आइपीएल फाइनलमा आज धोनी भर्सेज पाण्ड्या, कुन टिम कति बलियो छ ?
काठमाडौं । आइपीएल २०२३ को फाइनल वास्तवमा दुई सिंहको लडाई हो । एकले लामो समयसम्म राज गरे तर अहिले उनी आफ्नो शक्ति र जवानीको उत्तरार्द्धमा छन् । अर्काले अहिले हरेक दिन नयाँ उचाइ लिइरहेका छन् । यी दुई खेलाडी हुन् चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी र गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या ।
फाइनल खेलमा दुवै खेलाडीका लागि धेरै कुरा दाउमा छ । महेन्द्र सिंह धोनी आफ्नो आईपीएल करियरको अन्त्यमा छन्। उनले यसअघिको खेलपछि अर्को लिलामीका बेला सन्यासको निर्णय लिन सक्ने बताएका थिए । धोनीले चेन्नई टोलीलाई जितको यस्तो किल्ला बनाएका छन् जहाँ धेरै उमेरका खेलाडी वा धेरै सफल नहुने खेलाडीले पनि च्याम्पियनजस्तै प्रदर्शन गर्न थाल्छन् ।
कहिले उनको टोलीलाई ड्याडी-आर्मी भनियो त कहिले टोलीमा नसुनिएका नाम छनोट गरेकोमा उनको आलोचना भयो। तर, यसका बावजुद धोनीले यस्तो टिम बनाए जसले जित्न जान्दछ । सञ्जय मञ्जरेकरका अनुसार धोनीले चेन्नई सुपर किंग्समा जित्ने संस्कृति ल्याएका छन् जहाँ हार्नेले पनि जित्नका लागि खेल्छन्।
धोनीले चार पटक आईपीएल ट्रफी जितेका छन् जुन मुम्बई इन्डियन्स भन्दा एक कम हो। धोनीले यो कीर्तिमान आफ्नो टिमको नाममा पनि बनाउन चाहेका छन् ।
हार्दिक पाण्ड्या आफ्नो चमत्कारी नेतृत्वका लागि पनि परिचित छन्। उनले पहिलो सिजनमै गुजरातलाई आईपीएलको उपाधि दिलाएका थिए । उनले यति बलियो टोली बनाएका छन् कि फ्यानको मनपर्ने मुम्बई इन्डियन्सलाई पनि बाहिर गरिदियो । अब उनीबाट दोस्रो उपाधिको अपेक्षा गरिएको छ ।
महेन्द्र सिंह धोनी र हार्दिक पाण्ड्या मैदान बाहिर राम्रो साथी हुन् भन्ने कुरा कसैबाट लुकेको छैन। दुवैले मिडियामा एकअर्काको तारिफ पनि गरेका छन् ।
पाण्ड्याले प्रायः धोनीसँग सल्लाह लिन्छन् र भारतका सबैभन्दा सफल कप्तानबाट आफूले धेरै कुरा सिक्ने गरेको बताउँछन्। हार्दिक जब पनि राँचीमा हुन्छन्, धोनीलाई भेट्न उनको घर जान्छन् । दुवै घनिष्ठ साथी हुन् तर मैदानमा जित हासिल गर्न दुवैले कुनै कसर बाँकी राख्ने छैनन् ।
सुनिल गावस्करका अनुसार हार्दिक पाण्ड्याले उनलाई धोनीको सम्झना गराउँछन् । उनी भन्छन् कि हार्दिकको कप्तानीमा पनि त्यही शान्तता देखिन्छ जसका लागि महेन्द्र सिंह धोनीलाई चिनिन्छ। धोनीले जस्तै उनले पनि आफ्नो टोलीमा खुशी र शान्तिको वातावरण ल्याएका छन्, जसको प्रशंसा गर्नुपर्छ ।
अर्कोतर्फ, धोनीको यो सिजनलाई हेर्दा उनी बिना चेन्नईको फाइनल पुग्ने कल्पना पनि गर्न सकिँदैन । तर सत्य यो पनि हो कि ब्याटिङको हिसाबले उनी यो सिजनमा सबैभन्दा कम भार बोकेका ब्याट्सम्यान हुन् ।
आइपिएलको यो सिजन त्यही ठाउँमा फाइनलमा पुगेको छ जहाँबाट यो सुरु भएको थियो । मार्च ३१ मा भएको पहिलो खेलमा साविक विजेता गुजरात र पुछारमा रहेको चेन्नई अहमदाबादमा भिड्दै थिए ।
चेन्नईले पहिले ब्याटिङ गर्दै १७७ रन बनाएको थियो जसलाई गुजरातले ५ विकेट गुमाउँदै सफलतापूर्वक पछ्यायो । गत सिजन गुजरातले दुवै खेल जितेको थियो । यसरी चेन्नई गुजरातबाट ३–० ले पछि परेको थियो ।
तर त्यसपछि चेन्नईले गुजरातलाई आफ्नै मैदानमा पराजित गर्यो र धोनीको टोलीले पाण्ड्याको टोलीसँग पहिलो पटक जित्यो।
सिजनको पहिलो क्वालिफायरमा चेन्नईले फेरि पहिले ब्याटिङ गर्दै स्लो विकेटमा १७२ रन बनाएको थियो। गुजरातका ब्याट्सम्यान आउट हुँदै गए र अन्तमा चेन्नई १५ रनले विजयी भयो ।
यसरी दुई टोलीबीच हालसम्म खेलेका चार खेलमा गुजरातले तीन खेल जितेको छ भने चेन्नईको टोली एक खेलमा जित निकाल्न सफल भएको छ ।
दुवै टोलीका कप्तान ठूला खेलका खेलाडी भएकाले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ । तर ती बाहेक दुवै टोलीसँग केही म्याच विजेता खेलाडीहरू पनि छन् जसले कुनै पनि चरणमा खेलको स्थिति बदल्न सक्छन्।
यी खेलाडीमा पहिलो नाम गुजरातका ओपनर शुभमन गिलको हो । चेन्नईले अन्तिम खेल जित्नुको प्रमुख कारण गिललाई प्याभिलियन फर्काउनु थियो।
यसपटक पनि चेन्नईको जितको मन्त्र सस्तोमा शुभमन गिलको विकेट लिने नै हुनेछ । गिलले यो सिजनमा सबैभन्दा धेरै रन बनाएका छन् र उनीसँग ओरेन्ज क्याप छ। उनले पछिल्लो ४ इनिङ्समा ३ शतक प्रहार गरेका छन् । उनले अन्तिम खेलमा मुम्बईविरुद्ध ६० बलमा १२९ रन बनाएका थिए ।
३२ वर्षीय मोहम्मद शामीले यो सिजन १६ खेलमा २८ विकेट लिएका छन् । टोलीमा उनको महत्व यो तथ्यबाट अनुमान गर्न सकिन्छ कि यदि उनी टोलीबाट बाहिरिए भने अल्जारी जोसेफ र कप्तान पाण्ड्या गुजरातको पेस डिपार्टमेन्टमा मुख्य हतियार हुने थिए। पुनरागमन गर्दै आएका मोहित शर्माले अन्तिम ओभरमा विकेट लिएर गुजरातको बलिङ विभागलाई बलियो बनाएका छन् । शामी २८ विकेट लिएर पर्पल क्याप होल्डर हुन्।
योसँगै राशिद खान पनि पर्पल क्यापको दौडमा छन् र शमीभन्दा एक विकेट मात्र पछाडि छन् । उनीहरूविरुद्ध छिटो रन बनाउनु एउटा चुनौती हो जसले चेन्नईका ब्याट्सम्यानलाई पक्कै पनि समस्यामा पार्नेछ।
यससँगै चेन्नईको ब्याटिङको जिम्मा चेन्नईका ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेको काँधमा हुनेछ। यो ठुलो खेलमा चेन्नईले लामो स्कोर गर्नुपर्नेछ र उसले कोनवे र गायकवाडले ठूलो स्कोर बनाउने अपेक्षा गर्नेछ।
यो सिजन अहिलेसम्म कोनवेले १४ इनिङ्समा ५२ को औसतमा ६२५ रन बनाएका छन् । जसमा एक शतक र ६ अर्धशतक समावेश छ । अर्कोतर्फ, गायकवाडले १४ इनिङ्समा ४३ को औसतमा ५६४ रन जोडेका छन्, जसमा उनले ४ पटक पचासको स्कोर पार गरेका छन् ।
चेन्नईले पहिले अपरिचित खेलाडी तुषार देशपाण्डेमाथि विश्वास व्यक्त गरेको थियो र उनले त्यसलाई पूरा गरे। उनी चेन्नईका सर्वाधिक विकेट लिने बलर हुन् । उनले १५ इनिङ्समा २१ विकेट लिएका छन् ।
अर्कोतर्फ, श्रीलंका र आईपीएल लिजेन्ड लासिथ मालिंगाको बलिङ शैलीको नक्कल गर्ने र बेबी मालिंगा भनिने पाथिराना पनि चेन्नईको बलिङमा महत्वपूर्ण कडी हुनेछन्। यो सिजन पाथिरानाले ११ इनिङ्समा १७ विकेट लिएका छन् र शुभमन गिललाई छिट्टै आउट गर्ने ठूलो जिम्मेवारी पनि उनीमाथि हुनेछ ।
इतिहास हेर्ने हो भने चार खेलमध्ये तीन खेल जितेको गुजरातको टोलीले अग्रता लिएको छ । तर गतिलाई हेर्दा पछिल्लो खेल जितेको चेन्नईको टोली हौसलामा छ । धोनी र हार्दिक बिचको यो भिडन्तमा दर्शकहरु रोमाञ्चक खेलको अपेक्षा गरिरहेका छन् ।
Facebook Comment