घर कस्तो हुनुपर्छ ?
रक्त एवं वैवाहिक सम्बन्धबाट एकाकार बनी, एउटै भान्छामा खाएर, एकै छानामुनि, एउटाको नेतृत्वलाई स्वीकार गरी, आत्मीय भावले बस्ने ठाउँलाई घर भनिन्छ। राष्ट्रको मुटु, समाजको फोक्सो, परिवारको जीवन नै घर हो।
घर कमजोर भए समाज दुर्बल हुन्छ, राष्ट्र घायल बन्छ, परम्परा सकिन्छ। घरको स्वरूपमा नेपालीपन, वैदिक संस्कृतिको सुगन्ध, पुर्खाको कला, परम्पराको रौनक, संस्कृतिको चित्र झल्कनुपर्छ। चिसो, तातो र वर्षालाई तदनुकूल बनाउने, कल्याणकारी घर हुनुपर्छ।
परिवारका सदस्यबीच ऐक्य, सौहार्द र सद्भाव भई द्वेषको गन्ध, शत्रुताको दुर्गन्ध घरमा हुनुहुँदैन। गाईले जन्मनेबित्तिकै बछेडोलाई जसरी प्रेम गर्दछिन्, त्यस्तै परिवारका सदस्यबीच आत्मीयता हुनुपर्छ। घर हुन परिवारका सदस्य एकै ठाउँमा बसेरमात्र हुँदैन मन र भाव पनि एक हुनुपर्छ।
विवाहित जोडी भाडाको कोठा वा धर्मशालामा बसे पनि त्यो घर हो। श्रीमान्/श्रीमती नहुनाले साधुसन्तहरूको निबासलाई अखडा, आश्रम, गुरुद्वारा भनिन्छ घर भनिदैन।
महाभारतले भनेको छ- न गृहं गृहमित्याहुर्गृहिणी गृहमुच्यते अर्थात्, घरको नाम घर होइन श्रीमतीकै कारण त्यसलाई घर भनिन्छ। भव्य महलमा असंख्य अविवाहिता महिला वा पुरुष बसे पनि त्यसलाई घर भन्न मिल्दैन। घर बन्न श्रीमान् र श्रीमतीको संयुक्त बसाई हुनैपर्छ।
श्रीमती घरकी लक्ष्मी हुन्, परिवारकी ज्योति हुन्, वंशकी आधार हुन्। जुन घरमा राम्रा कुरा गरिन्छ, जहाँ सबै प्रकारका सौभाग्यको निवास हुन्छ, प्रेमपूर्वक खानपान हुन्छ, त्यस घरमा कतैबाट डर रहँदैन।
ऋग्वेद (८।४७।१०)मा रोगरहित, कल्याणकारी, दुःख निवारण गर्ने घर पाउन स्तुति गरिएको छ। महंगा सामग्री र सजावटले घर आकर्षक होला तर शोभा बढ्दैन। पारिवारिक एकताले घर नै मन्दिर र परिवारका सदस्य देवता बन्छन्।
वास्तुशास्त्रअनुसार निर्माण गरी वैदिक नियमपूर्वक सरसामानहरू राख्दा घरमा शान्ति र संवृद्धि आउँछ। घरमा माकुराको जालो हुनु, कसिंगर छरिनु, रित्ता भाँडाहरू ठाडो पार्नु, जेष्ठ र श्रेष्ठलाई अपमान गर्नु, ओछ्याउनेलाई ओढ्ने र ओढ्नेलाई ओछ्याउने बनाउनु कुलक्षण हो।
भिन्नभाण्डे कलिं प्राहुः खट्वायां तु धनक्षयः ।
कुक्कुटे शुनके चैव हविर्नाश्नन्ति देवताः ।
वृक्षमूले धु्रवं सत्वं तस्माद् वृक्षं न रोपयेत् ।।
–महाभारत, (अनुशासन पर्व)
अर्थात्, “घरमा फुटेका भाँडाकुडा हुनुलाई कलियुग (दुर्भाग्य) भनिन्छ। भाँचिएको खाट (बेड) प्रयोगविहीन अवस्थामा राख्दा धनको नाश हुन्छ। कुखुरा एवं कुकुर पालेको घरमा यज्ञको हविष्य अन्न देवताले ग्रहण गर्दैनन्। घरनजिकै ठूला, अग्ला वृक्ष नरोप्नु।”
घरनजिकै ठूलो रुख रोपेमा चट्याङ पर्ने, राती कार्वनडाइअक्साइड फाल्ने, हानिकारक जीवहरू बसिदिने हुनाले अशुभ मानिन्छ। प्रयोगविहीन विद्युतीय सामानहरू, उग्र देवीदेवताको मूर्ति र तस्बिर घरमा राख्नुहुँदैन।
घरभित्र ठूलो आवाजले बोल्ने, रुने, झगडा गर्ने, कुरा काट्ने, भाँडाहरू थेचार्ने आदि गर्नुहुँदैन। ब्रम्हमुहूर्त र साँझमा बिरामी एवं असक्तबाहेक अन्यले सुत्नुहुँदैन। घरभित्र पस्दा र बस्दा मठमन्दिरमा भएको, देवीदेवताको साथमा रहेको अनुभव गर्नुपर्छ।
देवीदेवता र पितापुर्खाको याद गर्दै घरलाई चिन्ता विसर्जन गर्ने चौतारो, दुःख पखाल्ने यज्ञस्थल सम्झनुपर्छ। ज्ञान, उमेर, नाता आदिका आधारमा श्रेष्ठ र जेष्ठ व्यक्तिलाई घरमूली सम्झेर हरेक पारिवारिक सदस्य आएको, गएको जानकारी गराउनुपर्छ।
बुढापाकासँग माया बाँड्ने, सँगै बस्ने, सोध्ने, विगत कोट्याउने गर्नुपर्छ। वृद्धहरू उमेर र अनुभवले बुद्ध बनेका हुन्छन्। समाज र परिवारलाई एक सूत्रमा बाँध्न पौरस्त्य संस्कृतिले वसुधैवकुटुम्बकम्को मूल मन्त्र जन्मायो।
संयुक्त परिवारले हरेक परिवार बलियो, समाज दरिलो र राष्ट्र एक ढिक्का थियो। परिवारको फुटले घर भत्कन्छ, संस्कृति ढल्छ, संस्कार निदाउँछ, परम्परा खरानी बन्छ। घर सृष्टि हो, एकताको मूल हो, जन्मदेखि मृत्युसम्म ओत लाग्ने ईश्वरीय छाना हो।
स्नानं च पाकं शयनं च भोज्यं गजालयं वाजिगृहं धनस्य।
देवस्य पूर्वादिदिशि क्रमेण मध्ये सभा भूपनिवेशनाय।।
अर्थात्, “पूर्वमा नुहाउने, भान्छाघर (किचन) आग्नेयकोण (पूर्व-दक्षिणमा)मा, सुत्नेकोठा दक्षिणदिशामा, खाने ठाउँ दक्षिण-पश्चिम (नैऋत्यकोण)मा, हात्ती बस्ने पश्चिममा, घोडा बाँध्ने पश्चिम-उत्तर(वायव्यकोणमा), पैसा र गरगहना उत्तरदिशामा, पूजा ईशान (उत्तर-पूर्व)मा हुनुपर्छ, यी आठै दिशाको बीचमा राजा बस्ने कोठाको निर्माण गर्नुपर्छ।”
वास्तुशास्त्रले घरमात्र होइन गाउँ-शहर आदिको समेत वास्तु मिलाउनुपर्ने विषयलाई जोड दिएका छन्। ब्राम्हण, सिद्ध वा पुण्यात्मालाई शहर वा गाउँको उत्तरदिशामा, फलफूल बेच्ने व्यापारीलाई ईशानदिशामा, सेनापति पूर्वदिशामा अन्य सेना आग्नेयदिशामा, स्त्री आदिलाई आदेश दिने व्यक्ति दक्षिणदिशामा, बाण हान्न जान्नेलाई नैऋत्यदिशामा राख्नु सर्वोत्तम हुन्छ।
काठमाडौँ उपत्यकाको चारै दिशामा चार नारायण, चार बाराही, चार गणेश राखेर सुव्यवस्थित नगर बनाउन खोजिएको देखिन्छ। नेपालको सिमाना पूर्वमा कोशी, पश्चिममा गण्डकीसम्म हुँदा ६४ शिवलिंगले राष्ट्रको सुरक्षार्थ लक्ष्मणरेखा कोरेको थियो।
नेपालका पुराना दरबार र घरहरूको मूलद्वार उत्तर, मूलढोका पूर्वतर्फ राखेर निर्माण गरेको पाइन्छ। उत्तरदिशा हिमाल, शीतलता, कुबेरको निवासस्थल, लक्ष्मी वा धनधान्यको स्थान हो।
पूर्वदिशा ज्ञान, विवेक, सभ्यता आदिको केन्द्र हुनाले घरको मूलढोका पूर्वतर्फ बनाइन्छ। सूर्यको प्रकाश पुगेको ठाउँमा भूतप्रेत वा नकारात्मक तत्वको बास हुँदैन।
आधुनिक इन्जिनियरको जन्मपूर्व बनेका नेपालका राजदरबार, महलहरूको बीचमा खाली ठाउँ राखेर प्रत्येक कोठामा सूर्यको प्रकाश पुर्याउने काम भएका थिए। हरेक दरबार बनाउँदा वास्तु, भूबनोट, प्रकृतिलाई ध्यानमा राख्दथे।
धरहरा, घण्टाघर, रानीपोखरी, विभिन्न स्तुपाहरूले यी विषयलाई पुष्टि गर्दछन्। विभिन्न देवीदेवताको तस्बिर, स्वस्तिक चिह्न, यन्त्र राखेर घरको वास्तु मिलाइन्छ। मूलद्वार वा ढोकामा कलश, तामाको सूर्यलाई पूर्वतर्फ झुण्ड्याई घरमा शान्ति, सम्पत्ति, सन्तान र सम्वृद्धिको आगमन गराइन्छ।
वास्तु मिलेको मन्दिर र घरमा पस्नसाथ आनन्द एवं ऊर्जा आउँछ, नमिलेको ठाउँमा कहिले निस्कौँझैँ लाग्छ। पशुपतिलगायतका पुराना मन्दिरहरू पौरस्त्य इन्जिनियरिङ र वास्तुअनुसार निर्माण गरिएकाले वि. सं. १८९०, वि. सं. १९९० र वि. सं. २०७२ वैशाख १२ गतेको महाभूकम्पले केही गर्न सकेन।
सानन्दं सदनं सुताश्च सुधियः कान्ता न दुर्भाषिणी ।
सन्मित्रं सुधनं स्वयोषिति रतिश्चाज्ञापराः सेवकाः ।।
अर्थात्, “पुत्र बुद्धिमान् होस्, श्रीमती मिठो शब्दले बोलून्, असल मित्र हुन्, पत्नीको साथ रहोस्, आज्ञाकारी सेवक हुन्।” यी लक्षणयुक्त घरमा परिवारको चौतर्फी विकाश र अनुकूलको स्वास्थ्य हुन्छ। शान्ति र श्रद्धाभाव नभएको घर यातनास्थल हुन्छ।
वास्तु नमिलेकै कारण नेपालको सिंहदरबार, सर्वोच्च अदालत, अभिलेखालय, राजदरबार, प्रधानमन्त्री निबासबाट जनअपेक्षाअनुसार कहिल्यै काम हुन सकेन। यी दरबारको मुख्य प्रवेशद्वार पश्चिम, दक्षिण दिशामा वा मूलढोकामा ढल छन्। केही वर्षयता पूर्व ढोका बनाए पनि अधिकांश यहाँबाट प्रवेश गर्दैनन्।
सन्ततिलाई आमाबाट सत्य, बुबाबाट असल ज्ञान, दाजुभाइबाट धर्म, साथीबाट दया, श्रीमतीबाट शान्ति एवं सन्तानबाट क्षमा प्राप्त हुन्छ, त्यस्ता ६ वटा तत्वले युक्त स्थानलाई घर भनिन्छ। शरीरजस्तै घरमा पनि प्राणशक्ति सञ्चार हुन्छ।
शरीर बलियो हुन हरेक अङ्गले उचित काम गरेझैँ घरका प्रत्येक भागबीच तालमेल हुनुपर्छ। शौचालय पूर्वतर्फ, पानी आग्नेयकोणमा हुनुहुँदैन। खाना खाएका भाँडाहरू, देवीदेवताका मूर्ति वा तस्बिरहरू, प्रयोगमा आउने कपडाहरू तुरुन्तै सफा नगर्ने घरमा शान्ति, मैत्री, लक्ष्मी र सरस्वतीको बास हुँदैन। घरभित्र पस्दा मुठी बाँधेर, बाहिर मुठी खोलेर निस्कँदा लक्ष्मी (सहकाल) र शान्ति रहन्छन्।
आतिथ्यं शिवपूजनं प्रतिदिनं मिष्टान्नपानं गृहे।
साधोः संकमुपासते हि सततं धन्यो गृहस्थाश्रमः।।
अर्थात्, “घरमा दिन–दिनै अतिथिहरूको आगमन होस्, शिवको पूजा होस्, सबैले मिठो मानेर खाऊन्, साधुसन्तको आवतजावत होस् त्यस्तो गृहस्थाश्रम धन्य हो।” अतिथि देवता हुन्, उनीहरूलाई अपमान र निराश बनाई फर्काउँदा सम्पूर्ण वैभव र पुण्य उसैका साथमा जान्छ।
घर नै आश र श्वासको प्रतिक भएकाले कसैको मनमा नैराश्य ल्याउने काम गर्न हुँदैन। घर (गृहस्थाश्रम)बाट सबैलाई साथ मिल्दछ। खेतबारीमा उब्जिएको मकै, गहुँ, धानलगायतका अन्नबाट पशुपंक्षीहरूले जीवन धान्दछन्।
घरमा भित्र्याइएका अन्नबालीबाट मुसा, साधुसन्त, दीनदुःखीहरूलाई आश्रय मिल्दछ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबैलाई सहयोग गर्नु गृहस्थको कर्तव्य, धर्म एवं घरको शुभ लक्षण पनि हो। सीता खोजीमा लंका पुगेका हनुमानले विभिषणको घरमा शंख, चक्र एवं तुलसीको मठ देखेर आश्चर्यमा परेका थिए।
संस्कारीहरूको घरमा पूजापाठ, देवीदेवताका तस्बिर, धार्मिक पुस्तकहरू, मन्त्रको उच्चारण, शंख÷घण्टीको आवाज सुन्न पाइन्छ। महापुरुष, साधुसन्त, वीरवीरांगना, देवालय, पितापुर्खा आदिका तस्बिरहरू घरमा हुनुपर्छ।
मृतकको फोटो दक्षिण, जीवित व्यक्ति सम्मानपत्र, पूजाका सामग्री पूर्व वा उत्तरतर्फ राख्नुपर्छ। ड्याडी, अंकल, ममीजस्ता शब्दले बुबा, काका र आमाको अर्थ एवं महिमा बोक्न सक्दैनन्।
अंकल भन्नुभन्दा मामा, काका, सानुबुबा भनी नेपाली नाता लगाउनुपर्छ। नाता एवं पदअनुसारको शिष्टाचार गर्दा बालक, वृद्ध, विद्वान् र शास्त्रको कदर हुन्छ।
चाडपर्व एवं धार्मिक अनुष्ठान घरमै गराउनु र मनाउनुपर्छ। पारिवारिक जमघट होटेलमा हुँदा खान र खुवाउन सजिलो होला तर आत्मीयता साट्टिन्न। घरमा बोलाउँदा अग्रजको चरणस्पर्शले घर पवित्र हुन्छ, पितृ खुसी हुन्छन्।
प्राचीनकालदेखि संस्कारसहित संयुक्त परिवारमा जीउन सिकाउने विश्वविद्यालय नै घर हो। एकल परिवारमा बस्न रुचाउने परिस्थिति र प्रवृत्तिले समाज, संस्कृतिका साथै राष्ट्रलाई नै बेफाइदा भएको छ।
नातिनातिनालाई हुर्काउने, संस्कार सिकाउने, पुर्खाको इतिहास सुनाउने, कर्तव्य बुझाउने कार्य संयुक्त परिवारमा हजुरबुबा, हजुरआमाले गर्दथे। यसबाट बुढापाकालाई दिन बिताउन र सन्तति हुर्कन सजिलो हुन्थ्यो।
हजुरबा र हजुरआमालाई बुबाआमाले ढोगेको, घरमा पूजाअर्चना र धार्मिक अनुष्ठान गरेको देखेर नानीहरूको दिमागमा सकारात्मक प्रभाव पार्छ। जसले पछिल्ला पुस्तामा अग्रजको संस्कार एवं ज्ञान हस्तान्तरण गराउन सजिलो बनाउँछ।
कसलाई ढोग्ने, कसलाई नमस्कार गर्ने, कसलाई माया गर्ने सबै ज्ञान प्राप्त हुन्छ। ठूलाबा, काका, फुपूदिदी आदिका छोरा–छोरीसँगै खेल्दै, पढ्दै, हुर्कँदै गर्दा आत्मीयता बढ्छ। मेरै रगत हो, वंश हो, नाता हो भन्ने भावना दृढ बन्दछ। कसैलाई एक्लो भएको अनुभव हुँदैन, दुःख र विपद्मा सहयोग लिन अरूसँग याचना गर्नुपर्दैन। घरले नातालाई बलियो, सम्बन्धलाई सुदृढ, आफन्तलाई नजिक बनाउँछ।
चाणक्यनीतिमा भनिएको छ-
लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे पुत्रे मित्रवदाचरेत्।।
अर्थात्, “पाँच वर्षसम्मका बच्चालाई मायाले फकाउनु, पाँचदेखि दश वर्ष उमेरकाले राम्रो काम नगरे हप्काएको जस्तो गरी माया गर्नु, सोह्र वर्ष पुगेपछि सन्तानसँग मित्रवत् व्यवहार गर्नु।”
कुन उमेरमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञान नभएर कैयौँ सन्तानहरू कुमार्गमा फसेका छन्, कुकर्ममा रमेका छन्। आमा-बुबाको धन, इज्जत र जीवनको साहारा भनेकै सन्तान हुन्।
सन्तानसँग भावनात्मक सम्बन्ध हुनुपर्छ हरेक समयको असल साथी बनाउनुपर्छ। सन्तानलाई समय र संस्कार दिन नसक्दा ड्रगिष्ट, वेश्यावृत्ति, तनावजस्ता कुलतमा फस्न पुग्छन्। सन्तानको भविष्यमा घरको बनोट र परिवारको व्यवहारले असर गर्दछ। संस्कार, कार्य र ज्ञानका आधारमा सन्तान तीन प्रकारका हुन्छन्।
पहिलो-जो राष्ट्र, धर्म, संस्कृति, समाजको लागि बाँच्ने छन्, राष्ट्रका विभूति हुन्छन्, युगौँसम्म जीवित रहन्छन्। गौतमबुद्ध, पृथ्वीनारायण शाह, भानुभक्त आदि।
दोस्रो-आफ्नो स्वार्थका लागि बाँच्ने सन्तान। तिनीहरूलाई केही वर्षसम्म सन्ततिले तिथिविशेषमा सम्झन्छन्, श्राद्ध गर्छन् र बिर्सन्छन्।
तेस्रो- जसले आफू र अरूलाई कहिल्यै सुख र शान्तिको श्वास फेर्न दिँदैनन्। हाल नेपालमा देखिएका नेता भनिनेहरू यही समूहमा पर्दछन्। यिनीहरूको मनमा जनता छैनन्, भावमा राष्ट्र छैन, हृदयमा नेपालको धर्म छैन। लुट र झुटको आयबाट परिवार पाल्छन्। विदेशी धर्म र भौतिक सुविधामा जीवन समाप्त गर्छन्।
सन्तानलाई सम्पत्तिमात्र होइन संस्कार पनि दिनुपर्छ। बच्चा भनेका काँचो माटो हुन्, उनीहरूलाई जस्तो आचार, विचार र संस्कार दियो त्यस्तै बन्दछन्।
पूत सपूत तो क्यों धन सञ्चै ? पूत कपूत तो क्यों धन सञ्चै ? अर्थात् ‘“राम्रो आचरणको सन्तानलाई धन किन सञ्चय गरेर राखिदिनुपर्यो र? कुपुत्रलाई धन संरक्षण गरिदिएर पनि के फाइदा?”
योग्य बनाएर पुर्खाको विरासद हस्तान्तरण गरिदिए सन्तानका लागि अरबौँको अविनाशी पैतृक सम्पत्ति दिएझैँ हुन्छ समाज र समयअनुसार चल्नुपर्छ भन्ने बाहानामा छोराछोरीलाई अनावश्यक स्वतन्त्रता, माया, प्रविधि र पैसा दिनुहुँदैन।
अतिले खति गर्छ आवश्यकताभन्दा धेरै विश्वास गर्दा सन्तानले आमा-बुबालाई तर्साउँदै घरलाई मसानघाटजस्तै बनाएका छन्। आद्यशंकराचार्यले मीमांसाका विद्वान् मण्डन मिश्रसँग शास्त्रार्थ गर्न माहिष्मती गाउँमा पुगेर ‘“मिश्रको घर कुन हो?” भनी सोध्दा एक सज्जनले भनेछन्-
स्वतः प्रमाणं परतः प्रमाणं किरांगना यत्र गिरो गिरन्ति।
द्वारस्थनीडान्तरसन्निरुद्धा जानीहि तन्मण्डनमिश्रधामः ।।
अर्थात्, “जुन घरको ढोकामा बन्द पिँजडाभित्र रहेका सुगा र मैनाले स्वतः प्रमाण र परत प्रमाणको बारेमा शास्त्रार्थ गरिरहेका छन्, त्यही घर मण्डन मिश्रको हो।” मण्डन मिश्रको घरमा सधैँ शास्त्रीय चर्चा, परिचर्चा हुन्थ्यो जसलाई घरमा पालिएका सुगा र मैनाले पनि कण्ठस्थ गरे।
बच्चालाई सानैदेखि संस्कार नदिएर एकैदिनमा सत्मार्गमा ल्याउन सकिँदैन। बालअधिकार, श्रम शोषणजस्ता आगन्तुक सिद्धान्तले हाम्रा सन्तानलाई स्वतन्त्रता दिएको छैन बरु छाडा बनाउन सहयोग गरेको छ।
‘अधिकारको साथमा कर्तव्य रहेन, स्वतन्त्रतामा संस्कार बचेन भने त्यसले समाज र परिवारलाई मरुभूमिमा रूपान्तरण गर्छ। जस्तो संग उस्तै रङ भनेझैँ बच्चाको साथमा परिवार, परम्परा, परिश्रम हुन आवश्यक छ।
धर्म र संस्कारमाथि आगो लाग्नाले घरमा न त अभिभावक खुसी छन्, न त सन्तानमा प्रसन्नता छ, न त समाजले शान्तिको अनुभव गर्न पाएको छ, न त विकाशको अङ्कुरण भएको छ। घर राष्ट्रको बिउ हो, समाजको आधार हो, पुर्खाको चिनो हो।
घरमा आएर देवीदेवता, सिद्ध, पितृगणहरूले आशीर्वाद दिने हुँदा शान्ति र शुद्ध हुनुपर्छ। घर कल्याणकारी, रोगरहित, तीनै कालमा रक्षा गर्ने, दुःखको निवारण गर्ने हुनाले यसलाई मन्दिर ठानेर परिवारमा आत्मीय सम्बन्ध हुनुपर्छ।
घर बिग्रिए संसारको अस्तित्व सकिने हुनाले घरलाई मन्दिर, परिवारलाई देवता, सद्भावलाई प्रार्थना र संस्कारलाई पूजाको रूपमा विकाश गर्नुपर्छ।
Facebook Comment