के पाकिस्तानको सेनाले बिलावल भुट्टोलाई अबको प्रधानमन्त्री बनाउन चाहन्छ ?

डिसी नेपाल
२१ जेठ २०८० १६:४०

काठमाडौं । पाकिस्तानमा राजनीतिक अस्थिरता चरम सीमामा छ । पूर्वप्रधानमन्त्री इमरान खान र सेनाबीच चलिरहेको लडाइको बीचमा धेरै ठूला नेताहरूले खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को साथ छोडेका छन्। इमरान खानको डुब्न लागेको राजनीतिक करियरको बीचमा, पाकिस्तानमा विदेश मन्त्री बिलावल भुट्टो जरदारी सेनाका जनरलहरूसँगको घनिष्टताका कारण बलियो प्रधानमन्त्रीको उम्मेदवारको रूपमा देखा पर्न सक्ने चर्चा छ।

मे ९ मा इमरान खानको गिरफ्तारीलाई लिएर इस्लामावादको अदालतबाहिर ठूलो हंगामा भएको थियो । खानको गिरफ्तारीपछि देशभर हिंसात्मक प्रदर्शनहरू भए र सरकारी भवनहरूमा क्षति पुगेको थियो। यसपछि पाकिस्तान सरकारले पीटीआई समर्थकहरु विरुद्ध कडा कारबाही सुरु गरेको छ । पाकिस्तानी सेनाको दबाबमा पीटीआईका वरिष्ठ नेता शिरिन मजारी, फवाद चौधरी, अमिर महमूद कियानी, अली जैदी, मलिका बोखारी आदि दर्जनौंले पार्टी छाडेका छन्।

पीटीआई छोडेर सबै नेता बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मा सामेल हुन सक्ने बताइएको छ । विश्लेषकहरू भन्छन् कि पीटीआई छोडेका नेताहरूले आफ्नो निर्वाचन क्षेत्रको भोट बैंकमा पकड राखेका छन्। यी नेताहरूको सहयोगमा पीपीपी आफ्नो गढ रहेको सिन्ध प्रान्तबाट बाहिर निस्केर पञ्जाबमा पनि आफ्नो प्रभाव बढाउन चाहन्छ। २६२ नेशनल एसेम्बली सीट भएको पञ्जाबले पाकिस्तानको राजनीतिमा धेरै महत्त्वपूर्ण स्थान ओगटेको छ।

यस मार्फत पीपीपी र उसका सहयोगीहरूले सिन्ध र बलुचिस्तानमा ब्लक बनाउन खोजिरहेका छन्, ताकि उनीहरूले अक्टोबरमा हुने राष्ट्रिय सभाको चुनावमा फाइदा लिन सकून्। इस्लामाबादस्थित राजनीतिक विश्लेषक र राज्य प्रसारक रेडियो पाकिस्तानका पूर्व महानिर्देशक मुर्तजा सोलांगीले पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले गठबन्धन सरकारको नेतृत्व गर्न सक्ने बताएका छन्। उनले भने, ‘आगामी चुनावपछि बिलावल भुट्टोले कमजोर गठबन्धन सरकारको नेतृत्व गर्नेछन् भन्ने कुरालाई म नकार्न सक्दिन।’

त्यसैगरी, उनी भन्छन् कि यसको सम्भावना कम छ किनभने यसका लागि पीटीआईबाट डिफेक्टरहरू ल्याउनुपर्नेछ त्यसपछि चुनावको नतिजा के हुन्छ त्यो पनि हेर्नु पर्छ र त्यसपछि बिलावलले गठबन्धन बनाउनुपर्नेछ। २०२२ को अप्रिलमा परराष्ट्रमन्त्री भएदेखि नै बिलावल भुट्टोको प्रधानमन्त्री बन्ने अनुमान पनि बलियो छ । वासिङ्टनस्थित थिंक ट्याङ्क विल्सन सेन्टरका दक्षिण एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलम्यानले बिलावल पहिले कुनै उच्च सरकारी पदमा नरहेको र सन् २०१८ मा अचानक राष्ट्रिय सभामा निर्वाचित भएको बताउँछन्।

उनी भन्छन्, ‘सेनाको आशीर्वादबिना बिलावल परराष्ट्रमन्त्रीजस्तो उच्च पदमा पुग्न सक्ने थिएनन् । उनी सेनामा राम्रो पकड रहेको पार्टीबाट आएका हुन् भन्ने तथ्य हो ।’ कुगेलम्यान भन्छन् कि हालै पाकिस्तानको गुप्तचर एजेन्सीहरूले रेकर्ड गरेको कल रेकर्डिङ लीकले धेरै वरिष्ठ नेताहरूलाई निशाना बनाएको छ। विपक्षी मात्र होइन, प्रधानमन्त्री शाहबाज सरिफको पार्टीका नेताहरूलाई पनि निशाना बनाइयो तर बिलावल भुट्टोको पार्टीका कुनै पनि नेतालाई निशाना बनाइएको छैन ।

बिलावल भुट्टोले विदेशमन्त्री भएदेखि नै आफूलाई पाकिस्तान र विदेशमा पनि प्रमाणित गरेको मुर्तजी सोलाङ्गी बताउँछन् । उनी भन्छन्, ‘यसले बिलावल भुट्टोलाई राजनीतिको चालहरू छिट्टै सिक्न सजिलो भएको छ र यो उनको लागि धेरै फाइदाजनक छ।’ पाकिस्तानका ३४ वर्षीय विदेशमन्त्री विगत एक वर्षदेखि चर्चामा छन् । डिसेम्बरमा, उनले गत गर्मीको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि विश्वसँग आर्थिक सहयोग मागेका थिए।

बिलावल मे ४ देखि ५ सम्म भारतमा भएको सांघाई सहयोग संगठनको बैठकमा सहभागी भएका थिए । यहाँ आएर उनले कश्मीरमा भएको जी–२० बैठकबारे भारतको आलोचना गरे । उनले भारतलाई धम्की दिने स्वरमा भनेका छन्, ‘समय आएपछि यस्तो जवाफ दिनेछु कि भारतले पछिसम्म सम्झिनेछ ।’ उनको यो भनाइको पाकिस्तानमा निकै चर्चा भएको थियो । सामाजिक सञ्जालमा धेरै पाकिस्तानी प्रयोगकर्ताहरूले बिलावललाई भावी प्रधानमन्त्री भनेका छन्।

मे २२-२४ को बीच कश्मीरमा जी-२० पर्यटन कार्य समूहको बैठक चलिरहेको बेला बिलावलले पाकिस्तान प्रशासित कश्मीरमा भनेका थिए कि साउदी, टर्की, चीन जस्ता देशहरूले बैठकमा भाग लिएनन् र भारत आफ्नो उद्देश्यमा असफल भएको छ। उनले आफू कश्मीरका जनताको साथमा रहेको बताए । यसपछि पनि बिलावलको धेरै प्रशंसा भयो । तर माइकल कुलेगम्यान भन्छन् कि बिलावलले विदेशमा राम्रोसँग पाकिस्तानको प्रतिनिधित्व गरे तर उनी पाकिस्तान फर्किएपछि आफ्ना आलोचकहरूलाई चुप लगाउन असफल भए।

बिलावल दुई पटकका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीका छोरा र १९७० को दशकका प्रधानमन्त्री जुल्फिकार अली भुट्टोका नाति हुन्। कुगेलम्यान भन्छन् कि उनको पारिवारिक इतिहास यस्तो छ कि उनी वंश र भ्रष्ट राजनीतिको पर्यायवाची बनेका छन्। यो बिलावलप्रति धेरै पाकिस्तानीहरूको असन्तुष्टिको कारण हो। पाकिस्तानको वर्तमान अवस्थालाई हेर्दा भुट्टोले एकैचोटि प्रशंसा र असन्तुष्टि दुवैको सामना गर्नु पर्ने स्वभाविक हो । कुगेलम्यान भन्छन् कि बिलावल भुट्टोले आफ्नो कामले अधिकांश पाकिस्तानी जनताको मन जित्न नसके पनि राजनीतिमा उनी निकै बलियो स्थितिमा छन्।

उनी भन्छन्, ‘बिलावल युवा र अनुभवहीन छन् र पाकिस्तानको ठूलो जनसंख्या उनको आलोचना गर्दछ। तर सत्तारुढ गठबन्धनमा उनको स्थिति निकै राम्रो रहेको स्पष्ट छ । अझ महत्त्वपूर्ण कुरा, उनी शीर्ष सैन्य नेतृत्वमा राम्रो स्थितिको आनन्द लिन्छन्। पाकिस्तानको इतिहासमा कहिल्यै युवा प्रधानमन्त्री नभएको तथ्यको बाबजुद पनि अन्तर्राष्ट्रिय समुदायका धेरैले सेनाले बिलावल भुट्टोलाई प्रधानमन्त्री पदको उम्मेदवारको रूपमा हेरेको धारणा राखेका छन्।’

पाकिस्तानको सेनाले शरीफ र जरदारी परिवार दुवैलाई मन नपराउने र भ्रष्टाचारका सम्बन्धमा दुवै राजनीतिक परिवारविरुद्ध बोलेको भए पनि बिलावल भुट्टो सेनाको रोजाइ बनेका छन्। बिलावल भुट्टोले आफूलाई पाकिस्तानी देशभक्तको रूपमा प्रस्तुत गरिरहेका छन् जो भारत विरोधी छन् र पाकिस्तानी सेनालाई त्यस्तो नेता चाहिन्छ। बिलावलले कश्मीरको मुद्दामा भारतविरुद्ध प्रायः अपप्रचार गर्छन्। हालै उनले पाकिस्तान कश्मीरीहरुको आत्मनिर्णयको अधिकारलाई समर्थन गर्ने र उनीहरुको समर्थनमा सधै उभिने बताएका थिए ।

उनी भारतीय प्रधानमन्त्री मोदीमाथि पनि आक्रामक बनेका छन् । गत वर्ष बिलावलले प्रधानमन्त्री मोदीलाई ‘गुजरातको कसाई’ भनेका थिए, जसको भारतले कडा विरोध गरेको थियो। पाकिस्तानी सेनालाई बिलावलको यो भारत विरोधी अडान निकै मन परेको छ । शाहबाज सरिफको पार्टी मुस्लिम लिग नवाजलाई पाकिस्तानमा भारतसँग सम्बन्ध सुधार्ने प्रयास गर्ने पार्टीको रूपमा चिनिन्छ। शाहबाज शरीफका दाजु नवाज शरीफ प्रधानमन्त्रीको कार्यकालमा मोदीसँग घनिष्ठ सम्बन्धका लागि परिचित छन्।

नवाजसँगको निकटताका कारण प्रधानमन्त्री मोदी सन् २०१५ को डिसेम्बरमा अचानक पाकिस्तान पुगेका थिए । यसै क्रममा प्रधानमन्त्री मोदीले नवाज शरीफलाई गुलाबी रंगको पगडी उपहार दिएका थिए । शहबाज सरिफले पनि भारतसँगको सम्बन्ध सुधारको वकालत गर्दै आएका छन् । यस वर्षको सुरुमा शहबाज सरिफले युएईको न्यूज च्यानल अल-अरेबियालाई दिएको अन्तर्वार्तामा भनेका थिए कि प्रधानमन्त्री मोदीलाई मेरो सन्देश छ कि हामी वार्ताको टेबलमा बसौं र कश्मीर जस्ता ज्वलन्त मुद्दाहरू समाधान गर्न गम्भीर र इमानदार प्रयास गरौं।

तर, उनको बयानको केही घण्टामै पाकिस्तान पछि हट्यो । पाकिस्तानी प्रधानमन्त्री कार्यालयको तर्फबाट शहबाज शरीफको बयानमा स्पष्टीकरण जारी गरिएको थियो, जसमा भारतले कश्मीरमा अनुच्छेद ३७० बहाल गरेपछि मात्रै भारतसँग वार्ता हुनसक्ने उल्लेख गरिएको थियो। सेनाको दबाबमा शाहबाज सरिफको बयानमा स्पष्टीकरण जारी गरिएको मानिन्छ ।

पाकिस्तानमा पनि शाहबाज सरिफको लोकप्रियता घट्दै गएको छ । पाकिस्तानका जनता उच्च मुद्रास्फीति र बेरोजगारीबाट त्रसित छन्। शाहबाज सरिफको सरकार मुद्रास्फीति घटाउन असफल भएको छ । विदेशी मुद्रा अभावका कारण पाकिस्तान डिफल्ट हुने अवस्थामा पुगेको छ तर बेलआउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग कुनै सम्झौता हुन सकेको छैन ।

शाहबाज सरिफको सरकारले आईएमएफसँग करिब ७ अर्ब डलरको बेलआउट प्याकेजका लागि लामो समयदेखि कुरा गरिरहेको छ तर दुई पक्षबीच कुनै सम्झौता हुन सकेको छैन। पाकिस्तानको चौतर्फी दुर्दशाबाट पाकिस्तानी जनता चिन्तित छन् र त्यसका लागि पाकिस्तान सरकारलाई जिम्मेवार ठान्छन् ।

भारतप्रति नरम दृष्टिकोण राख्न र देशको व्यवस्थापन गर्न असफल भएका शहबाज शरीफलाई सत्ताबाट हटाउन पाकिस्तानी सेनाका लागि धेरै गाह्रो काम होइन। नवाज सरिफलाई भारतसँगको सुरक्षा नीति र सम्बन्धका कारण सेनाले पदबाट हटाएको थियो । पाकिस्तानी सेनाले पूर्व सेना प्रमुख जनरल परवेज मुशर्रफलाई जेल हाल्ने नवाजको प्रयासलाई बिर्सेको छैन।

यसको मतलब सेनालाई देशको नेतृत्व गर्न नयाँ अनुहार चाहिन्छ। सेनासँग नजिक रहेका बिलावल शहबाज शरीफको सबैभन्दा राम्रो विकल्प हुन्, जसलाई सेना पाकिस्तानको अर्को प्रधानमन्त्री बनाउन चाहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *