ओडिशा रेल दुर्घटना : तीन दिन बितिसक्दा पनि सयभन्दा धेरै शवको पहिचान हुन सकेन

डिसी नेपाल
२२ जेठ २०८० १७:०४

काठमाडौं । ओडिशाको बालासोरमा शुक्रबार भएको भीषण रेल दुर्घटनामा मारिएका २ सय ७५ जनामध्ये अहिलेसम्म १७० जनाको मात्रै पहिचान भएको छ ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार बालासोरमा ८५ शवको पहिचान भएको छ भने भुवनेश्वरमा ८५ जनाको मात्रै पहिचान भएको छ।

मृतकहरुको पहिचान गरी परिवारलाई बुझाइएको उनले बताए । दुर्घटनामा ज्यान गुमाउने १०५ जनाको अझै सनाखत हुन सकेको छैन ।

आइतबारसम्म ८८ जनाको मात्रै शव पहिचान हुन सकेको थियो । ओडिशा सरकारले मृतकको तस्बिरसहितको सूची तयार गरी तीन सरकारी वेबसाइटमा अपलोड गरेको छ।

सरकारले आवश्यक परे मृतकको डीएनए परीक्षण पनि गर्ने जनाएको छ । पहिचान पछि, ओडिशा सरकारले मृतकका आफन्तहरूलाई आफ्नो इलाकामा लैजान निःशुल्क व्यवस्था गरेको छ। तर, यसअघि शवको पोष्टमार्टम हुनेछ ।

शव पहिचान गरेपछि परिवारका सदस्यलाई क्षतिपूर्ति दाबी गर्न कुनै अप्ठ्यारो नहुने र मृत्यु प्रमाणपत्र पाउने व्यवस्था मिलाइएको मुख्य सचिवले बताए ।

मृतकका आफन्तले भुवनेश्वरमा अन्तिम संस्कार गर्न चाहेमा त्यसको पनि व्यवस्था प्रशासनले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *