विवाह र गर्भधारणलाई प्रवर्द्धन गर्न चीनले ठूलो लगानी गर्ने
काठमाडौं । तीव्र गतिमा घटिरहेको जनसङ्ख्याले चिनियाँ सरकारलाई चिन्तामा पारेको छ । चीनमा विवाह र गर्भावस्थालाई बढावा दिन नयाँ रणनीति अपनाइँदैछ। यसै क्रममा अब चीनले एकैसाथ २० भन्दा बढी सहरमा पाइलट प्रोजेक्ट सुरु गर्न लागेको छ । यस परियोजनाको उद्देश्य मानिसहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रवर्द्धन गर्नु हो।
चीनको मुखपत्र ग्लोबल टाइम्सका अनुसार पाइलट प्रोजेक्ट अन्तर्गत धेरै योजनाहरू सञ्चालित हुनेछन्। जसले गर्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन गरेर उनीहरुको जिम्मेवारी घटाउन सकिन्छ । चीनको हेबेई प्रान्तको म्यान्युफ्याक्चरिङ हब ग्वाङ्जाउ र हान्डनलाई पनि यो परियोजनामा समावेश गरिएको छ ।
चिनियाँ सरकारले युवाहरूलाई विवाह र सन्तान जन्माउनको लागि मार्गदर्शन गर्न आवश्यक छ भन्ने विश्वास गर्छ। चीनको जनसङ्ख्या विभागका कर्मचारी हे याफुले जनतालाई प्रोत्साहन गर्न तेस्रो सन्तान जन्माउनेलाई आवास अनुदान, शिक्षा अनुदानलगायतका धेरै योजनाको लाभ दिइने बताए ।
सन् १९८० देखि २०१५ सम्म चीनले ‘एक सन्तान नीति’लाई कडाईका साथ लागू गरेको थियो । यसको असर यो थियो कि जनसंख्याको हिसाबले भारत चीनलाई पछि पार्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्न पुग्यो । यस घटनाले चिनियाँ सरकारलाई चिन्तामा पारेको छ र अब त्यहाँ बच्चा जन्माउने सीमा बढाएर तीन बच्चा बनाइएको छ।
पछिल्लो ६० वर्षमा पहिलो पटक चीनको जनसङ्ख्यामा कमी आएको छ । द्रुत रूपमा घट्दै गएको जनसंख्या पछि परामर्शदाताहरूले चिनियाँ सरकारलाई प्रजनन दर बढाउन र एकल वा अविवाहित महिलाहरूको अण्डा फ्रिज गर्न सल्लाह दिएका छन्। यसबाहेक आइभीएफ उपचार सबैको पहुँचयोग्य बनाउनु पर्छ भनेका छन् ।
चीन सरकारले धेरै सन्तान जन्माउनका लागि जनतालाई धेरै योजनाको फाइदा दिइरहेको छ । धेरै महिलाले बच्चाको हेरचाह गर्न नसक्ने भएकाले बच्चा जन्माउँदैनन् भन्ने सरकारको विश्वास छ । यसबाहेक धेरै सन्तान जन्माउँदा करियरमा बाधा पर्ने उनीहरूमा डर छ ।
विगतमा पनि चीनले जन्मदर बढाउन धेरै कदम चालेको छ । यसअघि दक्षिणपश्चिमी राज्य सिचुआनमा विवाह नगरी सन्तान जन्माउने दम्पतीलाई पनि सोही सुविधा दिने निर्णय गरिएको थियो जुन विवाहित जोडीलाई उपलब्ध छ। २०१९ को नियम अनुसार विवाहित व्यक्तिहरूलाई मात्र कानुनी रूपमा बच्चा जन्माउन अनुमति दिइएको थियो, जुन पछि परिवर्तन भयो।
Facebook Comment