पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिए । मर्दी खोलाको आधार शिविरमा पर्ने ठूलो भीर र कोप्रे भीरमा जेठ २८ र २९ गते दुई दिनसम्म ‘हनि हन्टिङ’ कार्यक्रम गरिने वडाध्यक्ष अधिकारीले बताए ।
जेठ असारमा भीर मौरीको सिकार गर्नु उपयुक्त समय भएकाले पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको वडाध्यक्ष अधिकारीले बताए । यो समयमा ‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको वडाध्यक्ष अधिकारीको भनाइ छ । “जेठ र असारमा काटेको भीर मौरीको सिकार गर्नु अलि बढी खतरा मानिन्छ”, वडा अध्यक्ष अधिकारीले भने, “सुरक्षा चुनौतीको समाना गर्न वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्नसक्छ ।”
स्थानीय मेखबहादुर तामाङका अनुसार ‘हनि हन्टिङ’ मा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ । यो नयाँ पुस्ताका लागि नौलो हुने उनको विश्वास छ । ‘हनि हन्टिङ’ हुने भीर मर्दी हिमाल ट्रेक तथा माछापुच्छे« नमूना पैदल मार्गको सङ्गमस्थल हो । ‘हनि हन्टिङ’ कार्यक्रमले पदयात्रामा जाने पर्यटकका लागि समेत आकर्षण थपिने स्थानीय तामाङले बताए । भीर मौरीको मह काट्नका लागि दिन हेराएर साइत जुराउने प्रचलन रहेको स्थानीय तामाङले जानकारी दिए ।
Facebook Comment