कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्री र राष्ट्रपतिको बधाई
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई हार्दिक बधाई दिएका छन्
राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले आज यहाँ आयोजित कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।
ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेएको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरेका छन्।
“घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवं सरल बनाउँदै सगरमाथा आरोहण जस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो”, राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन् ।
वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका हुन् ।
झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा मुनिबाट गुमाएका थिए । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए।
सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्।
प्रतिक्रिया
Facebook Comment