विमान दुर्घटनापछि ४० दिन जंगलमा बसेका बालकालिकालाई भेट्टाउने कुकुर आफैं हरायो

डिसी नेपाल
३१ जेठ २०८० १२:४३

काठमाडौं । विमान दुर्घटनापछि कोलम्बियाको घना जङ्गलमा ४० दिनसम्म बसेका बालबालिकाको उद्धार गरिएको छ । तर खोजी अभियान अझै सकिएको छैन ।

उद्धार कार्यमा विल्सन नामको कुकुर पनि संलग्न रहेको देशको सेनाले जनाएको छ । यो कुकुर आफैं हराइरहेको छ र उसको खोजी अभियान जारी छ । ६ वर्षीय विल्सनले घना जङ्गलमा हराएका बालबालिकासँग सम्बन्धित धेरै सुरागहरू फेला पार्न मद्दत गरेको थियो ।

यी बालबालिका गत मे १ मा विमान दुर्घटनापछि बेपत्ता भएका थिए । चार बालबालिका हल्का विमानमा यात्रा गर्दै थिए जुन मे १ को बिहान अमेजनको घना जङ्गलमा दुर्घटनाग्रस्त भयो।

उक्त दुर्घटनामा बालबालिकाकी आमाको मृत्यु भएको थियो । त्यसपछि ती १३ वर्ष, ९ वर्ष, चार वर्ष र एक वर्षका बालबालिका विषालु सर्प, खतरनाक जागुआर र लामखुट्टे बस्ने घना जङ्गलमा फसेका थिए ।

सेनाको भनाइ छ, ‘सुरुमा उद्धार कार्य सुरु गर्दा विल्सन त्यसमा निकै महत्वपूर्ण साबित भएको थियो । उसको कारणले नै उद्धार टोलीले जंगलमा एक बालकको आवाज सुनेका थिए, त्यसपछि बालबालिका जिउँदै छन् भन्ने आशा जगाएको थियो ।

जंगलको जटिलता, आर्द्रता र मौसमका कारण कुकुर अलमलिएको हुन सक्ने सेनाको अनुमान छ ।

बालबालिकाको अधिकारको रेखदेख गर्ने संस्था कोलम्बियन इन्स्टिच्युट फर फेमिली वेलफेयरका निर्देशक एस्ट्रिड कासारेसका अनुसार जङ्गलबाट उद्धार गरिएका नाबालिग बालबालिकाले जंगलमा आफूसँगै कुकुर पनि रहेको सङ्केत गरेका छन् ।

यद्यपि यो कुकुर विल्सन हो वा अरु कोही हो भन्ने स्पष्ट भइसकेको छैन । बालबालिकाले केही तस्विर बनाएका छन् जसमा कुकुर पनि देखिन्छ ।

सेनाले विल्सनले दिएको सहयोग भुल्न नसकिने र उनलाई जंगलमा हराउन नदिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *