नेपाली मनको धनी छन्ः उपसभामुख राना

डिसी नेपाल
२७ जेठ २०८० २२:३३

काभ्रे (मण्डनदेउपुर)। सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताएकी छन्। भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उनले सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिन् ।

काभ्रेको मण्डन देउपुर नगरपालिका–९ ढाइटारमा सेवक नेपालको सहयोगमा नवनिर्मित बालगृहको उद्घाटन गर्दै उाले सकभर बालबच्चालाई आफ्नै परिवारसँगै राख्न आग्रह गरिन्।

उपसभामुख रानाले आर्थिक सङ्कटका कारण हुनपर्ने जति काम नभएको भन्दै अभावको बेला आफू नेतृत्वमा आएको बताइन् । कतिपयले पहुँचका आधारमा वा अन्य बहानामा पनि बालगृहमा बालबालिका राखेको पाइएको बताउँदै उनले वडा कार्यालयलगायत नियमन गर्ने निकायले यसबारेमा चासो दिनुपर्ने बताइन्।

स्थानीयवासीमा फजुल खर्च नगर्न आग्रह गर्दै फजुल खर्च गर्ने रकम सामाजिक क्षेत्रमा लगानी गर्न उनले आग्रह गरिन् । रानाले कति जना बच्चाको उद्धार गरियो र संरक्षण गरियो भन्ने रेकर्ड राख्नसमेत आग्रह गरिन्।

उनले आफूले बालबालिकाको क्षेत्रमा गरेको कामको अनुभव सुनाउँदै आगामी दिनमा समेत सहयोग, समन्वय र हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन्।

चन्दा स¬ङ्कलनबाटै डेढ करोडको ‘सेवक नेपाल बालगृह’

विसं २०७२ साउनमा स्थापना भएको सेवक नेपालले चन्दा सङ्कलनका माध्यमबाट काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ ढाइटारमा बालगृह भवन निर्माण गरेको छ ।

असहाय र अशिक्षित बालबालिकालाई संरक्षण गर्ने योजनाका साथ उक्त भवन निर्माण गरिएको हो । अहिले यहाँ २६ बालबालिका आश्रय लिएर अध्ययन गरिरहेका छन् । भवन निर्माण र बालबालिकाको खाना, बसोबास र अध्ययनका लागि विभिन्न दातृ निकायले सहयोग गरेका छन् ।

संस्था दर्ता भएपश्चात् अनेकन परोपकारी कार्य गर्दै बालगृह सञ्चालनका लागि जग्गा खरिद तथा जग्गामा भवन निर्माणको शिलान्यास गरी कार्य अघि बढाइएको थियो । कार्यसमितिले जिम्मेवारी पाएको पहिलो बैठकबाट अभिभावकविहीन बालबालिकालाई संस्थाको आफ्नै जग्गामा बालगृह भवन निर्माण गरी संरक्षण दिने उद्देश्यले बालगृह भवन निर्माणकार्य सुरु गरिएको भवन निर्माण संयोजक केशव सापकोटाले जानकारी दिए ।

सापकोटाको संयोजकत्वमा उपसंयोजक श्रीराम क्षेत्री, सदस्य देवलाल तिमल्सिना र राजकुमार गौतमको समिति बनेको थियो । भवन निर्माणकार्य तत्काल प्रारम्भ गरी नेपाल सरकारको खरिद ऐन, २०६३ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा भवन निर्माण सामग्री र भवन निर्माण ज्यालाको छुट्टाछुट्टै बोलपत्र गरिएको र पारदर्शी ढङ्गबाट उक्त बोलपत्रलाई सारभूतरूपमा प्रभावकारी रहेको सबैभन्दा कम दर, रेट, मूल्य प्रस्ताव गर्ने कम्पनी तथा संस्थामार्फत बालगृह भवन निर्माणकार्य सुरू गरिएको सापकोटाको भनाइ छ ।

भवन निर्माण सुरू गर्दा सेवक नेपाल संस्थासँग भवन निर्माण गर्न पर्याप्त रकम थिएन । वर्तमान कार्यसमिति तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण अभियन्ताहरूको अदम्य साहस र सक्रियताका साथै सहयोगले बालगृह भवन निर्माणकार्य सम्पन्न गरिएको हो ।

निर्माणमा सहयोगी दाताको नामावली सेवक नेपालको कार्यालयमा राखिएको छ । उक्त तीन तलाको मुख्य भवन, दुई तलाको प्रशासनिक भवन, भान्छा, भण्डार कक्ष, खेलमैदानलगायत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *