डाक्टर हुँ भन्दै दुई युवतीसँग ७८ लाख बढी ठगी
काठमाडौं । आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । नक्कली डाक्टर बनेर युवतीसँग विहे गर्ने बहानमा ७८ लाख ठगी गरेका आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
जैशीले आफू १२औं तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटकपटक गरेर ४० लाख रुपैयाँ लिएका थिए । त्यसपछि अर्की युवतीलाई पनि विहे गर्छु भन्दै डाक्टर भएको बताउदै ३८ लाख ठगी गरेको खुलेको छ । नक्कली डाक्टर भएको खुलेपछि युवतीले पैसा फिर्ता माग्दा रकम नदिई जैशी फरार रहेका थिए । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार करिब १८ महिनाको अवधिमा उनले ती युवतीलाई प्रेमजालमा पारेर सो रकम ठगी गरेका थिए । ‘एप्रोन लगाएर भिडियो कल गर्ने गरेका रहेछन्, म वीर अस्पतालमा ड्युटीमा छु भनेर ठगी गर्ने रहेछन’, प्रहरी प्रवक्ता एसपी रिजालले भने । प्रेम जालमा पारेपछि उनले विभिन्न बहाना बनाएर पैसा माग्ने गरेको युवतीले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।
प्रहरीका अनुसार बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी चढ्ने गरेको र सो गाडी किन्न ती युवतीसँग उनले ४० लाख नगद लिएका थिए । सो रकम नतिरी फेरी अर्की युवतीसँग पनि उनले पैसा लिएको पाइएको थियो । उनी यसअघि पनि दुई युवतीलाई फसाएर हत्या गरिएको अभियोगमा जेल बसेको खुलेको छ ।
Facebook Comment