नक्कली शरणार्थी प्रकरणः अभियुक्तहरु थप ३ दिन हिरासतमा रहने, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी
काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न अभियुक्तहरु थप ३ दिन हिरासतमा रहने भएका छन्।
प्रहरीले पाँच दिनको म्याद थप गर्न सिफारिस गरेपनि पक्राउ परेका १६ जनालाई ३ दिन म्याद थपेर अदालतले हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ। प्रहरीले आजै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।
प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो।
त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए।
प्रहरीले उक्त घटनाका गिरोहहरु केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो। यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।
त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो।
फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।
उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन्। उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्।
Facebook Comment