राजाले अन्याय गरेका, जनताले न्याय नगरेका बहादुर शाह
“पश्चिममा किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं” भन्ने शब्द संगीत र स्वरको सुन्दर त्रिवेणी यी हरफसहितको राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो राष्ट्रगीतले जति मात्रमा नेपालीहरुमा गर्ववोध गराएको हुन्छ, त्यो भन्दा बढी पश्चिममा किल्ला काँगडामा नेपाली झण्डा फहराउने बहादरुहरुको नायक बहादुर शाहमाथि भएको अन्यायले पीडा दिएको हुन्छ।
सबैलाई थाहा नभएको हुनसक्छ, बहादुर शाह नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहका माइला छोरा हुन्। चलनमा कान्छा छोरा भनिए पनि उनी माइला छोरा हुन्।
उनी पछिको भाइ नारायण शाह सानैमा मरेकोले र उनी पछि अरु कुनै भाइ नभएकोले यो जान्ने नजान्ने सबैले उनलाई पृथ्वीनारायण शाहको कान्छो छोरो भन्दै लेख्दै आए। यो बहादुर शाहको जन्मको सामान्य परिचय मात्र हो।
उनको असाधरण परिचय भनेको चाहि पृथ्वीनारायण शाहको अभियानलाई पूर्णता दिएको कार्य नै हो। अर्थात माथिको गीत रच्ने आधार बनाइदिने कार्य नै हो। आज हामी उनै बहादुर शाह जसले नेपालमाथि न्याय गरे तर नेपालले भने उनी माथि अन्याय गरिरहेकोछ बारेमा संक्षिप्त चर्चा चलाउने छौं।
पृथ्वीनारायण शाहको मृत्युपछि उनका जेठा छोरा प्रतापसिंह शाह नेपालका राजा भएका थिए। राजा भएको छोटो समयमा नै उनको निधन भएको र छोरा रणबहादुर शाह अढाई वर्षका नावालक भएको कारणले गर्दा प्रतापसिंहकी रानी तथा रणबहादुर शाहकी मुमा याने राजमाता राजेन्द्रलक्ष्मी शाहले राजा रणबहादुर शाहको नायवी भएर शासन सन्चालन गर्नतिर लागिन्।
नेपालको आकारलाइ गोरखादेखि पश्चिममा बढाएर चन्द्र सूर्य अंकित रातो झण्डालाई काँगडामा फहराउने पौरख र गौरव बहादुर शाहको अपराध थियो? अपराध हो? विशाल नेपाल बनाउनु बहादुर शाहको अपराध हो? यो हरेक नेपालीलाई इतिहासको अहम् प्रश्न हो।
राजमाता नायवी राजेन्द्रलक्ष्मीको पनि छिट्टै निधन भएकोले अव नावालक भतिज राजा रणबहादुर शाहको नायवी भएर बहादुर शाहले नेपालको शासनव्यवस्थाको नेतृत्व गर्ने परिस्थिति आइलाग्यो। यिनै बहादुर शाहको नायवीकालमा नै नेपालको सीमाना माथि गीतले भने जस्तो पश्चिममा किल्ला काँगडामा नेपाली झण्डा फहराएको थियो।
बहादुर शाहले उनका बुबा पृथ्वीनारायण शाहले गरेको एकीकरणको जमिन र जनको शक्ति माथि उभिएर नेपालको पश्चिम क्षेत्रको एकिकरण अभियान अघि बढाएको थिए।
भन्न सकिन्न बहादुर शाहको नेतृत्वमा नेपाल एकीकरण अभियान अगाडि बढेको थिएन भने नेपालको यो अवस्था त हुने थिएन नै भएको नेपाल पनि टिक्थ्यो कि टिक्दैनथ्यो।
धेरै मान्छेहरुलाई के भ्रम छ भने पृथ्वीनारायण शाहले टुक्रिएर रहेका बाइसी चौबिसी राज्यहरुलाई जोडेर विशाल नेपालको एकीकरण गरेका थिए। धेरैले यही भन्छन् र लेख्छन्। तर तथ्य यो होइन।
तथ्य यो हो बाइसी चौबिसी सबै राज्यहरु नेपालमा गाभिएका हुन् तर पृथ्वीनारायण शाहको पालामा गाभिएका होइनन्। पृथ्वीनारायणको पालामा मकवानपुर, कान्तिपुर, ललितपुर, भक्तपुर, चौदण्डी र विजयपुर एकीकरण भएका थिए भने त्यसपछि केहीलाई छोडेर पश्चिममा काँगडासम्म सबै बहादुर शाहको नेतृत्वकालमा भएका थिए।
सुगौली सन्धीपछि मेची कालीमा खुम्चिएको नेपालका वर्तमान जिल्लाहरु भएको भूभाग कसको पालाम जोडिएका थिए भन्ने मोटामेटी विवरणले पनि यसलाई थप स्पस्ट हुन सहयोग गर्दछ। जसलाई मोटामोटी निम्ननुसार प्रस्तुत गर्न सकिन्छ।
पृथ्वीनारायण शाहको पालामा गोर्खापूर्वका वर्तमानमा नाम कायम भइरहेका निम्न जिल्लाको भूभाग जोडिएर नेपाल एकीकरण भएको थियो। गोरखा आफैं नाइके भयो। त्यसपछि नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, ललितपुर, भक्तपुर, काठमाडाैं, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, धनुषा, सिराहा, रामेछाप, सिन्धुली, सप्तरी, सुनसरी, मोरङ, झापा, सोलुखुुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर, तेह्रथुम पाँचथर, उदयपुर, धनकुटा र इलाम हुन्।
त्यसपछि लमजुङ र कास्की राजेन्द्रलक्ष्मीको नायबीकालमा नेपालमा गाभिएका थिए भने बाँकी सबै बहादुर शाहको पालामा नेपालमा जोडिएका थिए। जसको विवरण निम्नअनुसार छ।
चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर हुन्। त्यसरी नै पाल्पा, अर्धखाँची, गुल्मी, स्याङजा, तनहु, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ, प्यूठान, बाग्लुङ, रोल्पा, रुकुम, डोल्पा हुन्।
त्यस्तै सल्यान, सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, मुगु, कालिकोट, आछाम, डोटी, डढेल्धुरा, बाजुरा, बझाङ, दार्चुला,र हुम्ला हुन्। यसबाट देखिन्छ कि पृथ्वीनारायण शाहको नेतृत्वकालमा अथवा जीवनकालमा बाइसी चौविसी राज्यहरु नेपालमा एकीकृत भइसकेका थिएनन्।
स्वयं गोर्खा राज्य चौविसी राज्यको सबभन्दा कान्छो राज्य भएकोले चौबिसी राज्यको प्रतिनिधित्व चाहिँ गोरखाले गरेको रहेछ। यो पनि त्यतिकै साँचो हो चैबिसी राज्यको सबभन्दा कान्छो राज्यले नेपाल एकीकरणको नेतृत्व लिएको रहेछ।
बहादुर शाह विसं १८१४ असार ६ गते नुवाकोट दरबारमा जन्मिएका थिए। २८ वर्षको युवा उमेरमा विसं १८४२ श्रावणदेखि १८५० माघ सम्म जम्मा आठ वर्ष छ महिना मात्र भतिज राजा रणबहादुर शाहको नायवी भएर राज्यको नेतृत्व गरेका थिए बहादुर शाहले।
यही वर्षको अवधीमा उनले नेपालको सीमाना गोर्खाबाट पश्चिम काँगडासम्म फैलाए। त्यो बेला साँचै विशाल नेपाल थियो। गोर्खा पूर्व टिष्टासम्म नेपालको सीमा फैल्याउन पृथ्वीनारायण शाहलाई तीन दशक लागेको थियो।
तर पश्चिममा ८ वर्षमात्रै लाग्यो बहादुर शाहलाई। किनभने अब नेपालको शक्ति धेरै बलियो भइसकेको थियो। यही शक्तिलाई बहादुर शाहले सही नेतृत्व दिन र परिचालन गर्न सक्षम भए। जोसँग खारिएका अनुभवी समर्पित भएर लाग्ने शक्ति थियो।
यस हिसाबले हेर्दा बहादुर शाह राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सुयोग्य पुत्र मात्र प्रमाणित भएनन् राष्ट्रनिर्माणका पूरक पनि पनि भए। योगदानको हिसाबले परिणामको हिसाबले बहादुर शाहलाई सहराष्ट्रनिर्माता भन्दा पनि अत्युक्ति हुँदैन।
नेपालका राष्ट्रनिर्माताको पुरा नाम त पृथ्वीनारायण बहादुर शाह भन्दा मात्र पुरा हुने रहेछ। यसले दुबैको नाम, काम, परिणाम र चरित्रलाई सम्वोधन गर्ने रहेछ। तर बहादुर शाहमाथि राजाहरुले निर्ममतापूर्वक अन्याय गरेका छन् र अन्यायलाई अनुमोदन गरेका छन्।
पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाह राजा भए पनि उनी योग्य थिएनन्। उनी तन्त्रमन्त्र र भोग विलासमा लठ्ठ भैरहन्थे। राजाको यस्तो चर्तिकला भाइ बहादुर शाहलाई कत्ति पनि मन पर्दैनथ्यो।
यस्तो चालले राज्य चल्दैन भनेर उनी दाजु राजालाई सम्झाउँदथे। तर अयोग्य राजालाई योग्य भाइको राम्रा सल्लाहा सुझाव मन पर्दैनथ्यो। आफू सुध्रिनु त कता हो कता उल्टो भाइलाई कैद पछि देश निकाला पो गरिदिए।
बहादुर शाहले राजदण्डको अन्याय पहिलोपल्ट यहीबाट भेटेका थिए। राजा प्रतापसिंहको मृत्यु पछि नावालका राजा रणबहादुर शाहको नायवी बनेकी भाउजू राजमाता राजेन्द्रलक्ष्मीले भारतको बेतियामा निर्वासित जीवन बिताइरहेका बहादुर शाहलाई नेपालमा बोलएकी थिइन्। र उनी नेपाल पर्किएका थिए।
राजमाता राजेन्द्रलक्ष्मीको पनि क्षय रोगले छिट्टै मृत्यु भयो। मृत्यु हुनुपूर्व उनले आप्mनो नायवी र रणबहादुर को अभिभावकत्व बहादुर शाहलाई हस्तान्तरण गरेकी थिइन्।
बहादुर शाहले एकीकरण अभियानलाई गति दिएर विशाल नेपाल खडा गरेको त माथि भनियो नै। साथै उनले आन्तरिक सुधारका काम समेत धेरै नै गरेर नेपाललाई सबै किसिमले बलियो बनाउने काम गरेका थिए।
उमेर पुगेपछि काका बहादुर शाहको नायवी समाप्त पारेर रणबहादुर शाह राजा भए। रणबहादुर शाह पनि बाबु प्रतापसिंह शाह जस्तै विलासी थिए। त्यो भन्दा थप उनी उदण्ड हठी र अविवेकी पनि थिए।
युवा उमेरका उदण्ड राजा रणबहादुरलाई उराल्ने पनि त्यस्तै खालका थिए संगतिहरु पनि। विकेक गुमाएका रणबहादुरले अनेक मिथ्या आरोप लगाएर काका बहादुर शाहलाई नेलकडी ठोकेर थुन्न लगाए।
न भारदारी सभा डाकेर छलफल नै गराए न काका बहादुर शाहलाई सफाइको मौका नै दिलाए। उल्टो राजा रणबहादुरको आदेशमा काका बहादुर शाहलाई बाँधेर उमालेको तेल शरीरमा हाल्न लगाएर कु्ररतापूर्वक हत्या गराए।
विसं १८५४ असार १४ गते ४० वर्ष आठ दिनमा बहादुर शाहको मृत्यु याने हत्या भएको थियो। बहादुर शाहको हत्या हुँदा राजा रणबहादुर शाहको उमेर भने २१ वर्ष सात महिनाको थियो।
यसरी एकजना राष्ट्रिय नायकलाई नालायक राजाले कु्ररतापूर्वक समाप्त पारे। उनको गल्ति यही थियो कि उनले उदण्ड अनुशासनहीन अराजक विलसी भतिज रणबहादुरलाई अनुशासित र मर्यादित बनाउन भरमग्दुर कोशिस गरेका थिए।
कतिपय रणबहादुरले गरेका अमर्यादित विवाहालाई बहादुर शाहले परिवारिक मान्यता दिन अस्वीकार गरेका थिए। त्यसैको प्रतिशोधमा अनेक निउ झिकेर नेपाल एकीकरणको सहनायकलाई समाप्त पारे। त्यति मात्र होइन बहादुर शाह माथि अन्याय भयो भन्नेहरुका चारजनाको त आँखा पनि झिकिदिए।
पञ्चायत कालमा राष्ट्रिय विभुति छनोट गर्ने र घोषणा गर्ने काम भयो। तर त्यहाँ बहादुर शाह अँटाएनन्। याहाँ मूल्यांकनले काम गरेन आग्रह पूर्वाग्रहले काम गर्यो।
पराजित हुने, पलायन हुने मुलुकको भूभाग गुमाउने सम्मले राष्ट्रिय विभिूतिको सम्मानित स्थान प्राप्त गर्न सक्दा नेपाललाई विशाल बनाउन त्यति ठूलो योगदान दिने बहादुर शाहलाई विभूति सम्मको स्थान नदिनु राष्ट्रिय अन्याय नै हो। अझ यो राजा रणबहादुर शाहको कुकार्यको अनुमोदन पनि हो। यो अनुमोदनले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र पार गर्दै गणतन्त्रमा आइपुगेको छ।
बहादुर शाहमाथि राज्यले गरेको अन्यायलाई राज्यको अविछिन्न उत्तराधिकारीले नसच्याएसम्म उसले पनि त्यसैलाई समर्थन गरेको ठहर्ने छ। गणतन्त्रले पनि राजाले गरेको अन्यायलाई सच्याएन भने उ पनि त्यही कित्तामा उभिएको मानिने छ।
यो राजाले अन्याय गरेको र जनताले न्याय नगरेको मानिने छ। हेरौं सहराष्ट्रनिर्माता बहादुर शाहले न्याय पाउन अरु कतिवर्ष पर्खनुपर्ने हो।
यति महान योगदान दिने बहादुर शाहको न विभूतिमा स्थान छ न कतै सालिक ठडिएको छ उ न उनको नाममा सम्झने गरी कतै केही बनिएको छ, उनको नाममा त निरन्तर दण्डित अपराधिको इतिहास मात्र छ। यो गौरवशाली इतिहास माथिको क्रुर अन्यायको निरन्तरता हो। यो सच्चिनु पर्दछ।
नेपालको आकारलाइ गोरखादेखि पश्चिममा बढाएर चन्द्र सूर्य अंकित रातो झण्डालाई काँगडामा फहराउने पौरख र गौरव बहादुर शाहको अपराध थियो? अपराध हो? विशाल नेपाल बनाउनु बहादुर शाहको अपराध हो? यो हरेक नेपालीलाई इतिहासको अहम् प्रश्न हो। नेपालका हरेक सत्ताधारीलाई इतिहासको यो अहम् प्रश्न हो।
Facebook Comment