नेपालमा बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पूरा
काठमाडौं। नेपालमा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन (१०९८) स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा हेल्पलाइनको माध्यमबाट सम्पर्कमा आएका २५ हजारभन्दा धेरै समस्याग्रस्त बालबालिकाको उद्धार गरिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधारले जानकारी दिए।
हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा तुलाधरले यो अवधिमा ६ लाखभन्दा धेरै बालिबालिकाले हेल्पलाइनमा सम्पर्क गरेको बताए ।
उनले नेपालमा भूकम्प गएको वर्ष २०७२ मा सबैभन्दा धेरै एक लाख बालबालिकाले हेल्पलाइनमा सम्पर्क गरी आफ्ना समस्या टिपोट गराएको बताए ।
यो अवधिमा सिविनले ४ हजारभन्दा धेरै बालबालिकासम्बन्धी मुद्दालाई अदालतमा प्रवेश गराएको र १६ हजारभन्दा धेरैलाई पारिवारिक पुनर्स्थापना गरिएको तुलाधरले जानकारी दिए ।
बाल हेल्पलाइनका कार्यक्रम संयोजक सागर भण्डारीले बालश्रम, बालविवाह, यौन शोषण र दुर्व्यवहार, सडक बालबालिका, द्वन्द्व प्रभावित बालबालिका र बेचबिखनमा परेका बालबालिकालाई सिविनले उद्धार गरेको जानकारी दिए ।
उनले सूचना प्रविधिको बढ्दो उपयोगका कारण पछिल्लोसमय हेल्पलाइनको महत्व अझै बढे पनि कहिलेकाहीँ फोन नलाग्ने समस्याले चुनौती थपेको बताए ।
कार्यक्रमका सहभागीहरूले बालअधिकार संरक्षणका लागि राज्यसँग बलियो संरचना हुनुपर्ने र हेल्पलाइनको पहुँच बढाउन प्रचारप्रसारमा अझ बढी जोड दिनुपर्ने बताएका थिए ।
Facebook Comment