बिहारमा पुल भत्किएपछि उद्धार टोलीले कसको खोजी गरिरहेको छ ?
काठमाडौं । बिहारको भागलपुर जिल्लामा आइतबार निर्माणाधीन पुल भत्किएको घटना सार्वजनिक भएको छ । यस दुर्घटनामा एक जना बेपत्ता भएको खबर छ ।
क्षेत्रीय अधिकारी चन्दन कुमारले समाचार एजेन्सी एएनआईलाई भने कि पुल भत्किँदा एक सुरक्षा गार्ड हताहत भएको खबर छ, जसको अनुसन्धान भइरहेको छ।
उनले भने, ‘शव फेला नहुँदासम्म कोही बेपत्ता भएको पुष्टि हुन सक्दैन ।’
उक्त व्यक्ति पुलको १५ नम्बर पिलरमा मोटरसाइकल राखेर १० नम्बर पिलरमा काम गर्न गएको पीडित परिवारको तर्फबाट भनिएको चन्दनकुमारले बताए ।
बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले पनि आइतबार निर्माणाधीन अगुआनी–सुल्तानगञ्ज पुल भत्किएपछि प्रतिक्रिया दिएका छन् ।
उनले पुलको संरचना भत्किएपछि आफुलाई पहिल्यै आशंका गरेको र त्यो सही साबित भएको बताए ।
तेजस्वी यादवले पुल भत्किँदा हुने क्षति राज्य सरकारले नभई निर्माण व्यवसायीले बेहोर्ने बताए ।
स्थानीय प्रशासनका अधिकारी घटनास्थल पुगेका छन् ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले निर्माणाधीन पुल भत्केको विषयमा छानबिन गर्न आदेश दिएका छन् ।
उनले घटनाका दोषी पत्ता लगाउन पनि आग्रह गरेका छन् ।
भागलपुरका डीडीसी कुमार अनुरागले यो दुर्घटनापछि ब्रिज कन्स्ट्रक्सन कर्पोरेशनसँग रिपोर्ट मागेको बताएका छन् ।
सुल्तानगञ्जका विधायक ललितनारायण मण्डलले भने, “यो पुल नोभेम्बर–डिसेम्बरमा उद्घाटन हुने अपेक्षा गरिएको थियो तर जसरी यो पुल भत्कियो त्यो दुर्भाग्यपूर्ण छ । यस विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।”
Facebook Comment