पाकिस्तानमा चक्रवात बिपरजोयबाट एक लाख मानिसलाई बचाउन सेना परिचालन

डिसी नेपाल
३१ जेठ २०८० १३:३८

काठमाडौं । चक्रवात विपरजोय पाकिस्तानको कराँची सहरतर्फ सर्ने क्रममा तटीय क्षेत्रका एक लाख मानिसलाई सुरक्षित स्थानमा सार्न सरकारले सेना परिचालन गरेको छ । आँधी देशको दक्षिणी सिन्ध प्रान्ततर्फ तीव्र गतिमा अघि बढिरहेको छ ।

पाकिस्तानको मौसम विभागको पछिल्लो जानकारी अनुसार बिपरजोय कराँची तटबाट ४१० किलोमिटर दक्षिणमा ६ घण्टा टाढा र थट्टाबाट ४०० किलोमिटर टाढा छ।

यसलाई अति खतरनाक श्रेणीमा राखिएको छ । यो चक्रवात जुन १५ सम्म सिन्धको तटीय क्षेत्रमा पुग्ने सम्भावना छ । जुन १५ मा नै यो चक्रवात भारतको गुजरातको तटमा पनि पुग्नेछ ।

पाकिस्तान मौसम विभागका अनुसार यसको तीव्रता जुन १७-१८ सम्म कमजोर हुने सम्भावना छ।

केन्द्रमा हावाको गति १७० किमी प्रति घण्टा र सतहमा १४०-१५० किमी प्रति घण्टा हुनेछ। यसबाट निस्कने छालको अधिकतम उचाइ ३० फिट हुने अनुमान गरिएको छ ।

सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले सञ्चारमाध्यमलाई भने कि यस क्षेत्रमा आपतकालिन घोषणा गरिएको छ र सेना र नौसेनालाई खतरा क्षेत्रबाट ८० हजार मानिसहरूलाई बाहिर निकाल्न खटाइएको छ।

उनले भने, ‘हामी आग्रह होइन, आदेश जारी गर्दैछौँ ।’ र यसका लागि उनीहरू सामाजिक सञ्जाल, मस्जिद र रेडियो स्टेशनको सहारा लिइरहेका छन्।

थाटा, केती बन्दर, सुजावल, बदिन, थारपार्कर र उमरकोट जिल्लामा ठूलो मात्रामा विस्थापित भइसकेको शाहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *