व्रत किन बस्ने ?
उहिलेका कुरा खुइलिए भन्नेहरु फेरि मूल खोज्दै, जराको पहिचान गर्न लागिरहेका छन्। कुनै कालखण्डमा रुढीवाद भनेर पन्छाइएकाहरुमाथि आज विज्ञान रहेछ भनी प्रयोग गर्न थालिएको छ।
ऋषिहरु वैज्ञानिक थिए, पुर्खाहरु विज्ञ थिए, अग्रजहहरु अनुसन्धानकर्ता थिए भन्न जलाउनेहरुले पुराण, उपनिषद् र वेद अध्ययन गर्न आवश्यक छ। कान लग्यो भन्दैमा कागको पछि दौडने होइन कान छाम्नु बुद्धिमानी हुन्छ।
पुर्खाले खाएका, लगाएका, गाएका, पिएका हरेकमा विज्ञान छ, जीवन छ। यसमध्ये व्रत यस्तै जीवनशैली हो जसभित्र साधना, स्वास्थ्य र जीवनको त्रिवेणी बहन्छ। उपासना, उपवासलगायतका माध्यमबाट इष्टदेवीदेवतासँग रहेको अनुभव गर्नुलाई व्रत भनिन्छ।
व्रत नै इष्टवस्तु प्राप्त गर्ने माध्यम हो, साध्यसम्म पु¥याउने साधन हो। व्रतेन वै ब्राम्हणः संशितो भवति अर्थात्, व्रतपालनले साधक (ब्राम्हण) को महत्व बढाउँछ।
पार्वतीले महादेव प्राप्त गर्न, हिरण्यकश्यपुले कालजयी बन्न, भगीरथले बन्धुहरुलाई मुक्त गराउन, गौतमबुद्धले दुःखकारण र उपाय खोज्न व्रत (तपस्या) बसेका थिए। उपयुक्त समय, उचित स्थानमा, विधिपूर्वक प्राचीन कालदेखि व्रत बसेको देखिन्छ।
व्रतलाई फलदायी बनाउन शारीरिक र मानसिक शुद्धी भई शास्त्रबमोजिमका कर्म गर्नुपर्छ। हाम्रा पितापुर्खाले सिद्धि, मुक्ति, राष्ट्रकल्याण आदिका लागि व्रत बस्थे। अहिले लौकिक र भौतिक लाभका लागि व्रत बस्ने क्रम बढ्दै गएको छ।
उमेर, स्वास्थ्य, व्रतका प्रकृतिलाई ध्यानमा राखेर निराहार, जलाहार, फलाहार, शाकाहार व्रत बस्दछन्। मन र जीवनलाई असल मार्गमा हिँडाउने तागत व्रतले दिन्छ। प्राणीले खानुपर्छ, दिव्य शरीर हुनाले देवीदेवताले जीवन धान्न खानुपर्दैन। यसकारण देवीदेवताको जस्तै आचरण देखाउन निराहार व्रत बस्दछन्।
तस्बिर आदिमा देवीदेवताको शरीरको रङ नीलो देखाइन्छ। नीलो रङको टाढा, व्यापक र विशाल आदि अर्थ हुन्छन्। अन्तरयामी परमात्माको नाममा व्रत बस्दा कृपा र आशीर्वाद पाइन्छ।
गीता(२।५९)मा श्रीकृष्णले भन्नुभएको छ- विषया विनिवर्तन्ते निराहारस्य देहिनः अर्थात्, नखाईकन व्रत बस्नेले सबै विषय (खराब कर्म) बाट मुक्ति पाउँछ।
ऋषिमुनिहरू तपस्या गर्दा कतिपयले त वायु (हावा) को सेवन पनि गर्दैनथे। व्रतको समयमा पूर्णरूपले परमात्मामा समर्पित हुने हुँदा कसैको डर हुँदैन, कुनै समस्याले छुँदैन। व्रतकै समयमा वाल्मीकि ऋषिको शरीरलाई धमिराले खाइदिएको थियो, पछि पुनः उस्तै भयो।
दधीचि ऋषिको शरीर वज्रजस्तै भएको थियो। मानवले बाटो नभुली सात्विक जीवन बिताओस्, परमात्माको सान्निध्य प्राप्त गरोस् भनी तपस्या, व्रत आदि धार्मिक अनुष्ठान गरिन्छ। जुठो पर्दा, नछुने हुँदा, शरीर कमजोर र प्रतिकूल समयमा व्रत बस्न हुँदैन।
व्रतको समयमा तीर्थाटन, पूजा, दानसहित मन्त्र जप गर्नुपर्छ। व्रीयतेरस्वीकृयते जनैः यत् तत् व्रतम् अर्थात्, जसलाई भित्री हृदयदेखि स्वीकार गरिन्छ, त्यही व्रत हो। एकाग्र भई नियममा रहेर भगवान्मा समर्पित हुँदा व्रत सफल हुन्छ। एकाग्र नै सफलताको कसी हो।
‘एक’ एउटा, ‘‘अग्र’ अगाडि हुन्छ अर्थात् व्रत बस्दा इष्टदेवतामात्र सम्झनुपर्छ। भन्ने अर्थ एकाग्र शब्दले दिन्छ। व्रतबाट साधकले असत्यलाई छोडेर सत्यलाई प्राप्त गर्दछ, परमात्माको आशीर्वाद र अनुग्रह मिल्छ।
पुरुषको व्रतबन्धपछि, महिलाले विवाह वा गुरुदीक्षा लिएपछि व्रत बस्न पाउँछन्। सबै वर्ण, लिङ, जातका मानिसलाई नियममा रहेर व्रत बस्ने अधिकार छ। व्रत बस्दा दिउँसो सुत्न, अभक्ष्य खान, दिसा-पिसाब गर्दाका कपडा लगाउन हुँदैन।
व्रतको प्रयोजन एवं इष्टदेवको प्रकृतिअनुसार पहेँलो, सेतो वा रातो कपडा लगाउनु उत्तम हुन्छ। व्रत पनि साधनाको अङ्ग हो। साधना वा तपस्याको प्रारम्भमा कन्दमूल र फलफूलमात्र खान्थे।
दिनको एकपटक, दुई दिनमा एकपटक, हप्ताको एकपटक गरी खाने समय र खानाको परिमाण घटाउँथे। लामो समयको अभ्यासपछि बिस्तारै हावा पिएर प्राण धान्थे र ब्रम्हसाक्षात्कार गर्दथे।
अलौकिक शक्ति प्राप्त गरेका, पूर्वजन्मको साधना फक्रिएका वा माथिकै कृपा हुनेलाई उपवास आदिको आवश्यकता पर्दैन। शरीरधारी भएपछि संसारको नियम मान्नै पर्ने हुनाले भगवान् (राम, कृष्ण), ऋषिमुनि, साधुसन्त आदिले व्रत बसे। उनीहरूलाई गुरुकुलमा पढ्नुपर्ने, जप र पूजा गर्नुपर्ने जरुरी थिएन तथापि गरे।
व्रतलाई उपवास पनि भनिन्छ। ‘उप’को अर्थ नजिक, ‘वास’को अर्थ बस्नुहुन्छ। उपवासबाट इष्ट देवीदेवताको दर्शन गर्न, आशीर्वाद ग्रहण गर्न, अनेक रहस्य एवं दैवी चमत्कार आदिको अनुभव र अनुभूति गर्न सकिन्छ।
व्रतसहितको साधनाले मानिस संयमी, आत्मविश्वासी, गूढरहस्यको ज्ञाता बन्दछ। आधुनिक विज्ञानले पनि व्रत हरेक दृष्टिले राम्रो ठानेर सनातनधर्मको विज्ञानमा स्वरमा स्वर मिलाएको छ।
सन् २०१६मा औषधि विज्ञानतर्फ जापानका डा. Yoshinori Ohsumi लाई नोबेल पुरस्कार दिइयो। उनले लामो अनुसन्धानपछि मानवकोषहरूमा हुने फोहोर सफा गर्न भोको (व्रत) बस्नु उपयुक्त हुने तथ्यसहित “१६-८ को व्रत”को चर्चा गरे।
दिनको ८ घण्टाभित्र खाना खाने अनि १६ घण्टा पानीबाहेक अरु केही नखाँदा अनेकौँ रोगहरू निर्मूल हुँदै क्यान्सरबाट मुक्ति मिल्ने बताए। व्रत बस्नु आध्यामिकमात्र होइन स्वाथ्य र वैज्ञानिक दृष्टिकोणले पनि उपयुक्त छ। अन्य धर्म मान्नेहरूमा रोजा, भोको, फाष्टिङ बस्ने परम्परा मौलाएको पाइन्छ, जो व्रतकै स्वरूप हो।
अन्य युगमा मानिसको प्राण हाडमा हुने हुँदा केही नखाईकन लामो समय बाँच्न सक्दथे। कलियुगमा प्राण अन्नमा अडेका कारण नखाई बाँच्नै सक्दैनन्। व्रतका नाममा एक छाक नखाँदा अन्नको नशाबाट मुक्ति पाइन्छ।
नियमितरूपमा फरक-फरक परिकारका भोजन खाएमा मन र स्वास्थ्यलाई फाइदा पुग्दछ। जस्तै मकैको च्याख्लालाई भात, पिठोलाई रोटी र ढिडो, भुटेर एवं सातु बनाएर खान सकिन्छ। खाना खाएपछि आलस्य आउँछ, निद्रा लाग्लाजस्तो हुन्छ।
दुई दिन भोकै बसी तेस्रो दिनमा खाँदा तुरुन्तै निद्रा लाग्छ। के बोलेको, कता हिँडेको थाहा नपाएजस्तो बनाउँछ। खानेबित्तिकै निदायो भने त्यसलाई जगाउन मिहिनेत गर्नुपर्छ।
यस विषयले पनि अन्नमा केही न केही मात्रामा नशा भएको प्रमाणित हुन्छ। व्रतले नशा र दशाबाट जोगाउँछ। ग्रहको दोष, रोगको पीडा, मानसिक सबलताका लागि व्रत बस्न जरुरी छ।
ॐ व्रतेन दीक्षामाप्नोति दीक्षयाप्नोति दक्षिणा।
दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।।
-शुक्लयजुर्वेद (१९।३०)
अर्थात्, “व्रतले दीक्षा प्राप्त हुन्छ। दीक्षाले कार्य कुशल (दक्ष) बनाउँछ, त्यसले श्रद्धा उत्पन्न गर्दछ। त्यो श्रद्धाले सत्य प्राप्त गराउँछ ।” व्रत बस्नाले यी समस्याबाट मुक्ति मिल्छ, चिन्तनशक्तिमा सकारात्मक परिवर्तन आउँछ, शरीर स्वस्थ्य बन्छ।
ज्योतिषशास्त्रले सूर्य निच वा कमजोर भए आइतबार, चन्द्रमाको हकमा सोमबार, मङ्गल भए मङ्गलबार, शनि भए शनिबार व्रत बस्न निर्देश गरेको छ।
ज्योतिषीले ग्रह शान्ति गराउन, आयुर्वेदले पेट र स्वास्थ्य राम्रो बनाउन, अध्यात्मले परमात्मा प्राप्त गर्न व्रत बस्न लगाउँछ। व्यावहारिक रूपले अन्नको बचत एवं रोग निराकरण गराउन, सामाजिक दृष्टिले आत्मीयता सृजना गर्न, वैज्ञानिक दृष्टिले पाचनशक्ति प्रबल गराउन व्रत बस्नु सर्वोत्तम मानिन्छ।
Facebook Comment