शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

डिसी नेपाल
३ असार २०८० ११:१४

काठमाडौँ। शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी (पीटीपीएस) को ७ औं संस्करण आयोजना सम्पन्न भएको छ। परराष्ट्रमन्त्री नारायण प्रकाश साउदको प्रमुख आतिथ्यमा उक्त  गोष्ठी सम्पन्न भए हो।

समापन समारोहमा मन्तव्य राख्दै परराष्ट्रमन्त्रीले दक्षिण एसियामै पहिलो पटक यति महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएकोमा संयुक्त राष्ट्रसंघ प्रति आभार व्यक्त गरे। उनले विश्व शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याउँदै आएको योगदानको स्मरण गर्दै भविष्यमा समेत संयुक्त राष्ट्रसंघसँग नेपालको साझेदारी कायम रहने बताए। उनले शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिकहरुको कार्य सहजता एवं सुरक्षाका लागि नविनतम् प्रविधि प्रयोगको सम्भाव्यता पहिचानमा यस संगोष्ठी फलदायी भएको विश्वास व्यक्त गरे।

सोही अवसरमा संयुक्त राष्ट्रसंघको परिचालन समर्थन विभाग (डीओएस) का उपमहासचिव अतुल खरेलले सफलतापूर्वक संगोष्ठी आयोजना गरेकोमा नेपाल सरकार, सम्बद्ध मन्त्रालयका साथै नेपाली सेनाको सराहना गरे।

उनले डिजिटल रूपान्तरणको लागि प्रयोग गर्ने प्रविधि थिममा सञ्चालित यस संगोष्ठीमा घनिभुत रुपमा छलफल भएको उल्लेख गरे। यस संस्करणको गोष्ठीमा अहिलेसम्मकै धेरै विषयविज्ञहरुको सहभागिता रहेको र यो शान्ति स्थापनार्थ तैनाथ मिशनहरुका लागि आवश्यक प्रविधिको सम्भाव्यता सम्बन्धमा सकारात्मक नतिजाहरु निकाल्न सफल भएको बताए।

गोष्ठीमा शान्ति सैनिकहरूको सुरक्षा गर्न प्रविधिको प्रयोग, सूचना-सञ्चालित शान्ति कार्यहरू, एकीकृत प्रशिक्षण र क्षमता निर्माण, संयुक्त राष्ट्र स्मार्ट शिविर र टेलिमेडिसिन जस्ता विषयहरुमा सहभागी प्रतिनिधिहरुले छलफल पश्चात निकालेका निष्कर्ष आगामी दिनमा उपयोगी हुने उनले बताए।

त्यसैगरी नेपालको प्रस्ताव मुताविक काठमाडौँस्थित लेभल ४ को वीरेन्द्र अस्पताललाई संयुक्त राष्ट्र डिसइन्गेजमेन्ट अपरेशन फोर्स, सिरियामा रहेको लेभल १+ को अस्पतालमा टेलिमेडिसिनका लागि सम्बद्ध गराउने विषयमा तत्काल आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिए। उनले विश्वमा सबैभन्दा बढी महिला शान्ति सैनिकहरु पठाउने राष्ट्र नेपाल रहेको र महिला शान्ति सैनिकहरुले बासस्थान लगायत दुर्गम स्थानहरुमा खट्टिदा भोगिरहेका चुनौतीहरुलाई संयुक्त राष्ट्रसंघले विशेष रुपले सम्बोधन गर्ने समेत बताए।

समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, पूर्व प्रधान सेनापतिहरु, संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधि कार्यालय (OICT) का सहायक महासचिव बर्नार्डो मारियानो जुनियर र मानवीय संसाधनका सहायक महासचिव मार्था हेलेना लोपेज, रक्षा सचिव, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु, राजदूतहरु, नेपालस्थित संयुक्त राष्ट्रसंघका निवासी संयोजक तथा प्रतिनिधिहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, संयुक्त राष्ट्र, डिसइन्गेजमेन्ट फोर्सका फोर्स कमाण्डरलगायत विभिन्न ११ वटा शान्ति मिशनका प्रतिनिधिहरु, संयुक्त राष्ट्रसंघका ४२ वटा सदस्य राष्ट्रका प्रतिनिधिहरु तथा विषयविज्ञहरुको उपस्थिती रहेको थियो।

संगोष्ठीको सफल आयोजनाबाट नेपाललाई विश्वस्तरिय र महत्वपूर्ण विषयहरुमा बृहद कार्यक्रम आयोजना गर्न सक्षम भरोसायोग्य सदस्य राष्ट्रको रुपमा संयुक्त राष्ट्रसंघ समक्ष प्रस्तुत गर्नुका साथै पर्यटकहरुका लागि सुरक्षित गन्तव्यका रुपमा पुनर्स्थापित भएको सन्देश प्रवाहित गर्न समेत योगदान पुगेको विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *