इजरायली मन्त्रीले फेरि अल-अक्सा मस्जिदको भ्रमण गरे, साउदी अरेबिया आक्रोशित

डिसी नेपाल
८ जेठ २०८० १६:०४

काठमाडौं । इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गाभिरले जेरुसेलमको अल-अक्सा मस्जिदको भ्रमण गरेपछि यो विवाद फेरि चर्किएको छ।

इजरायली मन्त्री भारी सुरक्षा व्यवस्थाको बीचमा आइतबार अल-अक्सा मस्जिद परिसर पुगेका थिए। यसभन्दा तीन दिनअघि इजरायली मन्त्रीले जेरुसेलममा हजारौं यहुदी समर्थकहरूसँग जुलुस निकालेका थिए ।

गाजा पट्टीमा युद्धविराम भएको एक साताभन्दा बढी समय नपुगेको बेला यो जुलुस निकालिएको हो । यसै वर्ष जनवरीमा पनि इजरायली मन्त्रीले जेरुसेलमको भ्रमण गरेका थिए ।

अल-अक्सा मस्जिदको भ्रमण गरेपछि, मन्त्रीले टेलिग्राममा तस्बिर साझा गर्दै लेखे, “जेरुसेलम हाम्रो आत्मा हो। हमासको धम्कीले हामीलाई रोक्ने छैन। म आज टेम्पल माउन्ट गएको छु।” हमासले गाभिरको भ्रमणको विरोध गरेको छ।

जवाफमा हमासले लेख्यो, “इजरायल आफ्ना मन्त्री र जबरजस्ती यहाँ बसोबास गर्नेहरूमाथिको यो बर्बर घुसपैठको लागि जिम्मेवार हुनेछ।” इजरायली मन्त्रीको यो कदमको साउदी अरब र जोर्डनले विरोध गरेका छन् ।

साउदी अरबको विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, “इजरायलको यो कदमले अन्तर्राष्ट्रिय नियम र कानुनहरू तोड्न गइरहेको छ।”

साउदी अरेबियाले यो विश्वभरका मुस्लिमहरूको भावनालाई उक्साउने कदम भएको बताएको छ। उसले जेरुसेलममा जारी हिंसाको लागि इजरायललाई दोष दिएको छ।

जोर्डनले पनि यसलाई उत्तेजक कदम भनेको छ। उसले इजरायलका यी कदम खतरनाक भएको बताएको छ । यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन।

अल-अक्सा मस्जिद इस्लामिक संसारको तेस्रो सबैभन्दा पवित्र स्थल हो। यसको प्रशासन जोर्डनको हातमा छ। गैर-मुस्लिमहरूलाई यहाँ प्रवेश गर्न अनुमति छ तर तिनीहरू यहाँ प्रार्थना गर्न सक्दैनन्।

यो कम्प्लेक्स यहूदीहरूको लागि सबैभन्दा पवित्र स्थान पनि हो। उनीहरूले पश्चिमी पर्खाल मुनि प्रार्थना गर्छन् । यो विवाद सय वर्ष पुरानो हो ।

यहूदीहरूका लागि ‘टेम्पल माउन्ट’ र मुस्लिमहरूका लागि ‘अल-हरम अल-शरीफ’ भनेर चिनिने पवित्र स्थलमा ‘अल-अक्सा मस्जिद’ र ‘डोम अफ द रक’ समावेश छन्।

‘डोम अफ द रक’ लाई यहूदी धर्ममा सबैभन्दा पवित्र स्थलको दर्जा दिइएको छ। मुस्लिमहरूले पनि पैगम्बर मोहम्मदसँगको सम्बन्धको कारण ‘डोम अफ द रक’ लाई पवित्र स्थानको रूपमा मान्छन्।

यस धार्मिक स्थलमा गैर मुस्लिमहरुको प्रार्थना गर्न प्रतिबन्ध लगाइएको छ । कम्प्लेक्स जोर्डनको वक्फ द्वारा व्यवस्थित छ, जबकि सुरक्षा व्यवस्था इजरायल द्वारा नियन्त्रित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *