एक्कासी इरानमाथि किन आक्रामक भयो तालिबान ?

काठमाडौं । अफगानिस्तान र इरानको सीमामा चरम तनावको वातावरण छ । तालिबानले इरानसँगको सीमामा ठूलो मात्रामा हतियार तैनाथ गरेको समाचार छ । हेलमण्ड नदीको पानीको अधिकारलाई लिएर सुरु भएको विवाद अहिले यति बढेको छ कि तालिबानले २४ घण्टाभित्र इरानलाई जित्ने चेतावनी दिएको छ ।
शनिबार दुई देशबीच भारी गोलीबारी भएको थियो जसमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो र धेरै घाइते भएका थिए। दुई पक्षबीचको तनाव अझै जारी छ र यस लडाइमा तालिबानले मिसाइल, तोप, मेसिन गन प्रयोग गरिरहेको खबर छ । इरान-अफगानिस्तानबीच गोली हानाहानका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
इरानी राष्ट्रपति इब्राहिम रायसीले तालिबानलाई हेल्मान्ड नदीको पानी इरानको पूर्वी क्षेत्रहरूमा रोकेर १९७३ को सन्धि उल्लंघन नगर्न चेतावनी दिएपछि दुई देशबीचको तनाव यस महिना बढ्यो। अफगानिस्तानका तालिबान शासकहरूले रायसीको आरोप अस्वीकार गरेका छन्।
दुई पक्षबीचको तनावले अहिले झडपको रुप लिएको छ । तालिबानले अब इरानलाई २४ घण्टाभित्र पराजित गर्ने चेतावनी दिएको छ । तालिबान कमाण्डर हमिद खोरासानीले भने, ‘हाम्रो शक्तिको परीक्षण नगर्नुहोस्। हामी सच्चा मुस्लिम हौं। यदि हाम्रा नेताहरूले हामीलाई अनुमोदन गरे भने, हामी २४ घण्टाभित्र इरानमाथि विजय हासिल गर्नेछौं।’
कमाण्डरले ट्वीटरमा शेयर गरेको भिडियोमा भनेका छन्, ‘हामीले अमेरिकासँग जुन भावनाका साथ लडेका थियौं, त्योभन्दा बढी उत्साहका साथ हामी इरानसँग लड्नेछौँ । तालिबान नेताहरूले धैर्यता देखाएकोमा इरान आभारी हुनुपर्छ । हाम्रा ठूला नेताहरूले हामीलाई अनुमति दिएको भए इरानमाथि जित हासिल गर्ने थियौं।’
शनिबारको गोलीबारीपछि तालिवानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवार्जमीले भने, “दुर्भाग्यवश आज फेरि एकपटक इरानी सेनाले निमरोज प्रान्तको कोङ जिल्लाको सीमा नजिकै गोलीबारी गरेको छ। यसपछि संघर्ष सुरु भयो । हामी कुनै पनि समस्याको लागि वार्तालापलाई उपयुक्त तरिका मान्छौं। बहाना बनाएर युद्ध सुरु गर्नु दुबै पक्षको हितमा छैन ।”
इरानले गोलीबारी सबैभन्दा पहिले तालिवान लडाकुहरूले गरेको आरोप लगाएको छ। इरानको समाचार एजेन्सी इरनाका अनुसार इरानका प्रहरी प्रमुखले तालिवान आक्रमणको उचित जवाफ दिइने बताएका छन् । उनले भने, ‘हाम्रो सीमा बलले हरेक आक्रमणको जवाफ दिनेछ । अफगानिस्तानले अन्तर्राष्ट्रिय नियम उल्लङ्घनको परिणाम भोग्नुपर्नेछ। उसले आफ्नो हरेक कार्यको जवाफ दिनुपर्छ।
समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि इरानी अधिकारीहरूले शनिबारको झडप पछि मिलक-जारंज सीमा नाका बन्द गरेका छन्। यो सीमा नाका दुई देशबीचको प्रमुख व्यापारिक नाका हो।
हेल्मान्ड नदी र यसको पानी इरान र अफगानिस्तानबीच लामो समयदेखि विवादको केन्द्रमा रहेको छ। सन् १९७३ मा दुई देशबीच एउटा सम्झौता भएको थियो, जसअनुसार अफगानिस्तानले प्रत्येक वर्ष ८२० मिलियन घनमिटर पानी इरानलाई दिनुपर्छ।
अफगानिस्तानको एक हजार किलोमिटर लामो हेल्मान्ड नदी पूर्व दिशाबाट इरानसम्म बग्छ। जलवायु परिवर्तनका कारण नदीको क्षेत्रफल घट्दै गएको छ, जसले इरानको सिस्तान–बलुचिस्तान प्रान्तलाई नराम्ररी प्रभावित गरेको छ ।
यस्तो अवस्थामा अफगानिस्तानले यस नदीमा विद्युत उत्पादन र सिँचाइका लागि बाँध बनाएको छ । सुख्खाग्रस्त इरान अफगानिस्तान सरकारले नदीमा बाँध बनाएकोमा आक्रोशित भएको छ र नदीमा बाँध निर्माणले यस क्षेत्रको इकोसिस्टमलाई नोक्सान पुर्याउने बताएको छ। इरानले अफगानिस्तानलाई तोकिएको मापदण्डभन्दा कम पानी आपूर्ति गरिरहेको आरोप लगाउँदै आएको छ ।
इरान विगत ३० वर्षदेखि खडेरीको चपेटामा छ र पछिल्लो दशकमा यो समस्या झन् विकराल बन्दै गएको छ । इरानको मौसम विज्ञान संगठनका अनुसार देशको ९७ प्रतिशतले अहिले केही हदसम्म खडेरीको सामना गरिरहेको छ।
Facebook Comment