जनप्रतिनिधि नै घरेलु हिंसामा संग्लन

डिसी नेपाल
२१ जेठ २०८० २२:१५

महोत्तरी। घरेलु हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि नै हिंसाको पीडक बने भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो घटनाको प्रमाण आफैँ बनेका छन् ।

आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडा अध्यक्ष गणेशप्रसाद महतोले दिने गरेको पीडा सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो ।

१८ वर्षीय छोरी अल्पना कुमारी महतोले आमा ललिता देवीलाई दिएको दुःखको विषयमा बुबालाई सम्झाउँदा उल्टै कुटपिट गर्ने गरेको बताएकी छन् ।

‘बुवाको मोबाइलमा अस्वभाविक हर्कतको विषयमा थाहा पाएपछि सोधेँ, बुवाले उल्टै कुटपिट गर्नुभयो,’ छोरी अल्पनाले भनिन्, ‘घरमा खाना खान कम आउने, मम्मीको कोठामा नसुत्ने, काली भइस भन्ने गर्नुहुन्थ्यो ।’

टिकटकमा परस्त्रीसगँ नाच्ने र बुबाको हर्कत शंकास्पद देखिएपछि मम्मी र परिवारका अन्य सदस्यलाई समेत भनेको उनले बताइन‍् ।

गत हप्ता ललिता देविलाई अध्यक्ष महतोले कुटपिट गरेपछि अहिले उनी माइतमा नै बस्दै आएकी भाइ श्यामसुन्दर महतोले बताए ।

अध्यक्ष महतोको अस्वभाविक हर्कतको विषयमा छोरी अल्पनाले टिकटिकमा समेत सहायता मागेकी छन् । आमाका पक्षमा बोल्दा आफूले पनि कुटाइ खानु परेको उनले सुनाइन् ।

अध्यक्ष महतोको घरेलु हिंसाको घटना यो नै पहिलो भने होइन । २०६४ सालमा पनि श्रीमती ललितालाइ निर्घात कुटपिट गरेपछी प्रहरी कार्यालयबाट कागज गरेर मिलापत्र भएको पाइएको छ ।

कागजमा श्रीमती र परिवारका सदस्यलाई कुनै दुःख नदिने प्रतिबद्धता जनाएता पनि पुनः घटना दोहोर्‍याएको स्थानीय बताउँछन् ।

उता महतो भने छोरी र श्रीमतीले आरोप लगाएको जस्तो नभएको दाबी गर्छन् । परिवारका लागि आफ्नो दायीत्व निर्वाह गरिरहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *