टर्की राष्ट्रपति चुनाव : आज दोस्रो चरणको मतदान, के अर्दोआनले पद जोगाउन सक्लान् ?

डिसी नेपाल
१४ जेठ २०८० १३:३१

काठमाडौं । नयाँ राष्ट्रपतिका लागि टर्कीमा आज दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोआन र उनका प्रतिद्वन्द्वी कमाल कलचदारालुमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । त्यसैले अहिले यी दुईबीच दोस्रो चरणको निर्वाचन हुँदैछ ।

टर्कीमा राष्ट्रपति बन्नका लागि ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ। कुनै पनि उम्मेदवारले त्यति धेरै मत पाउन सकेन भने दोस्रो चरणको मतदानको अवस्था आउँछ ।

टर्कीमा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा अर्दोआनले ४९.५ प्रतिशत मत पाएकोमा कमाल कलचादारलुले ४४.५ प्रतिशत मात्रै मत प्राप्त गर्न सकेका छन् ।

अर्दोआन २० वर्षदेखि टर्कीमा सत्तामा छन्। टर्कीको इतिहासमा पहिलो पटक राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुन लागेको हो ।

रिसेप तैयप अर्दोआनले चुनाव जिते भने टर्कीले नयाँ शताब्दी देख्ने वाचा गरेका छन् । अर्दोआनका समर्थकहरूले उनले देशलाई थप विकास र बलियो बनाउने विश्वास गर्छन्।

तर उनका आलोचकहरू भन्छन् कि यदि अर्दोआनले जिते भने कमाल अतातुर्कको विरासत अझै कमजोर हुनेछ, देशमा इस्लामीकरण बढ्नेछ र टर्कीको भविष्य अन्धकारतर्फ उन्मुख हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *