रुकुम (पूर्व) मा भूमे पर्वको रौनक

सर्जना कार्की/रासस
३० जेठ २०८० ७:१३

रुकुम (पूर्व)। रुकुम(पूर्व) मा भूमे पर्वको रौनक सुरु भएको छ। प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्वपूर्ण पर्व हो।

भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भूमे गाउँपालिकाले जेठ ३२ गते पालिकाभरि सार्वजनिक बिदा दिएको छ। यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ। असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिँदै आएको छ।

रुकुम (पूर्व)मा जेठ मसान्तको अघिल्लो दिनमा पुजारीसहित फूल टिप्न आफूलाई पायक पर्ने लेकमा जाने गर्दछन्। रातभरि नाच्दै, गाउँदै रमाइलो गर्दै आदी बाटोमा गएर बास बस्ने र भोलिपल्ट अर्थात् जेठको अन्तिम दिन बिहानै लेकमा पुगी फूल टिपेर ल्याउने चलन छ। पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ।

जेठको अन्तिम दिन बिहानै लेकमा भूमि देवतालाई धारधूप गरेर फूल टिप्न आरम्भ गरेसँगै भूमे पर्व सुरु भएको बुझिने भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्नीपानी सगुन बोकेर लेक जानेले ल्याएको रङ्गीविरङ्गी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्ने गरिन्छ।

अध्यक्ष श्रेष्ठ भन्छन्, “फूल लेकाली देवताको सगुनका रूपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ। पुजारी गाउँलेले खटाएको हुन्छ। पुजारीले लेकमा धजा, धारधूप तथा अक्षतासहित भूमि देवतासँग गाउँमा राम्रो होस् भनी वाचा कबुल गरेर लेकबाट नै शिरमा रङ्गीविरङ्गी फूल तथा मगर पोसाकमा लहरै लागेर नाच्दै गाउँ झर्छन्।

पुजारीले पशुको बलि दिँदा गाउँमा महिलाले ध्वाँसो, खरानी, दसैँमा ढोकामा राखिएको टीका-जमराजस्ता घर लिपपोत गरेर निस्किएको फोहरलाई घर बाहिर फाल्दछन्। त्यसैलाई नै बल हाल्ने भन्ने गरिन्छ। बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूमेले लैजाने जनविश्वास रहिआएको छ।”

पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ। स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भनिन्छ। आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए।

यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ। विगतमा मगरले मात्रै मनाउने यो पर्वमा अहिले अन्य जाति पनि रमाउन थालेको श्रेष्ठले बताए।

मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ। सोही पर्वमा जनताको सङ्ख्याको लगत राख्नेजस्ता कामसमेत गरिन्थ्यो।

मगर बहुल क्षेत्रमा विशेष पर्वका रूपमा मनाइने यस पर्व रुकुम (पूर्व)को भूमे गाउँपालिकामा विशेष तरिकाले मनाइन्छ। पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ।

भूमे पर्वको इतिहास 

मगर संस्कृति अध्येता तिलक रोकामगरका अनुसार परापूर्वकालमा एक मगर बाहुल्यता भएको गाउँमा अल्पसङ्ख्यक रुपमा भाँडाकुँडा बनाउनलाई सिर्पाली विक, कपडा सिलाउने र बाजागाजा बजाउने दमाई (परियार)को मिश्रित बसाइँ रहेको थियो।

खोलाको पानी लिन गाउँबाट केही माथि ठूला-ठूला पहरा (पहाड)हरु काटेर जानु पर्दथ्यो। खोलमा पानी भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराइरहेका हुन्थे। यसरी पानी भर्न जाने मान्छे हराउँदै जाँदा गाउँ नै भावविह्वल भयो।

यसरी गाउँ नै शोकमा डुबेपछि गाउँका मुखियाले गाउँभेला बोलाई मान्छे हराएको पत्ता लगाउन गाउँका सबैलाई खटाउँछन्। पाँच/छजनाको टोली बनाएर पानी भर्न लगाउँदा फर्कने क्रममा पछिल्लो पानी भरुवालाई पहराको मुनिबाट निस्केको सर्पले खाएको देख्छन् अन्य मान्छेले देख्छन्।

यसरी सर्पले खाएको थाहा पाएपछि गाउँलेहरु भेला भई कसरी सर्पलाई तह लगाउन सकिन्छ भनेर छलफल गर्छन्। सिर्पाली विकले म त्यो सर्पलाई आफ्नो काबुमा ल्याउन सक्छु भनेर भन्छ। त्यसका लागि एक धार्नी फलामको सनासो तयार पारिन्छ र फेरि पानी भर्न मान्छे पठाइन्छ।

सर्प त्यही मान्छेलाई खान निस्केको बेला सनासोले सर्पको घाँटीमा अठ्याउँछ र सिर्पालीले सोध्छ, “तँ को होस्? तैँले किन मानव क्षति गरिरहेका छस्?”

सर्पले सिर्पालीलाई आग्रह गर्छ ‘मलाई नमार मनुखे, म भूमि देवता जेठको मसान्तको दिन दूधमात्र खाएर असार १ गते मलाई एक हाँसे भेडा लिएर पूजा गर्नु मैले मानव क्षति पनि गर्दिनँ र बाढीपहिरो पनि रोक्छु’।

सर्पले यसो भनेपछि त्यही वर्षबाट पूजा गरियो। त्यसपछि कुनै मानवीय क्षति भएन र बाढीपहिरो पनि गएन। त्यसैले भूमि देवतामाथि विजय प्राप्त गरेको उपलक्ष्यमा भूमे पूजा, भूमे नाच सुरु भएको इतिहास छ।

ठाउँअनुसार भूमे पर्वको नामकरण

अध्येता रोकामगरका अनुसार भूमे पर्वलाई रोल्पाको थवाङ, रुकुम (पूर्व) को क्याङसी, महतमा झ्यामकरी र भलक, काँक्री, लुकुमतिर नोगोवाङे र भूमे तथा तकसेरातिर भुल्कु पनि भनिन्छ।

भूमेको औपचारिक फुकुवा

भूमेको औपचारिक फुकुवा गाउँअनुसार फरक हुने भएकाले एकरुपता भने छैन। तर जसले जति गते भूमे पर्व फुकाए पनि जेठ महिनामै फुकाउँछन्। कुनै गाउँमा वैशाखे पूर्णिमामा कुनै ठाउँमा जेठको १ गते, कुनै गाउँमा जेठ १५ गते फुकाउँछन्।

भूमे पर्व फुकाउँदा गाउँका मुखिया प्रधानपञ्च कहाँ गएर जोडाधजा, धार्नी रक्सीले ढोग गरी अनुमति मागेपश्चात् दमाई कहाँ गएर बाजागाजा फुकाउने चलन रहेको छ।

फूल टिप्न जाने

भूमे नाच फुकाउनु अगाडि युवायुवतीको एक भूमे नाच समूह बन्छ। जसको नाम ठाउँअनुसार फरक हुन्छ। कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह । त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी, रक्सी लिएर दिउँसो ४/५ बजेतिर लेक चढ्छन्।

नाच्दै गाउँदै लेक चढेको समूहले डाँडाकाँडा भरिभराउ बनाएको हुन्छ । डाँडाको युवायुवतीको लस्कर मौसमअनुसार बसाइँ सर्ने मालचरीको समूह झैँ नाच्दै लाग्छ। उकाली काटेपछि ४/५ घन्टामा लेकको नजिक पुग्छन् र त्यहीँ बास बसी रातभरि भूमे नाच, झाम्रे गीत गाएर बिहानको ३ बजाउँछन् । ३ बजेतिर पुजारी उठेर लेकमा पूजा गर्न गएपश्चात् बल्ल फूल टिप्न जाने समूह त्यहाँबाट उकाली चढ्छन्।

पूजा गर्नुको अर्थ फूल टिप्न जाने समूहले जान वा अन्जानले जुठो पिटो भएमा माफी दिनु, फूल टिप्न आउने समूहलाई भिरबाट जोगाइदिनु, ढुंगामुढाबाट जोगाइदिनु, बुकी लाग्नबाट जोगाइदिनु भनेर पन्थ्यौली र लेकका सिद्ध देवतालाई पुकारेपछि फूल टिप्न जाने समूह भिर/पाखामा छरिएर फूल टिप्न लाग्छन्।

फूल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ-आफ्नो पन्थ्यौली घुमाई नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो बनाई घरतिर बाटो लाग्छन्।

मगर संस्कृति अध्येता रोकामगरका अनुसार नाच्दै गाउँ आउने क्रममा एक जलाकी (भञ्ज्याङमा ढुङ्गा थुपारेर बनाइएको पुजा गर्ने ठाउँ) भेटिन्छ, त्यहाँ एक मुर्ला गाडेर नयाँ फूल टिप्न गएको व्यक्तिलाई उक्त जलाकी बोकेर घुमाउँछन्।

बूढापाकाका अनुसार बोकेर घुमाएपछि बोकी माग्नेलाई शुभ हुन्छ भनेर एक दुई पैसा पन्थ्यौली अथवा जलाकीमा चढाउँछन्।

केही तल आएपछि युवतीहरु बुकीबाट टिपेर लिएको केही फूललाई माला बनाएर पुरुषको समूहलाई लगाइदिन्छन्। गाउँको नजिक आउँदा फूल माग्नेहरुको लस्कर हुन्छ।

उनीहरु रक्सी र रोटी लिएर भोकाएर आएका फूल टिप्न जाने समूहलाई स्वागत गर्छन्। बुकीबाट फूल टिपेर आउने समूहले फूल माग्नेलाई फूल दिएर सम्मान गर्छन् भने फूल शिरमा समेत लगाइलिन्छन्।

थर्की (नाच्ने थला) पुगेपछि सबैलाई शिरमा फूल लगाएर सम्मान गर्छन्। केही चाला नाचेपश्चात् फेरि गाउँ घुमेर नाची थर्कीमा आएर त्यस दिन अन्त्य गर्छन्।

असार १ गते

असारको १ गते भूमे नाच्ने समूह थर्कीमा आएर नाच्दै गर्दा गाउँ नजिकको थानमा पूजा सुरु हुन्छ र सबै भूमे नाच्ने समूह नाच बन्द गरेर पूजा गर्ने ठाउँमा जान्छन्।

जब सिर्पाली विकले साँढे मन्छाउँछ, मान्दा बित्तिकै पाती र फूलले हान्छन् र साँढे गाउँको बाटो हुँदै लैजाने क्रममा गाउँका धुइसो, कुलपूजा बेला ढोकामा लगाएको टीका, आफ्नो पितृलाई चढाएको मकै, नाङ्लोभरि बनाएर तयारी अवस्थामा बसेका गृहिणीहरुले बलि दिन लागेको साँढेलाई हान्छन्। जसको अर्थ घरको कालकष्ट रुघामुघा सन्चो होस् भन्ने हो। यसरी साँढेलाई बलि दिने ठाउँमा लखेट्दै पुर्याउँछन् र बलि दिन्छन्।

भूमि देवतालाई कुनै गाउँमा बोका, कुनै गाउँमा सुँगुर, कुनै गाउँमा भाले बलि दिन्छन्। कुनै गाउँमा जेठ मसान्त र कुनै गाउँमा असार १ गते बलि दिने चलन छ । यसरी लगातार एक हप्तासम्म भूमे नाच नाचिन्छ।

भूमेको अवसरमा सांस्कृतिक महोत्सव 

भूमे गाउँपालिकामा भूमे पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको छ । पर्वका अवसर पारी ‘हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा, कला संस्कृतिलाई जगेर्ना गर्ने हाम्रो अभियान’ मूल नाराका साथ पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको हो । महोत्सवमा सांस्कृतिक प्रतियोगिता पनि हुने गाउँपालिकाले जनाएको छ।

महोत्सवमा भूम्या नाच, ढोङ्गे अर्थात् नचारु नाच, मयूर नाच, डिग्रे अर्थात् पैसेरु नाच, फाँक र झोरेली नाच, लस्के गीत, सिङ्गारु नाच प्रतियोगिता सञ्चालन गरिने भएको छ । भूमे नाचमा प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ।

यसैगरी, ढोङ्गे अर्थात् नचारु नाचमा प्रथम हुनेलाई रु ७५ हजार, दोस्रोलाई रु ५० हजार, तेस्रोलाई रु ३० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ।

मयूर नाचमा प्रथम स्थान हासिल गर्नेलाई ५० हजार, दोस्रो स्थान हासिल गर्नेलाई ३० हजार, तेस्रो स्थान हासिल गर्नेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, पैसेरु, फाँक, झोरेल्नी, लस्के र सिङ्गारु नाच प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः समान पुरस्कार राशि ३० हजार, २० हजार, १० हजार र पाँच हजार वितरण गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *