२९ वर्षीया अभिनेत्रीको भर्याङबाट लडेर मृत्यु, परिवारले उनका अंग दान गर्ने
काठमाडौं । कोरियाली अभिनेत्री पार्क सु रयुनको अचानक निधन भएको छ । उनी २९ वर्षकी थिइन् । रिपोर्टका अनुसार ११ जुनमा पार्क घर जाने क्रममा सिँढीबाट लडेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई बचाउने प्रयास गरेका थिए।
तर त्यसमा असफल भएपछि अभिनेत्रीलाई ब्रेन डेड घोषणा गरिएको थियो । अभिनेत्रीले एक दिन पछि मात्र जेजु टापुमा प्रस्तुती दिनुपर्ने थियो । पार्क सु रयुनको निधनले कोरियाली फिल्म उद्योगमा शोकको लहर छाएको छ । उनका फ्यानहरु पनि असहज छन् ।
अभिनेत्री पार्क सु रयुनको परिवारले उनको अंग दान गर्ने निर्णय गरेको छ । सुम्पीको रिपोर्टका अनुसार उनकी आमाले भनिन्, ‘उसको मस्तिष्क मात्रै मरेको छ । उनको मुटु अझै धड्किरहेको छ । संसारमा कोही कोही होला जसलाई अंगको अत्यन्तै आवश्यकता छ। उनका आमाबाबुको रूपमा, उनको हृदय अरू कसैसँग छ र धड्किरहेको छ भनेर सोच्दा हामी धेरै खुसी हुनेछौं।’
२०१८ मा, अभिनेत्री पार्क सू रयुनले इल टेनोर बाट आफ्नो डेब्यू गरेकी थिइन् । यसपछि उनी फाइन्डिङ मिस्टर डेस्टिनी, द डेज वी लभ्ड लगायत अन्य म्युजिकलमा देखिइन् । उनले कोरियन शो ‘स्नोड्रप’ मा काम गरेकी थिइन् । यो शोले उनलाई चिनायो ।
आफ्नो भूमिकाबारे कुरा गर्दै अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्विर शेयर गरेकी छिन् । शोमा आफ्नो भूमिका निकै सानो भए पनि सेटमा उनको हेरचाह गरिएको उनले बताइन् । यससँगै उनले अभिनेता जंग हेसँग फेरि काम गर्ने मौका पाउने आशा व्यक्त गरिन् ।
पार्क सु-रयुनको शव ग्योन्गी प्रान्तीय मेडिकल सेन्टरको सुवान अस्पतालमा राखिएको छ। उनको अन्तिम संस्कार १३ जुनमा गरिनेछ। यस दिन उनको परिवार र नजिकका व्यक्तिहरूले अभिनेत्रीलाई अन्तिम बिदाइ गर्नेछन्।
Facebook Comment