सुन्नी संसारसँगको इरानको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
इस्लामावाद। इरानले सुन्नी संसारसँग आफ्नो सम्बन्धलाई उच्च महत्वका साथ अघि बढाएपछि इस्लामावाद र तेहरानबीचको सम्बन्ध चिसिँदै गएको छ।
यद्यपि इरानले २०२१ देखि नै पाकिस्तानसँग सम्बन्धलाई सुमधुर तुल्याउन कूटनीतिक एवम् सैन्य प्रयास गरिरहेको पाकिस्तान मिलिटरी मनिटरले जनाएको छ।
इरान आफ्नो पूर्वी छिमेकीसँगको सीमापार आतंकवाददेखि आर्थिक र सैन्य सम्बन्ध सुधारका साथै दुवै मुलुकबीचका प्रमुख समस्या समाधान गर्न अडिग रहेको बताएको छ तर पाकिस्तानको राजनीतिक एवम् आर्थिक अराजकताका कारण तेहरानको प्रयास असफल भएको मिलिटरी मनिटरले उल्लेख गरेको छ।
तेहरानले सधैँ परिपक्व दृष्टिकोण देखाएको छ भने पाकिस्तानको दृष्टिकोण सधैँ अविश्वसनीय रहेको छ। पाकिस्तानले इरानलाई सीमापार आतंकवाद र तस्करीको आरोप लगाउँदै आएको छभने तेहरानले सीमापार आक्रमण पाकिस्तानमा शियाहरूमाथि हमला र पाकिस्तानमा सञ्चालन भइरहेको गैरकानुनी मानव तस्करी नेटवर्कका कारण बढी पीडा भोगेको गुनासो गरेको छ।
इरान-पाकिस्तान ग्यास पाइपलाइन परियोजनाबाट द्विपक्षीय सम्बन्ध चिसिएको देखिन्छ। ग्यास पाइपलाइन परियोजनामा इरान र पाकिस्तानका राष्ट्रपतिले सन् २००९ मा औपचारिक रूपमा हस्ताक्षर गरेका थिए।
ग्यास खरिद तथा बिक्री कार्यान्वयन सम्झौतामा इरानका तर्फबाट एनआईओसी र पाकिस्तानी सेनाले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार इरानले असलुयेहदेखि पाकिस्तानसँगको सीमासम्म करिब एक हजार दर्ई सय किलोमिटर लामो पाइपलाइन निर्माण गर्नुपर्ने थियो भने पाकिस्तानले मक्रन तटबाट नवाबशाहसम्मको सात सय ५० किलोमिटर क्षेत्रभित्र पाइपलाइन निर्माण गर्नुपर्ने थियो तर पाकिस्तानले सन् २०१२ सम्म पाइपलाइन निर्माणका लागि जग्गा अधिग्रहणसमेत गरेको थिएन।
पाकिस्तानको दोहोरो व्यवहारबाट आजित इरानको राष्ट्रिय इरानी तेल कम्पनी (एनआईओसी) ले सन् २०१९ मा पाकिस्तानलाई ‘विक्रेता समाप्ति सूचना’ र ‘ नियम उल्लंकनको सूचना’ पठाएको थियो।
पाकिस्तानको निरन्तर अनुरोधपछि इरानले नियम उल्लंकन सूचना फिर्ता लिँदै ग्यास खरिद र बिक्री सम्झौतामा फेरि संशोधन गर्न सहमति जनायो।
छिमेकी पाकिस्तानलाई अवसर प्रदान गर्दै नयाँ सम्झौतामा सन् २०१९को सेप्टेम्बर ५ मा हस्ताक्षर गरियो। नयाँ सम्झौताअनुसार पाँच वर्षसम्मको अवधि भएको उक्त सम्झौताका प्रावधानलाई पाकिस्तानले पुनः बेवास्ता गरेकाे छ। आगामी मार्चभित्रमा सम्पन्न गरिसक्नुपर्ने परियोजनाका काम भएका छैनन्।
पाकिस्तानका तर्फबाट आयोजना कार्यान्वयन नहुँदा समस्या भएको छ। इरानले आफ्नो तर्फबाट करिब २ अर्ब अमेरिकी डलर लगानी गरेर पाइपलाइनको नौ सय किलोमिटर भाग पूरा गरिसकेको छ।
इरानको आग्रहमा पाकिस्तानले इरानमाथिको प्रतिबन्धको लागि अमेरिकालाई दोष लगायो। यसको परिणामस्वरूप बैंकहरूले परियोजनामा लगानी गर्न अस्वीकार गरे।
इरानले परियोजनाको लागि आर्थिक सहयोग प्रस्ताव गर्यो तर पाकिस्तानको दोहोरो दृष्टिकोणले दुई पक्षबीचको सहयोगको परियोजना असफल भयो। परियोजना असफल भएकामा त्यसको दोष इरानमाथि थोपरिएको पाकिस्तान मिलिट्री मनिटरको प्रतिवेदनमा उल्लेख छ।
“पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत नेताहरू इरानी नेताहरूसँग भेटवार्ता गरिरहेका छन् तर समस्या समाधान गर्नुको सट्टा लाचारी व्यक्त गर्ने प्रयास बढी व्यक्त भएको छ। यस्तो अवस्थामा तेहरानसँग पाकिस्तानलाई कानुनी कारबाही गर्नुबाहेक अर्को विकल्प छैन,” प्रतिवेदनमा भनिएको छ।
यसैबीच, समुद्रमा पाकिस्तानको आक्रामक व्यवहारले इरानलाई चिन्तित बनाएको छ। हालैका वर्षमा पाकिस्तानी नौसैनिक जहाज र समुद्री जहाजले विशेष गरी इरानी माछुवारामाथि गरेको व्यवहारप्रति तेहरानले आपत्ति जनाएको छ।
हालैको एउटा घटनामा एउटा इरानी माछा मार्ने डुंगालाई पाकिस्तानको पिएमएसएस हिङ्गोलले ओमानको खाडीमा निरीक्षणको बहानामा जबरजस्ती रोकेको थियो।
पाकिस्तान मिलिट्री मनिटर प्रतिवेदनअनुसार पाकिस्तानी नौसेनाका कर्मचारीहरूले माछा मार्नेहरूलाई उत्पीडन र धम्की दिएर उनीहरूलाई अमानवीय व्यवहार गर्ने तथा माछा मार्ने जहाजलाई पनि जानाजानी क्षति पुर्याएका छन्।
यस घटनाबाट आक्रोशित इरानले पाकिस्तानी नौसेना सहचारी क्याप्टेन राशिद खुर्रमलाई विदेश कार्यालयमा बोलाएर स्पष्टीकरण सोधेको थियो। पाकिस्तानको गलत व्यवहारका कारण चिढिएको तेहरान इस्लामावादबाट क्रमशः टाढिँदै गएको छ।
Facebook Comment