ लुगाको साथमा रातभरी हिँडेर मामाघर जानु कम्ता मजा हुन्थेन। पूर्णिमा सम्मै टिका चल्थ्यो। चेलीबेटीहरु घरको दशैं सकाएर, निख्रौटी दशै मान्न माईत आउथे, पूर्णिमाको दिन। छोरीचेलीका लागि, भुटेको मासु, काठको आरीमा सन्दुकको कुनामा, जतनसाथ राखिदिन्थिन आमाले। लामो समयसम्म बिग्रदैनथ्यो।

दशैंको रौनक सक्किने बित्तिकै, तिहार शुरु भै हाल्थ्यो। गाउभरी सबेरै, फेरि ढिंकी चल्थ्यो। पिठो कुट्न। झुसे हुनेले झुसे पेल्थे। तोरी हुनेले तोरी पेल्थे। सेल रोटी पकाउन। दशैको खशीको बोसो पगालेर राख्थे, सेल त्यसमा पनी पकाउथे, अलिक निम्सराहरुले।

खेतीको समय लागेपछी, काले कामीको आरान टङ्-टङ बज्न शुरु गर्थ्यो। बर्खा लागेको जनाउ दिन। कोप्रे दमै भदौ नलाग्दै खुशी हुन्थे। दशैंमा नयाँ लुगा सिलाउन। काजी साहबहरुका घरका लुगा समयमानै तयार हुन्थे।

अलिक निम्सराहरुका अष्टमी नवमी, टिकाकै दिन बिहान सम्मपनी तयार हुन्थे। नयाँ लुगा मगमग बासाउथ्यो। कुनै एक छेउमा कलको तेल चुहिएको भए त कति धेरै बासाउथ्यो। अबेर सम्म लाएर पनी धित मर्दैनथ्यो, शिरानी मै राखेर सुतिन्थ्यो।

हजुरआमाको प्रश्न?

फलफूल र तरकारीको भाउ किन छोइ-साध्य छैन। दाल, चामल र पिठोको भाउ किन आकासियो। आफन्त रुदै किन बिदेश जानु पर्‍याे। टारी फाँट र भदौरे पाटाहरुमा किन सिंचाई भएन। गाँउ खाली,  शहर भरी मान्छे किन भए होलान्।  भएका सडक सललल्ल पिच किन भएन।

धाराको पानी सफा कहिल्यै किन आएन। विद्यालय/विश्वबिद्यालयमा पढाइ भन्दा ताला धेरै किन लागे। तपाईंको अमूल्य सम्पत्ति, नजिकैको जंगल सखाप किन पारियो। चाडपर्वमा चल्ने, घरकै तिनपाने किन बन्द गरियो।

हजुरआमाको अनुरोध

२०६५ जेष्ठ २९ गते नारायणहिटी छोडेका उनले, माटोको मायाले देश छोड्न सक्दिन भनेर खुलेरै भनेका छन्। झण्डै १५ वर्ष भयो। न कहिल्यै उदास छन्, न कहिल्यै हतास छन्। सधैं हसिलो अनुहार छ।

सकेको जनसेवा गरेकै छन्। न राज्यको तेल, न उपचार खर्च लिएका छन। ७६ वर्षको वृद्ध शरीर, न थकित देखिन्छ, न कहिल्यै अध्यारो। सधैं एकनाश पूर्णिमाको जुन जस्तो। आफ्नै गाडी घोडामा शानका साथ सयर गरेका छन्। मठ मन्दिर देवालय तिर्थालय दर्शन गरेका छन्।

मै हु भन्ने नेता हरुलाई जहाँ भेट्टायो त्यही जनताले लखेटेको बेला, उनलाई जहाँ गयो धुम-धाम स्वागत छ, सत्कार छ। पन्चैबाजा अघि-पछि छ। पुष्पगुच्छा  बर्षाइएका छन्। मेची पुगेकै छन्, महाकाली पुगेकै छन्।

हिमालसँगै हाँसेका छन्, पहाड पुरै डुलेका छन्, तराईका फाँटसँग प्रित गास्न भ्याएकै छन्। भोट हाम्रै लिने, नोट(कर) हामीसँगै लिने, यत्तिले नपुगेर हामीलाई नै बेच्ने हरुलाई हामिले चिन्न सकेका रहेनछौ, उनीहरुको नाता अझै छुट्न सकेको रहेनछ।

देश जोगाउनु पर्‍याे  माटो बचाउनु पर्‍याे  भन्दै “राजा आउ देश बचाउ” भन्न अझै किन सकिरहेका छैनौं। यति आँट यति साहस गर्न अझ हामिले ऋण कति बोक्न पर्ने हो, अझै कती धोका खानु पर्ने हो। हे भगवान हामीलाई सद्बुद्धि देउ।

लेखक  अर्याल  त्रि.वि. भूगोल केन्द्रीय बिभाग कीर्तिपुरबाट विद्यावारिधी गर्दैछन्।

 

 




प्रतिक्रिया

One thought on “देश त पहिलेकै ठिक, कसैलाई मन परोस् कि नपरोस्

  1. तपाईकाे सत्य कुराले सुनाैला दिनहरूकाे याद आईरहेछ।जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *