पृथ्वीको कविता
गोरखनाथको आशीर्वाद समेतले
ठूलो सपना देख्यौ पृथ्वी
ठूलो राज्यको
चन्द्रगिरि चुलीलाई
सपनागिरी बनाएर।
साझा सपना थियो
सानो गरिब गोरखाको
सपना कालुहरुको
सपना बिसेहरुको
सबै सबै गोरखालीहरुको।
सपना फैल्याउँदै लग्यौ
साथ र समर्थन बढाउँदै लग्यौ
बाटौ बढायौ
माटो फराकिलो बनायौ
छातिहरु थपिए
मुटुहरु थपिए
जित्नका लागि मात्र
धड्किए
जुट्नका लागि मात्र
धड्किए।
बलिया पाउहरु बढे
छरिता बाहुहरु लढे
ढोल बजे नगरा बजे
साथमा विश्वासमा
एउटै तालमा।
पृथ्वीनारयण अघि बढे
खुकुरी ढाल तरबार बोकेका
जय जय गोरख
जय जय कालीको
सौर्य साहस र एकताको स्वरले
आकास उचाल्दै धर्ती थर्काउँदै
बढे हार्न नजानेका
बहादुर गोरखाली योद्धाहरु ।
हमला बोकेर आएका
मुगलहरुलाई पछारेर लधारेउ
निल्न भनेर आएका
घाम नअस्ताउने साम्राज्य भनिने
साम्राज्यवादी अङ्ग्रेजलाई
धुलो चटाएर धकेलौ ।
सपनागिरीबाट देखेको
विशाल राज्यको सपना
विपनामा रुपाान्तरण हुनु नै थियो
आन्तरिक पृथकतावादी
सामन्ती मानसिकता
पछारिनुनै थियो
पछारियो।
ऐतिहासिक आवश्यकताले
एकीकरण अभियान सफल हुनु
अनिवार्य राष्ट्रिय आवश्यकता थियो
जन चाहनाले जन सहभागिताले।
साथमा हिँड्यौ हात समात्यौ
बात दियौ आँट दियौ
विश्वास दियौ भरोसा दियौ
जुक्ति दियौ शक्ति दियौ
गुरु भयौ शिष्य भयौ
अङ्गालो भरि देशभक्तिको
साँचै बलियो शक्ति दियौ।
राजा थियौ
बसेनौ राजाको गद्दीमा
योद्धा सिपाही भयौ देशको
सधै युद्ध मोर्चामा।
तिम्रो महान एकीकरण अभियानको बिरुद्धमा
तिमीसँग जुध्न आउने
अनेक राज्यका राजाहरु, प्रजाहरु र योद्धहरु सबै
बहादुर नै थिए,देशभक्त नै थिए
तिमी जस्तै
परक यति मात्रै थियो
तिमी दूरदर्शी थियौ
उनीहरु अदूरदर्सी थिए।
राम्रै भयो
अदूरदर्शी पृथकतावादी टुक्रे मानसिकताका धारहरुलाई पनि
एकता, एकीकरणको नेपाल धारमा समाहित गरेर
नेपाल शक्तिलाई बलियो बनायौ।
तिमी लड्यौ नेपालको लागि
तिमी बढ्यौ नेपालीको लागि
साँच्चै बलियो विशाल नेपाल दियौ।
जित्ने सानो गोरखा राज्यलाई हराएर
विशाल नेपालराज्य भनाएर जितायौ
हार्ने अनेक नामका राज्यहरुलाई जिताएर
विशाल नेपाल एक साझा राज्य बनायौ।
संसारकै अलग चित्र र चरित्रको
प्राचीन चन्द्र र सूर्य अंकित रातो झण्डा
नेपाली मन मनमा फहरायौ
एउटा प्राचीन सभ्यताको तीर्थ
नेपाललाई बचाएर
धन्य पृथ्वीनारायण भइरह्यौ
नेपाली जनका मनमनमा
धन्य राष्ट्रनिर्माता भएर
सबै जातको फूलबारीको रुपमा
सधैभरि ढकमक भइरह्यौ।
नेपाल जोडेर निदाएका तिमी
नेपाल जोगाउने र जगाउने
पृथ्वीविचारको शुत्र दिएर
शब्द शब्दमा ब्युँझिरहेका तिमी
जाग्रम बसेका छौ
नेपालको माटोमा नेपालीको मुटुमा ।
हो
साना दुखले अर्ज्याको मुलुक होइन
सबै जातको फूलबारी हो।
Facebook Comment