अमेरिकाको चिसो पहाडमा बेपत्ता भएकी १० वर्षीया अफगान बालिका फेला परिन्
काठमाडौं । अमेरिकाको सियाटलमा चिसोमा एक्लै रात बिताएपछि बेपत्ता भएकी १० वर्षीया अफगान शरणार्थी बालिकाको उद्धार गरिएको छ ।
आइतबार बालिका परिवारसँग पहाडमा गएकी थिइन्, जहाँ उनी परिवारबाट अलग भइन् ।
बालिकाको खोजीमा वासिङ्टन राज्यको उद्धार टोलीले उद्धार अभियान सुरु गरेपछि उनी फेला परेकी थिइन् ।
अधिकारीहरुका अनुसार ती बालिका तीन डिग्रीसम्मको चिसो मौसममा आफूलाई न्यानो राख्न दुई रुखको बीचमा सुतेकी थिइन् । यी बालिका दुई वर्षअघि मात्र अफगानिस्तानबाट अमेरिका आएकी थिइन् ।
प्रहरी अधिकारीले ती बालिका स्मार्ट र साहसी रहेको बीबीसीलाई बताए। उनको टाउकोमा सामान्य घाउ बाहेक अरु कुनै चोटपटक देखिएको छैन ।
अप्ठ्यारो अवस्थामा खोलाको किनारमा हिँड्नु राम्रो हुन्छ भन्ने थाहा भएकाले बालिका निकै समझदार भएको उनले बताए ।
उक्त दुर्गम क्षेत्रमा बालिकालाई केही व्यक्तिले खोजी गरिरहेको स्थानीयवासीले थाहा पाएपछि आइतबारदेखि बालिकाको खोजी सुरु भएको हो । यस क्षेत्रमा कुनै मोबाइल नेटवर्क कभरेज थिएन। उक्त व्यक्तिले आफ्नो स्याटेलाइट फोन पीडित परिवारलाई प्रयोग गर्न दिएपछि प्रहरीले घटनाबारे जानकारी गरायो ।
उद्धार कार्यमा १०० जनाभन्दा बढीले भाग लिएका छन् । अभियानमा दुईवटा हेलिकप्टर र ग्राउण्ड म्यापिङ प्रविधिको प्रयोग गरिएको थियो ।
सोमबार दिउँसो ३ बजे बालिकालाई दुई खोजी दलले फेला पारेका थिए ।
Facebook Comment