जँड्याहा समाज र कर्कसा नर्स
‘कति नमिठो नर्सको बोली’, ‘कति चढेकी नर्स’
‘साह्रै छुची नर्स…’ आदि इत्यादि नर्सहरुले दिनहुँ जस्तो पाएको उपमा हुन्। अझ अहिले नर्सहरु सँजालको लत र अभियन्ताको मातमा बदनाम भएका छन्। सामाजिक सँजालको बढ्दो लोकप्रियताले यथार्थ धरातलमा खटेर काम गर्नेहरुको कदम डगमगाएको छ। मनोवल गिराएको छ।
नेपाल र अमेरिका गरि २५ वर्ष नर्सिङ सेवामा समर्पित छु। एक नर्स भएको नाताले लान्छनाहरु म स्वीकार्छु। सही छन् यी आरोपहरु किनकि म यस्तै छु। जति नै आफूलाई नियन्त्रण गर्छु भने पनि झर्की हाल्छु। बोलीमा अमृत घोल्न सक्दिन। लाग्छ, म भित्र अमृत नै छैन। मेरा सारा मिठास यही पेशाले चुसेको छ। अभाव र दवावले थिचेर मलाई तितो बनाएको छ। अर्कोतर्फ सँजालमा चर्चित हुन गरिने ‘अभियानकर्ताहरु’को अभियानकाे शिकार समाज बनेको छ। हो, जँड्याहा संस्कारले मलाई कर्कसा बनाएको छ। मेरो बोली परिवर्तन भएको छ।
आज रुखो नर्स भनेर चिनिएकी म जब यो पेशामा लागेककी थिएँ धेरै रसिली फरासिली थिएँ। मेरो बोलीले नै कति विरामीको अधारमा मुस्कान फुलाउँथ्यो। फ्लोरेन्सको बत्ती जस्तै थिएँ। जता झुल्किन्थें त्यतै उज्यालो दिन्थें। मेरो सपना पनि यही थियो।
बाल्यकाल देखि नै अस्पतालमा सेतो पहिरनमा कालो फित्ता भएको टोपी लाएका नर्सहरु देख्दा दन्त्यकथाहरुमा पढेको ‘एन्जल’ यिनीहरु नै हुनपर्छ जस्तो लागेको थियो। त्यसैले त नर्स बन्ने सपना देखेकी थिएँ।
यदाकदा नर्सहरुप्रति गरिने बाद्धाैकि अविश्वास एवं अवहेलना देख्न र भोग्न परे पनि विस्तारै समाजले चिन्दै जानेछ भन्ने विश्वाससहित नर्सिङ सेवा सुरु गरें। स्वभावैले अलि लजालु, दयालु र कम बाेल्ने मानिस विस्तारै बोल्दै जान थालें।
आफूलाइ सम्पूर्णरुपमा सही पेशामा समर्पित गरेँ भलै ‘छोरी बिग्रिए नर्स’ भने पनि एसएलसीको राम्राे अंक र प्रवेश परीक्षमामा पास भएपछि मात्र नर्सिङ संकायमा भर्ना मिल्ने यथार्थ जानेपछि सामाजिकरुपमा नर्सिङ पेशालाई नबुझिकनै हेपिएको रहेछ भन्ने यथार्थ जानेपछि झन् आफ्नो सपनालाई धन्य ठानस् मानव सेवामा लागें।
२ जना नर्स ४०/५० जना विरामी, औषधि र खाना आन्तरिक रुपमा उपलब्ध नहुँदा विरामी कुरुवा एवं आफन्तमा भर पर्नु पर्ने हुनाले विरामीको औषधि कहिले पनि समयमा दिन पाइँदैन।
त्यस माथि पनि विरामीको वेडमा तन्ना छैन-नर्स, ट्वाइल्ट सफा छैन-नर्स, डाक्टरको राउन्ड आयौ- नर्स, भुइँ सफा भएको छैन-नर्स, औषधि किनेर ल्याउ- नर्स! नर्स!!नर्स!! यता नर्स उता नर्स….१ जना नर्स!
विरामीको सेवा दिने कि हाउस किपिङ, फार्मेसी, डाइडिसियन, मेडिकल, जैनेटरी कसकाे कसकाे काम गर्ने? त्यो माथि आफ्ना विरामीहरुको सेवा एवं कुरुवाको जिज्ञीसा त सिंगै बाँकी हुन्छ।
के एक अभियन्ता भनेर चिनिएकी मान्छेले नर्सको पोशाकमा रहेकी ड्यूटीवाल नर्ससँग बोल्ने व्यवहार त्यही हो? तलव लिएर जागिर खान बसेको भनेको जो सुकै पनि आएर हकार्ने थर्काउने पारामा बोल्न मिल्छ? एक अभियन्ताले यथार्थ बुझेर बोल्ने कि? भिड जम्मा गरेर काम बिथोल्ने?
यी कामहरु नर्सको काम होइन तर पनि कसो कसो यस्ता कार्यभार नर्समा नै आइपुग्छ। नाइ भन्न नसकेर कहिले गरिन्छ, कहिले प्रतिबाद गरिन्छ त कहिले वास्ता गर्ने समय पनि हुन्न। तथापी औषधि, वेडिङ, खाना, सरसफाइ जस्ता कुराहरुले नर्सको कामको गतिलाई प्रत्यक्ष्य असर पारी राखेको हुन्छ। नर्सलाई यस्ता गैरनर्सिङ काममा अल्झिँदा र आफ्नो नर्सङ काम पछाडि पर्दा अनावश्यक दवाव महशुस हुन्छ। चिड्चिडाहट बाेलीमा मिसिएर आउँछ।
जसरी मानव जीवन अनिश्चित छ त्यसै गरि रोग र बिमार पनि कति बेला लाग्छ र कति बेला स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मी चाहिन्छ केही थाहा हुन्न। अस्पतालमा २४ घन्टा बस्ने कर्मचारी मध्येमा नर्सको जमात सबै भन्दा धेरै हुन्छ। डाक्टरलाई भगवान बनाउनमा नर्सको ॲँखा र कानको ठूलो महत्व हुन्छ भन्ने कुरा सायद समाजलाई थाहा होला नहोला ।
तर बिरामीमा आएको परिवर्तन, रेडफ्ल्याग, आकस्मिक चीन्ह र लक्षणहरु एवं अन्य सूचकहरु पहिला देख्ने र ‘क्रिटिकल एनालाइसिस’ गरेर याक्सन लिने नर्सहरु नै हुन्छन्। नर्सहरुले सही समयमा सही कदम लिएनन् भने डाक्टररुपी भगवानले विरामी बचाउन सक्दैन। सबै भन्दिन तर केही वरिष्ठ डाक्टरहरुलाई बिरामीको फ्लोरमा ल्याउन र तत्काल उपलब्ध गराउन प्रलय नै हुने कुरा विरामीहरु एवं कुरुवाले देखेका हुँदैनन्।
कति डाक्टरहरुसँग विरामीको बारेमा रिपोर्ट गर्दा या आकस्मिक कल गर्दा खप्की खाने कुरा सामान्य लाग्छ एक नर्सलाई उसकाे बिरामी बचाउनको लागि। तर धन्यवादको पात्र कहिले पनि नर्सहरु हुँदैनन्। नर्सको सबै भन्दा प्रिय र नजिकको मान्छे विरामीनै हुन् भन्ने भाव आएको हुन्छ।
चाडबाड दिन रात नभनि काम गर्नु पर्ने हुनाले सुत्ने, खाने, चाजपर्व मनाउने जस्ता सामान्य दैनिकी डामाडोल भएको हुन्छ। आफू जागा बसेर विरामीलाई पूरा ८ घण्टा सुत्न पर्छ भनेर सुत्न लगाउँछन् नर्सहरु। एउटालाई दुखेको छ भने अर्को बिरामी उठ्ला भनेर पाइला दवाएर विरामी भए ठाउं पुगि साउतीमा सोधेर औषधि दिन्छौं।
त्यस्तै चाडबाडमा विदा नपाउनुले घरपरीवारको चित्त बुझाउन समेत गाह्राे हुन्छ। सामाजिक एवं पार्वारिक जीवनमा सन्तुलन राख्न नर्सहरुलाई कठिन हुन्छ। आफ्नो रमाइलो र रसरङ त परैको कुरा हो। कतिपय अवस्थामा परिवारका सदस्यनै विरामी हुँदा पनि कामप्रतिको बचनबद्धता र जिम्मेवारी निभाउनको लागि आफ्नालाई छोडेर विरामीको सेवा गर्न पुग्न पर्छ।
घरको एक जना विरामीलाई स्याहारेर बस्छु भन्यो भने अस्पतालमा ३०/४० जना अलपत्र पर्ने अथवा आफ्ना सहकर्मीहरु ‘डवल ड्युटी’ मा पर्ने डरले पनि काममा हिंड्न पर्ने अवस्था हुन्छ।
कति निष्ठुरी भन्ने घरपरिवारलाई पनि लाग्दो हो! तर पनि पारिवारिक दायित्वलाई धकालेर पेशागत दायित्व पूरा गर्न हिँड्नु पर्छ। विरामीको सेवा गर्दा आफ्ना परिवारको विरामी स्याहार्न नसकेको मनको गरुंगोपन विरामीको मुस्कान देखेपछि हलुगो हुन्छ। यसरी नै दत्तचित्त भएर काम गरिन्छ।
समयमा खाने, दिसा पिसाव गर्न पाउने, निन्द्रा पुगुन्जेल सुत्न पाउने भन्ने कुरा नर्सिङ पेशामा लागेका मानेछेलाई अति नै दुर्लभ कुरा हो। खाना खाने समय तोकिएको भए पनि कहिले पनि त्यो सबै समय उपभोग गर्न पाएका हुँदैनौ।
खाँदैको भाग छोडेर दैडिनपर्छ।खालिपेट भएर पनि विरामीलाई खुवाउन गइन्छ। आफ्नो मलमुत्र समयमा विसर्जन गर्न समय नभए पनि विरामीले दिशा पिसाब गरे नगरेको रेकर्ड गरिन्छ। सफा गरिन्छ।
धेरै नर्सहरु ड्यूटीमा हुँदा पानी कम र पिसाव समयमा नगर्दा ‘युटिआइ’ ‘ डिहाइड्रेसन’ ‘ लोसुगर’ हुने गरेको कुरा स्वास्थ्यकर्मी बाहेक अरुलाई त्यति थाहा पनि हुँदैन। यही त पेशा हो, सेवा हो। त्यही गर्न नर्स बनेका हुन्। त्यही काम गरेको तलब पाउँछन्? हो यो कुरा साँचो हो तर लिनु पर्ने समय र बेलामा नै ‘ब्रेक’ लिने हो भने अहिले काम गरिरहेको संख्यामा दोब्बर नर्स चाहिन्छ, यही स्तरको सेवा प्रदान गर्न।
७० वर्षीया महिला दिमागमा पानी जमेर ( हाइड्रोसेफालस) हिजो मात्र भर्ना भएकी बिरामीलाई अहिले अपरेसन गरिहाल्न पर्ने अवस्था छैन, केही दिनमा आउनु भनेर डिस्चार्ज अर्डर गरिएको थियो। एक अनुभवी नर्सको आँखाले विरामी डिस्चार्ज भएर गइ हाल्ने अवस्थाकाे लाग्दै लागेन।
डिस्चार्ज गरेर पठाउन नै सकिन। हुन त नर्सको काम याे बिरामी डिस्चार्ज नगर भन्ने हाेइन। तर आफ्नो अन्तस्करणले केही कुरा ठिक छैन भन्ने जानेपछि चुप लागेर पनि बस्न सकिन।
न्युरो सर्जन र अन्य डाक्टरहरुसँग आफ्नो कुरा राखें। सुपरभाइजरदेखि डिपार्टमेन्ट डाइरेक्टरसँगसम्म पहल गरी डिस्चार्ज रोकेर भोलि नै अपरेसन गर्ने व्यवस्था मिलाएँ। युनिट सुपरभाइजरले ‘गुड जव फर एडभेकेटिङ योर पेसेन्ट’ भनिन्। यो एक दिनको एक उदाहरण मात्र हो।
आफ्नो कामलाई बढाइ चढाइ गरेको होइन तर ‘सँजाले समाज सेवा’ भन्दा यथार्थको मानव सेवा हो भन्न हिच्किचाउँछन्। यस्तो घटनाहरु हरेक दिन नर्सहरुले गरिराखेका हुन्छौं। कतिपय यस्ता सेवा पहल हुन्छन् जुन नर्सहरुले आफ्नो ड्युटीले तोके भन्दा पनि माथि मानविय कार्य गरिरहेका हुन्छौं जुन न विरामीले थाहा पाउँछ न त परिवारलाइ नै भनिन्छ।
म आफू पनि आफूले वाहवाह पाउन भन्दा पनि विरामीको सही सेवा पावस् भन्ने ध्याउन्न हुन्छ र हजार ‘भेंडे फलोवर’ भन्दा आफ्नो सेवाले विरामीको अनुहारमा आएको एक मुस्कानले दिने आत्मसन्तुष्टी धेरै हुन्छ। लाग्छ याे हो मानव सेवा…!
हालसालै भरतपुर अस्पतालमा नर्सहरु माथि लागेको ‘संजालले भाइरस संक्रमणको’ गहिरो अध्ययन गरिराखेकी छु। बर्षौं सतिशाल जस्तो अटल रहेर स्वाश्थ्य सेवा दिइरहेका नर्सहरुको आँखाको आँशुमा मेरो आँशु पनि मिसिएको थियो।
त्यो नुनिलो आँशुले मुटु चह्रयाएको थियो। त्यो कर्कस आवाजमा मेरो आवाज मिसिएको थियो। धेरै चोटि हेरें त्यो भिडियो, जसमा नर्सको बोली र औषधि दिने समयलाई मुद्दा बनाएर अस्पतालमा भिडियो लाइभ गरिएको थियो। स्वाश्थ्य संस्था भित्र भिडियो खिच्ने अनुमति, अरु विरामीहरुको गोपनियता भंग, स्वयं ती ‘नानु’ को व्यक्तिगत कथाको वेचविखन अमेरिकि कानुन अनुसार जघन्य अपराध हुन्छन्।
त्यो विषयमा यो कलम चलेको होइन। ती ‘कर्कस नर्स’ लाई सोध्ने संजालले देवीरुपी बाेली कति मधुर रहेछ भनेर धेरै चोटी सुनें त्यो बाेली त ‘कर्कसा’ नर्सको भन्दा पनि कर्कस थियो।
के एक अभियन्ता भनेर चिनिएकी मान्छेले नर्सको पोशाकमा रहेकी ड्यूटीवाल नर्ससँग बोल्ने व्यवहार त्यही हो? तलव लिएर जागिर खान बसेको भनेको जो सुकै पनि आएर हकार्ने थर्काउने पारामा बोल्न मिल्छ? एक अभियन्ताले यथार्थ बुझेर बोल्ने कि? भिड जम्मा गरेर काम बिथोल्ने?
अरुलाई जस्तो व्यबहार गरिन्छ, आफूले त्यस्तै पाइन्छ। अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनको मापदण्ड अनुसार १ नर्सले ४/५ जना विरामीको सेवा गर्न सक्छन्। सो भिडिययोमा १ नर्सले कति जनाको सेवा गरेका छन् आफैं हेर्न सकिन्छ।
नर्सले भ्याइ नभ्याइ काम गरिराखेको देख्दा संवेदनशील ठाउँमा सौहार्द भएर बस्ने कि कर्मचारीको मनोबल गिराउने? वहाँले त सम्यम भएर ‘हिजो जति बेला भनेको छ, त्यति वेला आउने” भनेर। त्यही व्यवहार अन्य विकसित मुलुकमा भएको भए त्यहाँका नर्सले तुरुन्त सेक्युरिटी बोलाएर पुलिसको जिम्मा लाउन सक्छन्।
धेरै संजालभक्तले १ जना नर्सले ४ जना विरामी हेर्न मुलुकहरुको उदाहरण दिँदै १ जना नर्सले २०/३० जना विरामीको सेवा गर्ने नर्सहरुको खिल्ली उडाएको देख्दा यो उदाहरण दिएकी हुँ।
यदि नेपालमा पनि WHO के मापदण्ड अनुसारको नर्स र विरामीको अनुपात एवं आवश्यक औजार जुटाएको खण्डमा पनि यस्तै कर्कस स्वर र समयको गडबडी भयो भने मात्र टिकटकको भाइरसको महत्व होला नत्र यो ‘भ्युज’ र ‘अभियान’ को मात लागेको जँड्याहा व्यबहार देखाएर कर्तव्यनिष्ठ नर्सहरुलाई नविथोल्न अनुरोध छ।
कोरोनाको भाइरसबाट समाजलाई बचाएका नर्सहरु सामाजिक संजालको भाइरसबाट ग्रस्त हुन नपरोस्। गिनिभा म्याडमको समाज सेवा अभियान नर्स र बिरामीको मापदण्ड बमोजिमको रेसियो मिलोस् भन्नेमा केन्द्रित होस् भन्ने कामना..हामी बाँच्ने संसारलाई संजालमा रुपान्तरित गरेर कसकाे पो भलाइ होला?
लेख उम्दा छ सामाजिक यथार्थपरक बिश्लेशण लाग्यो !
लेखिकाको मानविय अनी पेशागत दाइत्व निर्बाह लाई नमन छ !
Keep up the good work?