एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

डिसी नेपाल
७ जेठ २०८० १८:३५
काठमाडौं। ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो ।
पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५०औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका थिए।
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरे । हालसम्म पनि उनको नेतृत्व जारी छ । त्यसबेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा सात बजेदेखि नौ बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदी विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान अहिले ५ सय २३ औँ हप्तामा चलिरहेको छ ।
वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।
महाअभियान ११ औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि एक वर्ष पूरा भएको छ । महाअभियानका अभियानकर्मी चक्रबहादुर चन्द फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउँछन् ।
महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।
काठमाडौँ उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।
महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *