‘जंगल उनीहरूको लागि खतरा थिएन बरू जंगलले नै उनीहरूलाई बचाइरहेको थियो’

डिसी नेपाल
२९ जेठ २०८० १२:०७

काठमाडौं। कोलम्बियाको जंगलमा हराएका चार बालबालिका ४० दिनपछि जीवितै फेला परेका छन्। अमेजन जंगलमा दुर्घटनाग्रस्त विमानमा यी बालबालिका सवार थिए।

धेरैका लागि यो कुरा चमत्कारभन्दा कम छैन भने कतिपयले यसलाई जंगलको जीवनको हिस्सा ठानिरहेका छन्।

दक्षिणपूर्वी कोलम्बियाका चार आदिवासी बालबालिकाले संसारको सबैभन्दा दुर्गम, घना र कम पहुँच भएको जंगलमा विमान दुर्घटनापछि चालीस दिन बिताए।

मे १, २०२३ मा, यी बच्चाहरू आफ्नो आमा र अन्य दुई वयस्कहरूसँग एउटा सानो विमानमा यात्रा गर्दै थिए। यो विमान जंगलमा दुर्घटनाग्रस्त भयो र त्यसमा सवार सबै वयस्कको मृत्यु भयो।

१४, ९, ४ र एक वर्षका चार बालबालिका दुर्घटनाबाट बाँचे र घना जंगलमा एक्लै छाडिए ।

शुक्रबार लामो सर्च अपरेशनपछि सेनाले उनीहरुलाई जंगलभित्रै फेला पारेको हो। शनिबार उनीहरूलाई राजधानी बोगोटा ल्याइएको थियो जहाँ उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ।

यो ‘चमत्कार’, ‘रेस्क्यु अपरेशन’ र यी बालबालिकाको बहादुरीको कथा कोलम्बियाली मिडियामा सुनाइँदैछ।

२० हजार किलोमिटर फैलिएको यस क्षेत्रमा खोजी अभियानमा सरकार, जनजाति समुदाय र सेनाले मिलेर काम गरेका थिए। यसबाहेक यस क्षेत्रका १५० वर्दीधारी कर्मचारी र १ सय आदिवासी समुदायका व्यक्ति पनि खोजी टोलीमा परेका थिए।

बालबालिकाको खोजी कसरी भयो ?

खोज टोलीले बालबालिकाको खोजीका लागि उनकी हजुरआमा फातिमाको सन्देश रेकर्ड गरेको थियो, जुन सन्देश क्षेत्रको खोजीका क्रममा गएका हेलिकप्टरबाट उक्त क्षेत्रमा बजाइएको थियो। यो सन्देश जंगलमा साना लाउडस्पीकर मार्फत पनि सुनाइयो।

यो सन्देश स्पेनिश र आदिवासी भाषामा रेकर्ड गरिएको थियो।

सन्देशमा बालबालिकाकी हजुरआमाले भनिन्, “मलाई मद्दत गर, म तिमीहरूकी हजुरआमा बोल्दै छु। तिमीहरूले मेरो कुरा बुझिरहेका छौ नि ? तिमीहरू जहाँ छौ त्यहीँ रोक। मानिसहरूले तिमीहरूलाई खोजिरहेका छन्। मेरो आवाज सुन र तिमीहरू जहाँ छौ त्यहीँ बस ताकि यी मानिसहरूले तिमीहरूलाई भेट्टाउन सकून्।”

फातिमाले फ्रान्स २४ न्युज वेबसाइटलाई भनेकी थिइन्, “मेरी छोरी मबाट अलग भइसकेकी छिन्, अब मलाई कसैले आमा भन्दैनन्। त्यसैले म आफ्ना नातिनातिना खोज्न चाहन्छु।”

खोजीका क्रममा एउटा झुपडी नजिकै दूधको बोतल फेला परेको थियो । यो झुपडी बालबालिकाले बनाएको हुन सक्ने अनुमान गरिएको छ।

गत शुक्रबार एक ठाउँमा खुट्टाको छाप फेला परेको थियो। यो यिनैमध्ये कुनै बच्चाको नै हुनुपर्छ भन्ने विश्वास गरिन्छ।

पुटुमायोको जिरिजिरी जनजाति समुदायका मिगुएल रोमारियो र बालबालिकाका परिवारका कैयौँ सदस्यले बालबालिकालाई जंगलमा बस्ने तरिका आउने र उनीहरूलाई केही हुने छैन भन्नेमा आफू विश्वस्त रहेको विश्वास गरेका थिए।

खोजको क्रममा, मिगुएल रोमारियोले भनेका थिए, “हामीले बच्चाहरू ठीकै छन् भनी अनुमान गरिरहेका छौँ, प्रकृति माताले आफ्ना मानिसहरूलाई आफूभित्रै सुरक्षा गरिरहेकी छिन् । हामी विश्वास गर्छौँ कि उहाँले उनीहरूलाई रक्षा गर्नुहुन्छ र उनीहरूलाई बाँच्नको लागि आवश्यक चीजहरू पनि दिईरहनुभएको छ।”

आदिवासी समाजका विशेषज्ञ एलेक्स रुफिनो विश्वास गर्छन् कि मिडिया रिपोर्टहरूमा प्रयोग भइरहेको भाषाले मूलधारको समाजलाई आदिवासी समाजको बारेमा कति थोरै कुराहरू थाहा छ भनेर देखाउँछ।

एलेक्स भन्छन्, “बालबालिकाहरू जंगलमा हराएका थिएनन्, बरू तिनीहरू तिनीहरूको प्राकृतिक वातावरणमा थिए। जंगलले उनीहरूको हेरचाह गरिरहेको थियो र तिनीहरूसँग शताब्दीयौंदेखि प्रकृतिसँग बस्ने आदिवासी समाजको पुरानो ज्ञान थियो।”

नेशनल युनिभर्सिटीका प्रोफेसर र फोटोग्राफर एलेक्स रुफिनोले यी चालीस दिनहरूमा बालबालिकाको जीवन गम्भीर खतरामा रहेको स्वीकार गर्छन्। उनीहरूमा खानाको अभाव मात्रै होइन, अन्य वन्यजन्तुहरू पनि उनीहरूका लागि घातक साबित हुन सक्थे।

तर उनी यो पनि भन्छन् कि उनीहरू जंगलसँग एक प्रकारको सम्बन्धमा थिए र “जंगलले नै उनीहरूको सुरक्षा गरिरहेको थियो।”

एलेक्स रुफिनोले विद्यार्थीहरूलाई अमेजन वर्षावनको बारेमा पढाएपछि घटनाको बारेमा बीबीसी मुन्डोसँग कुरा गरे। उनले घटनाको मिडिया कभरेजलाई चासोका साथ पछ्याउँदै आएको बताए।

बालबालिकाहरू जङ्गलमा कसरी बस्न सके ?

बालबालिकाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्ना आफन्तहरूबाट धेरै कुरा सिक्छन्। जब तिनीहरू शिकार गर्न जान्छन् वा खाना लिन जंगलमा जान्छन्, तिनीहरूलाई सावधानीपूर्वक हेर्नु आवश्यक हुन्छ। यस क्रममा बालबालिकाले उनीहरूका लागि कुन कुरा काम लाग्न सक्छ र कुन कुरा काम लाग्दैन भन्ने कुरा सिकिरहेका हुन्छन्।

कैयौं पटक यस्ता खानेकुरा खाएपछि बिरामी पर्छन्, जुन खानै हुँदैन । तर के खाने र के नखाने भनेर परिवारका ठूलाले बताउँछन्।

जङ्गलका हरेक रुख, हरेक कीरा, हरेक प्राणीले हामी कहाँ छौं, यहाँ के उपलब्ध छ र यहाँ के खतराहरू छन् भन्ने जानकारी दिन्छन्। आदिवासी समाजका बच्चाहरूलाई यी संकेतहरू कसरी पढ्ने र तिनीहरूको अर्थ के हो भन्ने थाहा हुन्छ।

आफ्नो सिकाइबाहेक उनीहरूले जनावरबाट पनि सहयोग लिने गर्छन्। उदाहरणका लागि, बाँदरको खाने बानी मानिसजस्तै हुन्छ। बाँदरले कुन फलफूल खाइरहेको छ भन्ने हेर्दा कुन फल खान लायक छ भन्ने थाहा पाउन सकिन्छ।

हामी र बाँदरबीच सहअस्तित्व छ। बाँदरहरूले कहिलेकाहीँ रूखबाट फलहरू तल फाल्छन् जुन तपाईं खान सक्नुहुन्छ। चुनौती भनेको जंगलमा बाँदरहरूको गतिलाई पछ्याउनु हो किनभने कहिलेकाहीँ तिनीहरू धेरै छिटो हुन्छन्।

बाँदरको नक्कल गर्नु हुँदैन तर खानाको खोजीमा तिनीहरूलाई पछ्याउनुपर्छ । बाँदरलाई थाहा हुन्छ जंगलमा खाना कहाँ छ। यदि बाँदरले हाँगा भाँचिरहेका छन् भने यो खतराको संकेत पनि हुनसक्छ। उदाहरणका लागि जंगलमा जगुआर वा अजिंगर हुन सक्छ।

जंगलमा बाँदरसँग सम्बन्ध बनाएर आफ्नो सुरक्षा गर्न सकिन्छ।

बालबालिकाहरू किन जंगलमा हिँडिरहे ?

जंगलमा कोही पनि एक ठाउँमा बस्न सक्दैन। हामी यसरी सोच्छौ कि स्वतः हिँड्न थाल्छौ। किनकी जङ्गलमा हामी त्यस्ता चीजहरू खोज्छौं ताकि हामी राम्रो तरिकाले रात बिताउन सकौं।

एलेक्सले बच्चाहरू फसेको जंगलको बारेमा बताउँदै भन्छन् कि यो धेरै अँध्यारो र धेरै घना जंगल हो। यस क्षेत्रमा सबैभन्दा ठूला रूखहरू पनि छन्। यो त्यस्तो क्षेत्र हो जहाँ मानव पहुँच अहिले सम्म धेरै सीमित छ र जुन पूर्ण रूपमा अन्वेषण गरिएको छैन। यस भित्रका बस्तीहरू साना छन् र ती जङ्गल भित्र होइन नदीको किनारमा छन्।

यो धेरै चिसो, आर्द्र क्षेत्र र लामखुट्टेले भरिएको छ। यो खतरनाक छ किनभने यो जगुआर, एनाकोन्डा र अमेरिकामा पाइने सबैभन्दा विषालु सर्पहरूको क्षेत्र हो।

तर तपाईंले तिनीहरूलाई डरले होइन सम्मानको साथ हेर्नु पर्छ। जंगलको प्रत्येक इन्च जमिनमा केही अध्यात्म छ जसलाई तपाईंले बेवास्ता गर्न सक्नुहुन्न। तपाईं हरेक पल यस ठाउँसँग संवादमा हुनुहुन्छ। यदि तपाईंले यसो गर्नुभएन भने तपाईंको स्वास्थ्य र जीवन जोखिममा पर्न सक्छ।

हरेक चिज, हरेक रूखको आ-आफ्नै अस्तित्व हुन्छ जसबाट केही न केही सिक्न सकिन्छ। यो यस्तो सम्बन्ध हो जसको बदलामा औषधि, खाना र पानी पाउन सकिन्छ। उदाहरणका लागि, जब तपाईं रातमा सुत्दै हुनुहुन्छ, रूखले तपाईंको संरक्षकको भूमिका खेलिरहेको हुन्छ। रूखहरूले तपाइँलाई आश्रय दिन्छन्, अँगालो दिन्छन्।

बालबालिकाहरूले जंगलमा बाँच्नको लागि के गरे होलान् ?

एलेक्सका अनुसार बच्चाहरूले धेरै भिजेका पातहरू र पानीका स-साना झरनाहरू भेट्टाएको हुनुपर्छ, तर तिनीहरूको पानी पिउन योग्य नभएको पनि हुनसक्छ।

तर त्यहाँ केही यस्ता पातहरू छन् जसले पानी शुद्ध गर्दछ र केहि विषाक्त छन्। तपाईंले तिनीहरूलाई एक निश्चित तरिकामा लिनु पर्छ, तिनीहरूलाई एक निश्चित तरिकाले धुनुपर्छ र तिनीहरू पानी संकलन गर्न प्रयोग गरिन्छ।

उनीहरूले आफ्नो शरीर सफा गर्न विशेष पात प्रयोग गर्ने प्रविधि अपनाएको हुनुपर्छ। यसो गर्नाले लामखुट्टे र कीराको घातक आक्रमण रोक्न सकिन्छ।

उनीहरूले पेट भर्नको लागि किरा खाएको हुन सक्छ। कीरादेखि चरासम्म जङ्गलको खाना हो। जगुआरले शिकार गरेपछि जे छोड्छ त्यो पनि राम्रो विकल्प हो।

उनीहरूले फलफूल खाएको होला जस्तो लाग्छ। केही रातो रंगका गुलियाए हुने बीउ पनि यहाँ ठूलो परिमाणमा पाइन्छ। जसका कारण शरीरमा पानीको कमी हुँदैन र उर्जा पनि प्राप्त हुन्छ।

जङ्गलमा तौल घट्दै गएको थाहा पनि हुँदैन।  तपाई सधैं राम्रो महसुस गर्नुहुन्छ। तपाईंले बाहिरका मानिसहरूलाई भेट्दा मात्र तपाईं खतरामा हुनुहुन्थ्यो भन्ने महसुस गर्नुहुन्छ। तपाइँलाई कहिल्यै लाग्दैन कि तपाइँ मर्नुहुन्छ, तपाइँ केवल अगाडि बढ्नमा ध्यान केन्द्रित गर्नुहुन्छ।

यस प्रकारको परिस्थितिमा हुनु मानिसहरूको लागि कत्तिको सामान्य छ?

एलेक्स विश्वास गर्छन् कि यो धेरै सामान्य छ। औसतमा हरेक दश दिनमा जंगलमा मानिसहरुको समूह नदीमा तैरिरहेको यस्तो घटना सार्वजनिक हुने गरेको छ । किनभने तिनीहरू खाना खोज्न वा शिकार गर्न बाहिर जान्छन् र अगाडि बढिरहन्छन्।

उनीहरू आफ्नै परिवेशमा भएकाले उनीहरू हराएको भन्ने हुँदैन । तर तिनीहरू अगाडि बढिरहेका छन् र उनीहरूलाई थाहा छैन कि उनीहरू आफ्नो घर फर्कन सक्षम हुनेछन् कि सक्दैनन्। बाटो थाहा नभएकाले यस्तो हुन्छ ।

धेरैले यसलाई चमत्कार मानिरहेका छन् तर एलेक्सको दृष्टिकोण फरक छ। भन्छन्, यो यस्तो संसार हो जहाँ सबै थोक बेचिन्छ। जंगलमा यी बालबालिकाको हेरचाह गर्ने आमा भनेको जंगल नै भएको उनी बताउँछन्। आजको समाजलाई यो कुरा बुझ्न गाह्रो छ, तर यो घटनाको बहानामा यो बुझ्न आवश्यक भएको छ।

जंगलमा समय बिताउने बालबालिकाले यी चालीस दिनमा सिकेको पाठ जीवनभर बिर्सन नसक्ने एलेक्स बताउँछन्। विमान दुर्घटना हुँदा बालबालिकालाई जंगलमा खोजी गरिएको थियो।

तर बालबालिकाहरू शताब्दीयौंदेखि जंगलमा बसेका छन्, बाँचिरहेका छन्, उनीहरू कसरी बाँच्छन्, हेर्न कोही आउँदैनन्। एलेक्स विश्वास गर्छन् कि जंगल यी बच्चाहरुको लागी खतरा थिएन, बरु जंगलले तिनीहरूलाई जीवित राख्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *