इरानले हाइपरसोनिक ब्यालेस्टिक मिसाइल बनायो
काठमाडौं । इरानले पहिलो हाइपरसोनिक ब्यालेस्टिक मिसाइल निर्माण गरेको दाबी गरेको छ । यो मिसाइललाई फतेह नाम दिइएको छ । इरानको सरकारी मिडिया इर्नाले पनि मंगलबार आफ्ना तस्बिरहरू जारी गरेको छ। यो मिसाइलको दायरा १ हजार ४ सय किलोमिटर रहेको बताइएको छ । इर्नाका अनुसार, यसको गति १५ हजार किमी प्रतिघन्टा छ।
रिभोलुसनरी गार्डले इरानका राष्ट्रपति इब्राहिम रायसीको अगाडि यो मिसाइल प्रस्तुत गरेको थियो । इरानले दाबी गरेको छ कि फतेह मिसाइलले अमेरिकाको सबैभन्दा उन्नत एन्टी ब्यालिस्टिक मिसाइल रक्षा प्रणाली सहित इजरायलको आइरन डोममा आक्रमण गर्न सक्षम छ। अमेरिका र युरोपको विरोधका बाबजुद इरानले आफ्नो मिसाइल कार्यक्रमलाई थप विकास गर्ने बताएको छ ।
पश्चिमी देशका सैन्य विज्ञहरूले इरानले आफ्नो क्षेप्यास्त्रको क्षमतालाई जहिले पनि बढाइचढाइ गर्ने गरेको बताएका थिए । इरानले यसपटक पनि आफ्नो मिसाइलको गुणबारे कुनै प्रमाण पेश गरेको छैन । अघिल्लो वर्ष नोभेम्बरमा इरानको रिभोलुसनरी गार्डका कमाण्डर अमिर अली हाजिजादेहले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेका थिए । हाजिजादेहले आफ्नो मिसाइललाई कसैले रोक्न असम्भव हुने बताएका थिए । यो हरेक विरोधी रक्षा प्रणाली नष्ट गर्न सक्षम छ।
इरानले २५ मेमा २ हजार किलोमिटर मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो । इरानले आफ्नो मिसाइल मध्यपूर्वमा रहेको अमेरिका र इजरायलको बेससम्म पुग्न सक्षम रहेको बताएको थियो । इर्नाका अनुसार यो क्षेप्यास्त्र फारसको खाडीमा गस्ती गरिरहेका युद्धपोत र पनडुब्बीहरूमा तैनाथ गरिएको हो। यो ब्यालेस्टिक मिसाइल अमेरिकाको टमाहक भन्दा बढी प्रहार गर्न सक्षम छ ।
केही दिन अघि समाचार एजेन्सी एपीको एक रिपोर्टमा इरानले आफ्नो आणविक केन्द्रलाई इजरायल र अमेरिकाको आक्रमणबाट जोगाउन सक्दो प्रयास गरिरहेको दाबी गरेको थियो । उसले अहिले पहाडी क्षेत्रमा भूमिगत परमाणु हतियार बनाइरहेको छ। यसको स्याटेलाइट तस्विर पनि सार्वजनिक भएको छ । इरानले आणविक हतियार बनाउनबाट रोक्नको लागि उसको आणविक केन्द्रमा धेरै पटक आक्रमण भएको छ। नतान्ज आणविक साइटमा भाइरस आक्रमण पनि भएको थियो। यो इजरायल र अमेरिकामा बनेको भाइरस थियो।
Facebook Comment