टर्कीका भूकम्पपीडित ५ वर्षका बालक रहस्यमय तरिकाले नेदरल्याण्ड पुगे

डिसी नेपाल
१५ जेठ २०८० १२:३६

काठमाडौं । एक बालक नेदरल्याण्डको सडकमा एक्लै घुमिरहेका थिए । सोधपुछपछि उनको बारेमा अचम्मको कुरा थाहा भयो । उनी करिब साढे दुई हजार किलोमिटर टाढा रहेको टर्की देशका बासिन्दा भएको बताइएको छ ।

टर्कीमा गत फेब्रुअरी ६ मा विनाशकारी भूकम्प गएको थियो । यसबाट हजारौं मानिसले ज्यान गुमाएका थिए । हाल डच प्रहरीले बालक कसरी यहाँसम्म आइपुगे भन्ने खोजी गरिरहेको छ ।

डेली स्टारको रिपोर्टका अनुसार यो मामिला नेदरल्याण्डको मास्ट्रिच सहरसँग सम्बन्धित छ । यहाँको सडकमा एक्लै हिँडिरहेको बालकलाई प्रहरीले सोधपुछ गर्दा उनले डच भाषा नजानेको पाइयो । उनी टर्किश भाषा मात्र बोल्थे। यस्तो अवस्थामा प्रहरीले टर्की दूतावासलाई सम्पर्क गर्यो।

त्यसपछि बालक टर्कीकै भएको थाहा भयो । गत फेब्रुअरीमा गएको विनाशकारी भूकम्पमा उनले आफ्नो घर गुमाए । उनी आफ्ना आमाबुवाबाट पनि छुट्टिए । यो थाहा पाएपछि प्रहरीले बालकलाई प्रहरी चौकी लगेर खाना खुवायो । पछि बालकलाई बाल आश्रय गृहमा पठाइयो । जहाँबाट उनलाई टर्की फिर्ता पठाउने प्रक्रिया सुरु भएको छ ।

बालकले आफ्नै भाषामा भूकम्पमा आफ्ना आमाबुवा घाइते भएको बताए । यद्यपी उनी यहाँ कसरी आएका थिए भन्न सकेनन् । नेदरल्याण्डका अधिकारीहरूले यसबारे जानकारी सङ्कलन गरिरहेका छन्। द हेगमा रहेको टर्की दूतावासले यस विषयमा थप जानकारीको लागि डच विदेश मन्त्रालयसँग कुरा गरेको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा बालक मानव बेचबिखन गर्ने गिरोहको हातमा परेको हुन सक्ने आशंका गरिएको छ । वा राहत सामग्री बोकेको गाडीमा सवार भएर देश बाहिर गएको हुन सक्छ । तर, अनुसन्धान भने जारी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *