प्रचण्डको रुपान्तरणकारी कदम : भैंसी पूजा, दौरा सुरुवाल हुँदै गेरुवस्त्र धारणसम्म

शरद रिजाल
२१ जेठ २०८० ६:५१

काठमाडौं। कम्युनिष्ट विचारका प्रणेता कार्ल माक्र्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए। अफिमको नशाले मानिसलाई असामान्य तुल्याए जस्तै धर्मका नाममा व्याप्त भयानक अन्धता र जडताले समाजलाई घातक हुने देखेरै तत्कालीन समय अनुरुप उनले त्यसो भनेका हुन सक्दछन्।

उसो त उनको समय १९ औं शताब्दीमा धार्मिक अन्धविश्वासको कारणले द्वन्द्वको बिजारोपण हुने र धार्मिक युद्ध भड्किने खतरा रहेकाले उनको अफिमसँग गरिएको चित्रण यथार्थपरक हुनसक्दछ।

आजको जस्तो सामाजिक उन्नयनको अवस्था नभएर शैक्षिक जागरणको कमीले अज्ञानताले धर्मको कारण अनिष्ट हुने अवस्था थियो होला। तर विज्ञान र प्रविधिको चरम विकासले आजको परिस्थिति भिन्न छ। सञ्चार प्रविधिले विश्वलाई साँघुरो बनाउँदै असिमित ज्ञानले मानिसहरुको चेतनाको बृहत्तर विकास भएको छ।

आज मानिसहरु अन्धविश्वासको जडताबाट मुक्त भएका छन्। हरेक विषयवस्तुको सहजै ज्ञान प्राप्त गर्न सक्दछन्। आजकाल सर्वसुलभ पहुँचमा रहेको सञ्चार सामाग्रीको माध्यमबाट हरेक विषयमा जानकारी लिन सक्षम छन्। आफ्नो धारणा बनाउन र स्ववीकले निर्णय गर्न सामथ्र्यवान छन्। उनीहरुको आफैं वास्तविकता ठम्याउने ल्याकत राख्छन्। र सोही अनुरुप गन्तव्य तय गर्दछन्।

सबैले स्वतन्त्रतापूर्वक आफ्नो विचार अंगीकार गरिरहेका छन्। विश्वका कतिपय धार्मिक कट्टरपन्थी सम्प्रदायमा बाहेक अन्यत्र मानिसहरु विवेकपूर्ण ढंगले धार्मिक गतिविधिमा संलग्न छन्। त्यो उनीहरुको नैसर्गीक अधिकार हो।

हाम्रो जस्तो बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको देशमा अनेकौं धार्मिक सम्प्रदायबीच मेलमिलापपूर्ण रुपमा सदियौंदेखि बसिरहेका छौं। हरेकले एक अर्काको धर्म संस्कृतिको सम्मान प्रकट गरिरहेको अवस्था विद्यमान छ।

अझै अन्य धर्मभन्दा हिन्दु धर्मको परम्परागत धार्मिक कार्य निकै उदार र लचक शैलीको छ। कसैप्रति कठोर नभएको हिन्दु धर्मले धार्मिक क्रियाकलापमा पनि बलजफ्ती गरिँदैन। स्वेच्छाले धार्मिक गतिविधिमा हिन्दु धर्मावलम्बीहरुले सक्रियता जनाउँछन्।

माक्र्सले जतिबेलाको सामाजिक अवस्थाको चित्रण गरेर धर्मलाई अफिमको संज्ञा दिएका थिए। त्यस्तो परिस्थिति आज रहेन। बिल्कुलै भिन्न परिवेशबाट विश्व व्यवस्था गुज्रिरहेको छ। सायद उनी जिवीत भएकै भए यसको धारणा समयानुकूल भिन्नै बनाउँथे होला।

उनको दर्शन अनुशरण गरेर राज्य व्यवस्था निर्माण गरिएका देशहरु समेत आज सो दर्शनबाट च्यूत भइसकेका छन्। कतिपय मुलुकमा उनको आदर्श बाह्य आवरणमा पछ्याएको देखिएपनि सोही चरित्र कायम हुन सकेको दखिँदैन। आज उनको विचार विश्वभर रक्षात्मक अवस्थामा पुगेको छ।

नेपालको हकमा भने कम्युनिष्ट आवरणका दलहरु अझै पनि सक्रिय र बलशाली रहेको देखिन्छन्। संसदीय व्यवस्थामा रुपान्तरित भए पनि बलियो संसदीय हैसियत कायम गरेका छन्। यद्यपि व्यवहारतः कम्युनिष्ट हुन् या होइनन् त्यो फरक विश्लेषणको पाटो हो।

नेपालमा उनकै अनुयायीहरु आफूलाई असली कम्युनिष्ट बताउने र समयानुकुल परिवर्तत भएको भन्दै धर्मभिरु बन्न उद्दत देखिन्छन्। लामो समय देशमा आमूल परिवर्तन गर्ने भन्दै शिरमा कफन बाँधेर मुक्ति या मृत्युको कसम खाएर आमूल परिवर्तनका लागि बलिभेदीमा चढ्न तयार भएकाहरु आज मठ मन्दिरमा गेरुवस्त्र लगाएर आशीर्वाद थाप्न लामबद्ध छन्।

विगतको प्रायश्चित हो या वर्तमानमा आवश्यकता बोध गरेरै हो। माक्र्सका अनुयायीहरु पूजा अर्चनामा तछाडमछाड गरिरहेको दृष्यले जो कसैलाई अचम्मित बनाउँछ।

किनभने उनीहरुको वर्तमान अवस्थामा रुपान्तरण देख्दा यसले विगतमा उनीहरुले गरेको धर्मप्रतिको कटुता र विषवमन सोच्न विवश बनाएपछि मानिसहरु सार्वजनिक रुपमा अनेकौं टिकाटिप्पणी गर्न बाध्य हुन्छन्।

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा सर्वाधिक मात्रामा देखिने यस्ता चरित्रले उनीहरुको विगत र वर्तमानको तादाम्यता नमिलेको मात्रै होइन। विगतमा दिएको आहातले झस्काउने गर्दछ।

हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिने भारत भ्रमणका क्रममा शुक्रबार मध्यप्रदेशको उज्जैनमा गेरुवस्त्र धारण गरेर महाकालेश्वरको मन्दिरमा १०८ किलो रुद्राक्ष र ५१ हजार दक्षिणा चढाएर दृष्य अहिले सर्वाधिक चर्चाको विषय बनेको छ।

विगतमा प्रधानमन्त्री  दाहालकै नेतृत्वमा भएको जनयुद्धमा नेपालका मठ मन्दीरहरुमा गरिएको उद्धण्डता र धार्मिक कार्यमा संलग्नमाथिको अभद्र व्यवहारले भने दाहालको अहिलेको दृष्यले आश्चर्यचकित तुल्याएको छ।

हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको कहिल्यै दर्शन नगरेका प्रधानमन्त्रीलाई राजनीतिक र अध्यात्मिक साथ पनि भारतकै अपरिहार्य ठानेर गरिएको हो कि भन्ने आशंकाले देशवासी हिन्दु धर्मावलम्बीहरुलाई सोचमग्न बनाएको छ।

जनयुद्धको क्रममा वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको हत्या, गौहत्या र संस्कृत भाषामाथिको आक्रमणले माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई धार्मिक भेषभुषामा रहँदै महाकालेश्वरको पूजापाठ गर्ने अवस्था बाध्यात्मक हो या  स्वेच्छिक? प्रश्न निकै पेचिलो तवरले तेस्रिएको छ। ती विगतका अपराधको ग्लानी महसुस गर्दै प्रायश्चित गरेको त होइनन्? भन्ने प्रश्न खडा भएको छ।

बहुरंगी दाहाल : विगतमा हिन्दु धर्मप्रति द्वैष, अहिले गेरुवस्त्रको भेष?

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको पार्टीले दौरा सुरुवाललाई सामन्तको पर्याय ठान्ने गर्दथ्यो। उनकै नेतृत्वमा सुरु गरिएको जनयुद्धमा जातीय पहिचानको मुद्दा उठान गरिएको थियो।

विगतमा पहिचानमा आधारित संघीयताको नाममा जातीय राज्य दिलाउन प्रयत्नशील रहेको माओवादी शक्ति सन्तुलनका दृष्टिले कमजोर बन्दै गएपछि उक्त मुद्दाबाट पछि हटेको हो। त्यस बखत सबै जातजाति भाषाभाषिकाे पोशाक नै राष्ट्रिय पोशाक भएको अभिव्यक्ति दिने गर्दथे।

जनयुद्धकालमा धार्मिक कार्यलाई रुढीवादी परम्पराको संज्ञा दिँदै त्यसको अन्त्य गर्न बलजफ्ती समेत गरेको दृष्टान्त कैयौं छन्। त्यसको बाबजुद आज उनै प्रचण्ड धार्मिक कार्यमा गेरुवस्त्र धारण गरेर सरिक भइरहेका छन्।

जनयुद्ध कालमा सामन्तहरुले लगाउने भन्दै दुत्कार्ने उनी आज संसदीय राजनीतिमा अवतरण भएसँगै तेस्रो पटक प्रधानमन्त्री बन्दा उनमा दौरा सुरुवाल मोह बढेको छ।

यस पटक प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएर शपथ लिएका थिए। गत पुष १० गते प्रधानमन्त्री नियुक्त भएका उनले ११ गते शपथ ग्रहणका दिन लगाएको दौरा सुरुवाल आजपर्यन्त सार्वजनिक कार्यक्रममा त्यही पोशाकमा उपस्थिति जनाउँछन्।

नेपालको समकालीन कम्युनिष्ट नेताहरुमध्ये बहालवाला प्रधानमन्त्री प्रचण्डको राजनीतिक पृष्ठभूमि फरक छ। उनी हार्डलाइनर कम्युनिष्ट आन्दोलनमा नेतृत्वदायी रुपमा सहभागी हुँदै शान्तिपूर्ण राजनीतिमा अवतरित भएका हुन्।

२०२८ सालमा विभिन्न घटकमा विभाजित कम्युनिष्ट पार्टीमध्ये तत्कालीन पुष्पलाल समूहबाट राजनीतिक यात्रा थालनी गरेका प्रधानमन्त्री प्रचण्डले रुपलाल विश्वकर्मा मार्फत २०३५ सालमा पार्टी सदस्यता लिएका थिए।

पुष्पलाल समूहबाट राजनीति सुरु गरेका उनी त्यस यता छोटो समयमै २०४५ सालमा नेकपा(मशाल) नामक पार्टीको महामन्त्री भएका थिए। उनै प्रचण्ड अनेकौं चुनौतीपूर्ण राजनीतिक आरोह अवरोहको पार गर्दै अहिले देशको तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन्। र पार्टी अध्यक्ष पनि आजीवन जस्तै बनेका छन्।

उनको हालसम्मको राजनीतिक यात्रा केही समय कष्टप्रद र बाँकी छलाङ्मय देखिन्छ। २०५२ सालदेखि जनयुद्ध सुरु गरेका उनी त्यस अवधिमा राज्यको चौतर्फी निसानामा थिए। उनलाई राज्यले आतंककारी घोषणा गरेको थियो र उनको टाउकाको मोलसमेत तोकिएको थियो। तसर्थ त्यो समय उनका लागि कष्टप्रद समयका रुपमा लिन सकिन्छ ।

यद्यपि उनको छलाङमय राजनीतिकोृ उदय समेत त्यही दशबर्षे जनयुद्धकै उपज हो। जनयुद्ध सुरु गर्नु अगावै उनको तत्कालीन पार्टी नेकपा(एकताकेन्द्र)को चुनावी मोर्चाको संसदीय हैसियत तेस्रो पार्टीको रुपमा संसदमै थियो।

उनी संसदीय राजनीतिमा कुनै भविष्य नदेखेरै जनयुद्धमा होमिए। त्यसको नेतृत्व गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरित भएको पनि १७ वर्ष पुगिसकेको छ।

पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२० सिट र समानुपातिक तर्फ १०० गरि २२० सिटसहित संसदको पहिलो शक्ति बनेको माओवादी अहिले खुम्चिएर ३२ सिटमा पुगेको छ। तैपनि अहिले उनी देशको कार्यकारी प्रधानमन्त्री पदमा विराजमान छन्।

देशलाई कायापलट गर्ने लक्ष्यका साथ सुरु गरिएको जनयुद्धमा सहभागी सहयात्रीहरु छिन्निभिन्न भएजस्तै उनको जीवनमा पनि निकै उलटफेर आएको छ।

आफ्नै नेतृत्वमा बदल्न हिँडेको व्यवस्थामा आफैं बदलिएर आउनुपर्दा निश्चय पनि असहज लाग्नु स्वाभाविकै हो। उनी त्यसैको ह्याङओभर व्याप्त रहेको कहिलेकाही व्यवहारमा दर्शाउन समेत पछि पर्दैनन्।

त्यसकै उपज जनयुद्धमा जस्तै अहिले भ्रष्टाचार विरुद्धको जोखिमपूर्ण यात्रामा निस्केको बताउँछन्। भने कहिले कहाँ आइयो भन्दै अन्यौलता दर्शाउँदै संसदीय व्यवस्थामा विश्वास नभएको अभिव्यक्ति दिन्छन्।

बेलाबखतमा जनयुद्धको स्मरण गर्छन्। तर,जनयुद्धको उदेश्य र वर्तमान राजनीतिको तादाम्यता उनको जीवनमा मिलेको जस्तो देखिँदैन। त्यसैका बाछिटाहरु समयानुकुल द्वैध चरित्रमार्फत प्रकट भैरहेका हुन्छन्।

अन्ततः संसदीय पुराना पार्टीहरुसँग प्रधानमन्त्री बन्न लालायित हुँदै अनुनय विनय गर्न पछि पर्दैनन्। यी र यस्ता बहुरंगी चरित्रले नेपालको राजनीति उनीबाट आजित भइसकेको छ। उनको वास्तविकता बारे नेपालीजन जानकार छन्। सोही कारणले उनको जनमत घट्दो क्रममा रहेको चुनावी परिणामले देखाउँछ।

जनयुद्धमा सांस्कृतिक रुपान्तरणका नाममा गरिएको हिन्दु धर्मप्रतिको आक्रमण अहिले आएर भैँसी पूजा हुँदै गेरुवस्त्रधारण गरेर प्रायश्चित गर्ने ध्याउन्नमा लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *