कृषिमा हरित क्रान्ति

कपिल लोहनी
२ असार २०८० ७:२९

करिव १३.५ अर्ब वर्ष अगाडि सूर्यबाट छुट्टिएर अन्य ८ ग्रह र दर्जनौं उपग्रहहरू जस्तै अस्तित्वमा आएको पृथ्वीमा त्यसको १० अर्ब वर्षपछि अर्थात् आजभन्दा ३.८ अर्ब वर्ष अघि केही जिवित वस्तुहरूको उत्पत्ति भएको थियो।

होमोसेपियन्स वा मानवजातिको उत्पत्ति भएको त ७०,००० वर्ष मात्र भएको अनुमान गर्छन् वैज्ञानिकहरू। आजभन्दा १२,००० वर्ष अघिसम्म पनि हाम्रा पुर्खा आदिम मानवहरू पृथ्वीका विभिन्न भागहरूमा सिकार खेलेर र वनजङ्गलमा भेटिएका फल तथा कन्दमुल खाएर नै बाँचेका थिए।

आखिर विस्तारै समूह बनाएर समाजमा बस्ने कला सिकेपछि करिव १२,००० वर्ष पहिले मानवजातिले खेतीपाती गर्न थालेको अनुमान गरिएको छ। त्यस्तै ५०० वर्ष अघिदेखि भने वैज्ञानिक अविष्कारहरू व्यापक रूपमा हुन थालेर विश्व वैज्ञानिक युगमा प्रवेश गर्दै गएको हो।

यसरी मानवजातिले खेती गर्न थालेदेखि वैज्ञानिक युगको शुरुवात भएको समयलाई कृषि क्रान्तिको युग पनि भन्ने गरिन्छ। यो समयमा नै मानिसले पानीको उपलब्धता भएका यानी खोला-नाला तथा वनजंगल र उर्वर भूमिमा समुदायमा बसेर खेतीपाती गर्न थालेका हुन् भने खाद्य पदार्थ सञ्चय गरेर केही समयसम्म पुग्ने गरि राख्ने कला पनि सिकेका हुन्।

मानवजातिको विकासक्रममा धेरै पटक रोगव्याधी, खडेरी, अनिकाल, कलह र अन्य प्राकृतिक प्रकोपका कारण खाद्य पदार्थको अभाव भएर धेरै बालबच्चा, जवान र वृद्धवृद्धा तथा पशुपंक्षीले आफ्नो ज्यान गुमाउनु परेको छ र यो क्रम अझपनि रोकिइसकेको छैन।

दक्षिण एशिया कै कुरा गर्दा पनि आजको भारतमा १९औं शताब्दिमा मात्र अढाई दर्जन पटक सुख्खा लागेर अनिकालको अवस्था सिर्जना भएको तथा यो अवधिमा २ करोड भन्दा बढी मानिसहरूको निधन भएको थियो।

२० औं शताव्दिमा पनि विश्वका घना वस्ती भएका कैयन् भूभागमा ठूला अनिकाल परेका कैयन् घटनाहरू घटेका थिए। एकातिर विश्वयुद्ध, खडेरी तथा खाद्य भण्डारणको अभाव आदिले गर्दा अनिकाल लाग्ने क्रम विश्वका धेरै ठाउँहरूमा जारी थियो भने अर्को तर्फ विश्वका कैयन् वैज्ञानिक तथा वुद्धिजिवीहरू यो समस्याबाट पार पाउने उपाय पत्ता लगाउन व्यस्त पनि थिए।

यस्तैमा सन् १९४५ मा दोश्रो विश्वयुद्धको अन्त भएसँगै विश्वमा आर्थिक विकासको लहर आउन शुरु भयो भने कृषिको लागि अति आवश्यक वस्तुहरूमा उन्नत जातका विउ, मल, किटनाशक औषधि र पानीको महत्व सबैभन्दा बढी भएको ठहरका साथ सन् १९६० देखि विश्वका विभिन्न मुलुकहरूमा उन्नत विउहरू, रसायनिक मल, किटनाशक औषधि र सिँचाइका विभिन्न साधनहरूको प्रयोग गर्न थालियो।

यसो गर्दा कृषि उपजको उत्पादन ज्यादै नै बढ्न थाल्यो र यसको साथ साथै पुरातन कृषि प्रविधि बिस्तारै विस्तापित हुँदै गयो।

कृषिमा आएको यही व्यापक परिवर्तन वा अर्को शब्दमा आधुनिकीकरणलाई ‘ग्रीन रिभोल्युसन’ अर्थात् ‘हरित क्रान्ति’ भनिन थाल्यो र यसको प्रतिपादन गरे वापत अमेरिकी कृषि वैज्ञानिक नोर्मन इ. बोर्लगले सन् १९७० को नोवेल पुरस्कार समेत प्राप्त गर्न सफल भएका थिए तथा उनलाई हरित क्रान्तिका पिता पनि भन्न थालियो।

बोर्लगले कृषिमा आधुनिकीकरणको निम्ति विभिन्न प्रकारका अनाजका उन्नत विउहरू तयार गर्न सन् १९४० देखि नै अनुसन्धान गर्न थालेका र त्यस्ता अनुसन्धान उनले खासगरी मेक्सिकोमा शुरु गरेका थिए।

यो कार्यको निम्ति उनलाई अमेरिकी धनाढ्यहरूका नाममा खुलेका तथा उनैले स्थापना गरेका कोषद्वारा सञ्चालित रकफेलर तथा फोर्ड फाउण्डेशनले विशेष सहयोग गरेका थिए। ससाना बोटहरूमा धेरै अनाज फल्ने विकासे विउहरूको उनैले सर्वप्रथम विकास गरेका हुन्।

हरित क्रान्तिको निम्ति बोर्लगले गरेको अनुसन्धान कै फलस्वरुप त्यसपछिका दिनहरूमा विश्वमा अनिकालबाट करोडौँ व्यक्ति बच्न सफल भएका छन् तथा शिशु मृत्यु दरमा पनि व्यापक कमी आएको छ।

भारतमा सन् १९६०मा पनि सुख्खा र अनिकाल लागेपछि तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले उनै बोर्लगलाई आमन्त्रण गरेर उनको सहयोग मागेका थिए र पञ्जाव प्रान्तबाट हरित क्रान्तिको परिक्षण गरेका थिए।

बढ्दो जनसङ्ख्या, पुरातन कृषि व्यवस्था र सिँचाइको लागि आकाशे पानीमा भर पर्नु पर्ने वाध्यता तथा खाद्य वस्तु भण्डारणको व्यवस्था राज्यले गर्ने परिपाटी नबसेको त्यो बेलामा खडेरी, महामारी तथा युद्धबाट आम जनता निकै नै पिडित हुने गर्दथे। यस्तै अवस्था विश्वका कैयन् क्षेत्रको पनि थियो।

नेपाल बाँकी विश्वसँग वि.सं. २००७ सालमा राणा शासनको अन्त पछि मात्र खुल्न गयो भने भुटानले अझसम्म पनि बन्द नीति नै अवलम्बन गरेर बसेको छ। उता भारतका उत्तरी तथा उत्तरपूर्वी भेग र काश्मिर क्षेत्र तथा पाकिस्तानमा पर्ने काश्मिर र हिमालय क्षेत्र पनि दक्षिण एशियाका बाँकी भूभाग भन्दा अग्लो ठाउँमा अवस्थित भएका तथा जलवायुको हिसाबले ठण्डा र मानिसको आवत जावत र जनघनत्वको हिसाबले पनि पातलो वस्ती भएका हराभरा इलाका हुन्।

त्यसैले यी इलाकामा अनिकाल, सुख्खा वा बाली मासिएका घटना बिरलै सुन्नमा आएका छन्। यही कारणले गर्दा हुन सक्छ यो हिन्दूकुश क्षेत्रमा परम्परागत खेती र बाली अझसम्म पनि मौलाइरहेको।

अफ्रिकी मुलुकहरूमा भने सत्ताका निम्ति हुने गरेका द्वन्द्व तथा चरम भ्रष्टाचारले गर्दा बेला बेलामा खाद्यान्न वितरण प्रणाली नै तहस नहस हुन गएर आजसम्म पनि खाद्य संकट र कुपोषणका कारण लाखौँ बालबालिका तथा वृद्धवृद्धाको अकालमा मृत्यु हुने गर्दछ। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले यस्ता मुलुक र क्षेत्रहरूमा राहत वितरण तथा अन्य कार्यक्रम गरेर सहयोग गर्ने गरेको छ।

आधुनिक प्रविधिबाट उत्पादित उन्नत विउ-विजनहरू वर्षेनी वा केही वर्षमा बदल्दै जानु पर्ने हुन्छ। त्यस्तै रसायनिक मल र किटनाशक औषधिहरूको व्यापक प्रयोग गरी उत्पादित अनाज र अन्य कृषि उपज हेर्दा ज्यादै पोसिलो र आकर्षक देखिए पनि तिनको निरन्तर खपतले स्वास्थ्यमा निकै नकारात्मक असर पार्ने गर्दछ।

कृषि क्रान्तिसँगै कृषिमा यान्त्रिकरण पनि बढ्दै गयो। खनजोत, रोपाईँ, गोडमेल, मलजल तथा बाली काट्ने र खेतमा नै आधारभूत प्रशोधन गर्ने तथा त्यस्ता उत्पादनलाई मिलमा लगेर अन्तिम प्रशोधन गर्नुका साथै यस्ता उपजबाट तयार हुने विभिन्न खाद्य वस्तुलाई सम्बन्धित कारखानामा लगेर पोषक तत्वहरू मिलाएर बजारमा पठाइने गर्न थालियो।

यसरी विश्वबाट पुरातन खेती मात्र होइन, प्रशोधन तथा बजार व्यवस्थापन प्रणाली नै विस्थापित भएर नविन प्रविधिमार्फत यो सब कार्य हुन थाल्यो।

दक्षिण तथा दक्षिण-पूर्वी एशिया, जहाँ चामललाई भोजनको मुख्य वस्तु मानिन्छ, सोको निम्ति फिलिपिन्स तथा अन्य मुलुकमा चामल बारेको अनुसन्धान भएर विभिन्न प्रकारका बढी उत्पादकत्व भएका चामलका प्रजातिहरूको विकास गरिएको छ।

चामलको अनुसन्धानमा फिलिपिन्सको इन्टरनेशनल राइस रिसर्च इन्स्टिचूटको ठूलो भूमिका रहँदै आएको छ। यस्तै केही प्रजाति त नेपालमा पनि आविष्कार गरिएका छन्।

चामलको व्यापक अनुसन्धान गर्ने व्यक्तिहरूमा चीनका युवान लङ्गपिङको नाम अग्रस्थानमा आउँछ। उनले सन् १९७० को दशकमा नै चामलका उन्नत प्रजातिहरूको विकास गरेर उन्नत चामलका पिताको खिताब जित्न सफल भएका थिए।

कृषि क्रान्ति पश्चात नविततम कृषि प्रणालीको विकास र विस्तारले गर्दा विश्वका विभिन्न क्षेत्रका पुर्खौँदेखि चलिआएका हजारौँ प्रकारका मौलिक विउ–विजन, पौष्टिक अनाज तथा बोट विरुवा हराउन थाले भने कैयन् मौलिक पौष्टिक तत्वहरूको उपभोगलाई नयाँ उत्पादनहरूले ओझेलमा पार्न थाले। यो क्रान्तिको साथ साथै विश्वभर मौलिक खानाको साटो एकै प्रकारको अन्य खानाहरूमा मानिसहरूको जोड बढ्न थाल्यो।

यदा कदा खपत गरिने मासुजन्य खाद्यको व्यापक प्रयोग हुन थाल्यो। यस्तो उपभोगको परिपुर्तिको लागि पशुपंक्षी पालनमा पनि एक प्रकारको क्रान्ति नै शुरु भयो र नयाँ नश्लहरूको विकास हुन थाल्यो।

यस्ता नश्लका पशुपंक्षीहरूलाई खुवाइने विशेष प्रकारका खाना र दानामा पनि रसायनीक पदार्थको प्रयोग र तिनको स्वास्थ्यको निम्ति विभिन्न प्रकारका खोप र औषधिहरूको प्रयोग हुन थाल्यो।

हरित क्रान्ति कै कारण खेतीमा ठूलो परिवर्तन आयो, यान्त्रिकरण र आधुनिकीकरण पनि भयो। अमेरिकी र अन्य विकसित मुलुक कृषि उपजमा र रसायनिक मलदेखि कृषि यन्त्र र सामग्रीको व्यापक उत्पादन र बिक्रीले निकै धनी बन्न पुगे तथा विश्वमा नै भोकमरीको अवस्थाको अन्त्य गर्न ठूलो योगदान पु¥यायो हरित क्रान्तिले।

तर योसँगै पुरातन खेतीको स्वरुपमा आमुल फेरबदल आउनाले पहिलेको जस्ता वातावरणमैत्री खेत अब रहेनन्, पानीका प्राकृतिक भण्डार र भूमिगत जलको सतह पनि घट्दै गयो।

मानिसमा खानाको समस्या हट्दै गए पछि आएको समृद्धिले घर तथा शहर निर्माण गर्ने होड पनि बढ्दै गयो भने खेतीयोग्य जमिन प्लटिङ गर्दै बिक्री गर्ने क्रममा बढोत्तरी भयो।

जमिन बिक्री गरेर धेरै रकम कमाइने र सन्ततीलाई विदेशमा अध्ययनको निम्ति पठाउने वाहेक मुलुकभित्रै अन्य कम शारीरिक मेहनत गरेर धेरै आम्दानी हुने व्यवसायमा कृषकहरूको ध्यान जान थालेपछि खासगरी हाम्रो जस्तो मुलुकमा कृषि व्यवसायमा लाग्ने मानिसहरूको पनि कमी हुँदै गएको छ।

त्यस माथि आफ्ना कृषि उपजले उचित मूल्य नपाउनाले र बजारको समेत समस्या भोग्नु पर्ने भएकाले युवाहरू सुखद भविश्यको सपना देखेर मुलुक बाहिर काम गर्न जाने क्रम ज्यादै नै बढेको छ।

सन् १९६० ताका भारतका एक कृषि तथा वनस्पति वैज्ञानिक र तत्कालीन प्रधानमन्त्रीका कृषि सम्बन्धि सल्लाहकार एम.एस. स्वामिनाथनले कृषि क्रान्तिलाई लिएर एक पटक भनेका थिए कि विभिन्न प्रकारका वैज्ञानिक खोजहरूले शुरुमा अक्सर सकारात्मक रूपले जनहितकारी कार्यमा सघाउँछन् तर पछि गएर नसोचेको तथा नचाहेको परिस्थितिको सिर्जना गरिदिन्छन्।

वास्तवमा आधुनिक कृषि प्रणालीले ज्यादै तिव्र गतिमा बढिरहेको विश्वको जनसङ्ख्याको लागि आवश्यक खाद्यान्नको माग पुर्ति गर्न ठूलो भूमिका खेलेको छ।

तर यसको शुरुवात सँगै लाखौँ वर्षदेखि चलि आएको दीगो कृषि र सन्तुलित आहार प्रणालीलाई नै तहस नहस बनाएर आहारमा पनि विश्वभर एकरुपता ल्याउँदै गएको छ भने खाद्य वस्तुहरू विभिन्न प्रकारका रसायनिक मल र किटनाशक पदार्थहरूको प्रयोगले उत्पादन भएकाले तीनको प्रयोगले विभिन्न प्रकारका खतरनाक रोगहरू पनि व्यापक रूपमा भित्रिएका छन्।

व्यावसायक हिसाबले हरित क्रान्तिसँगै प्रतिपादित नयाँ विउ-विजन, रसायनीक मलखाद, किटनाशक औषधि तथा खेती र सिँचाईका आधुनिक प्रविधिले गर्दा निकै उन्नत जातका कृषि उपजहरू विश्वभर ठूलो परिमाणमा उत्पादन भइरहेका छन् भने अर्कोतर्फ हिन्दूकुश जस्तै विश्वका धेरै क्षेत्रमा भएका प्राकृतिक रूपले अति धनी इलाकाहरूमा पुरातन शैलीमा गरिएका खेती किसानीले पनि अति नै पौष्टिक र उन्नत खाद्य पर्दाथको उत्पादन गरि नै रहेका छन्, तर आधुनिक शैलीको दाँजोमा अति कम र प्रतिष्पर्धामा पछाडि परेर।

त्यसैले आजको युगको व्यावसायक खेतीको आर्थिक रूपले वृहत उत्पादन (इकनमी अफ स्केल) को दौडाईलाई पुरातन प्राङ्गारिक खेतीको कछुवाको हिँडाइले उछिन्न सकेको छैन।

पुरातन खेतीबाट उब्जाउ हुने वस्तुहरू आर्थिक र उत्पादकत्वको हिसाबले पछाडि परेता पनि स्वास्थ्यको हिसाबले निकै फाइदाजनक छन्। उत्पादकत्वको कमी र उत्पादन लागत पनि बढी हुन जाने हुनाले पुरातन शैलीमा उत्पादित खाद्य वस्तुले आजको बढ्दो जनसङ्ख्याको पेट पाल्न भने असम्भव नै छ।

पुरातन कृषि प्रणालीमा एउटै खेतमा विभिन्न प्रकारका बालीहरू क्रमिक रूपमा लगाइने तथा अनाज र सागसब्जीको खेती कै वरिपरि विभिन्न फलफुल तथा जडिबुटीका विरुवाहरू पनि लगाइने तथा यस्ता खेतीपातीका साथै माछा र पशुपंक्षी पालन पनि हुने हुनाले हावा, पानी, छहारी, प्राकृतिक मलजलसहित प्राकृतिक इकोसिस्टम कायम हुने गर्दथ्यो।

मलको निम्ति प्राकृतिक हावा, पानी, पात-पतिङ्गर र पशुपंक्षीको मल तथा पिसाब र कुहिएका खाद्यान्न आदिको प्रयोग हुन्थ्यो भने कैयन् प्रकारका चराचुरुङ्गी तथा मानवजातिलाई फाइदा गर्ने किरा तथा किटाणुले बाली र पशुपंक्षीलाई हानी गर्ने किरा र किटाणुको सफाया गर्ने पनि गर्दथे।

आफूले उत्पादन गरेका तथा गाउँघरमा पाइने गाउँले खाद्यान्नबाट नै पेट भर्नुपर्ने भएकोले आजको जस्तो जङ्क फुड र अनेक प्रकारका व्यञ्जनहरूसम्म मानिसको पहुँच हुँदैन थियो।

सन्तुलित भोजन तथा सबै प्रकारका पौष्टिक पदार्थहरू भोजनमा समावेश हुने भएकाले तथा सामान्य दैनिकी र कामकाजी व्यायाम तथा आरामले गर्दा मानिसहरू स्वस्थ पनि रहन्थे। आज जस्तो विद्युत, विद्युतीय उपकरण र मनोरञ्जनका साधन नहुने भएकोले साँझ छिटो खाना खाएर वस्तुभाउको हेरचाह पश्चात छिटै सुत्ने र छिटै उठ्ने बानीले गर्दा मानिसहरूले प्रसस्त आराम पाउँथे र फुर्तिला पनि हुन्थे।

रसायनिक पदार्थको सेवन नगण्य मात्रामा हुने भएकोले आज जस्तो प्राणघातक रोगहरूबाट आक्रान्त हुनेहरूको संख्या पनि ज्यादै न्युन हुन्थ्यो। एक प्रकारले मानिसहरू सामान्य जीवनशैलीमा रहन्थे र यो नै प्राकृतिक रूपले ठीक तरिका पनि हो।

बाटोघाटो नपुगेका हाम्रा अति विकट हिमाली र आदिवासी क्षेत्रहरूमा अझसम्म पनि आधुनिकता नपुगिसकेकोले त्यहाँ बस्ने मानिसहरूको रहन सहनमा खासै परिवर्तन नआएकोले पुरातन शैलीको कृषि र खाद्य उपभोगमा नै उनीहरू निर्भर रहिरहेका छन्।

तर त्यस्ता इलाकामा पनि बिस्तारै बाटो घाटोको सुविधामा वृद्धि हुँदै गएकाले विश्वभरका उपभोग्य सामान र आधुनिक कृषि उपजमा त्यस्ता मानिसहरूको पहुँच पनि बढ्दै जान थालेको छ। अब पुरातन खेती र रहन सहनले ती इलाकाबाट पनि सँधैको निम्ति बिदा लिँदैछन्।

हिजो आज धनाढ्य तथा स्वास्थ्यको बढी चिन्ता भएका मानिसहरू भने बढी रकम खर्चेर पनि पुरातन तवरले उत्पादित खाद्य पदार्थ आफ्नो भान्सामा उपलब्ध होस् भन्ने चाहन्छन्।

तर हाल आएर जति नै प्राङ्गारिक मल तथा पुराना विउ-विजनको प्रयोग गरेर पहिलेका जस्ता स्वच्छ तथा पौष्टिक खाद्यान्न उत्पादन गर्न खोजे पनि तिनमा केही न केही हदसम्म रसायनीक पदार्थको प्रयोग भएकै हुन्छ। त्यस्तै आज जताततैको माटो र पानीमा रसायन मिसिएकै हुन्छ।

त्यसैले पनि अब पुरातन जमानाका खाद्यान्न र फलफूल तथा माछा-मासुको नियमित उपभोग गर्ने आशा गर्नु नै त्यति उपयुक्त हुँदैन। त्यस्तै खानामा जुन प्रकारको आमुल बदलाव आएको छ, त्यसको बदला पुनः पुरातन खानपानमा फर्किने भन्ने कुरा त अब असम्भव जस्तै नै भइसकेको छ।

अबका वैज्ञानिकहरूले नयाँ हरित क्रान्तिको रूपमा कम खतरनाक किटनाशक औषधि तथा रसायनीक मलको आविष्कार र उत्पादनमा जोड दिनु पर्ने देखिन्छ।

त्यस्तै जेनेटिक इन्जिनियरिङको माध्यमबाट असल किटाणुबाटै खराब किटाणुहरू पराजित हुन सक्ने प्रविधिको विकासमा तिव्रता ल्याएर सकेसम्म प्राङ्गारिक मललाई नै प्रभावकारी बनाउने तथा हाम्रो खेतीमा लाग्ने रोगव्याधी पनि प्राकृतिक तवरले नै निदान गर्ने प्रविधिको विकास गर्न सके आउँदा दिनहरूमा खानपानबाट हुने भयानक रोगहरूबाट मानव तथा पशुपंक्षीहरूलाई बचाउन सकिने थियो।

लेखक विकास अर्थशास्त्री र पूर्वबैंकर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *