स्वदेशमै आफ्नो घर जान विमान चढेकी महिलालाई एयरलाइन्सले विदेश पुर्‍याइदिएपछि…

डिसी नेपाल
२ जेठ २०८० १५:४२

काठमाडौं । एक महिलाले देशको एक प्रदेशबाट अर्को प्रदेश जान विमानको टिकट लिएकी थिइन् । तर एयरलाइन्स कम्पनीको गल्तीका कारण उनी विदेश पुगिन् ।

महिला एयरपोर्टमा अवतरण गर्दा उनीसँग राहदानी समेत थिएन । एयरलाइन्सले गल्तीले एक आन्तरिक यात्रुलाई अन्तर्राष्ट्रिय स्थानमा पुर्‍यायो। अहिले एयरलाइन्स कम्पनीले महिला यात्रुसँग माफी मागेको छ । कुरा अमेरिकाको हो ।

एबीसी न्यूजका अनुसार एलिस-हेबार्ड नामकी एक महिलाले अमेरिकी एयरलाइन्स कम्पनी फ्रन्टियरबाट उडान भरेकी थिइन्। उनले न्यु जर्सीबाट फ्लोरिडाको टिकट लिएकी थिइन् । तर गल्तीका कारण उनी अर्को उडानमा चढेर क्यारेबियन देश जमैका पुगिन् ।

एलिस विदेशी विमानस्थलमा अवतरण गर्दा सुरक्षाकर्मीहरू छक्क परेका थिए। किनभने एलिससँग पासपोर्ट पनि थिएन। पछि गल्तीवश अर्को फ्लाइटमा चढेर यहाँ आइपुगेको थाहा भयो । एयरलाइन्सका कर्मचारीले पनि चेकिङको समयमा ध्यान दिएनन् ।

एलिसले भनिन् कि उनी प्रायः उडानबाट यात्रा गर्छिन्। त्यो दिन पनि उनी फ्लाइट चढ्न गेटमा पुगेकी थिइन्, जसमा ‘पीएचएल टु जेएएक्स’ लेखिएको थियो । तर फ्लाइट चढ्नुअघि बाथरुम गइन् । फर्केपछि बोर्डिङ पास चेक गर्ने व्यक्तिले हतार हतार उनलाई अर्को फ्लाइटमा बसाइदिए । प्रवेशद्वार परिवर्तनका कारण उनी ज्याक्सनभिल फ्लोरिडाको सट्टा जमैका पुगेको एलिसले दाबी गरिन् ।

एलिसका अनुसार उनी ढाडको शल्यक्रियाबाट निको हुँदैछिन् । उनलाई देखेर एयरलाइन्सका कर्मचारीले सिधै सिटमा बस्न लगाए । हतारमा उनले बोर्डिङ पास चेक गरे । टेकअफ पछि उनी गलत उडानमा चढेको थाहा भयो। त्यतिन्जेल ढिलो भइसकेको थियो । पछि फ्लाइट अटेन्डेन्टको सहयोगमा जमैकाको विमानस्थलमा अवतरण गरी त्यहाँबाट अर्को उडान लिएर अमेरिका फर्किइन् ।

यस विषयमा फ्रन्टियर एयरलाइन्सका प्रवक्ताले भने- हामी यस घटनाप्रति दुःख व्यक्त गर्दछौं र ग्राहकसँग माफी चाहन्छौं। हामीले टिकटको पैसा फिर्ता गर्ने र उनीहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेका छौं। यससँगै जमैकाको एयरपोर्टसँग पनि यो विषय टुंगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *