साहित्य

कथा : उपरा

खेमराज पोखरेल
९ असार २०८० ७:५७

केही घण्टा पहिलेको त कुरा हो, म चावेलको एउटा उच्चस्तरीय यौन-अड्डामा शान्त भएर चोकैको चिया दोकानमा सुस्ताउँदै थिएँ।

अर्को टेबुलमा चिया कुरिरहेकी एउटी चिनेचिने झैँ लाग्ने महिलालाई मैले अनायासै सोधेको थिएँ, ‘तिमी ठाइँली हौ?’
ऊ त खुसी मारे उफ्रेकी थिई। खाँदै गरेको चिया झण्डै सर्किएको थियो।

उसले भनिथी, ‘मर्‍याे है यो बाहुन काठा त, यतिका वर्षपछि यहाँ कहाँ मर्न आएको, आमाम्मा!’

म सम्झिरहेको छु ती दिन। रँबुवा खोलामा ठाइँली र म नुहाउँथ्यौँ। बगिरहेको सङ्लो पानीमा ऊ निकै अप्सरा लाग्थी। उसको गोरो तिघ्राले मलाई सधैँ काउकुती लगाउँथ्यो। ऊ कहिले मलाई गुन्यु माथि सारेर जिस्क्याउँथी।

कहिले चोलाको एउटा तुना जानी जानी खोलेर जिस्क्याउँथी। ‘किन छिल्लिन्छेस् ए ठाइँली’ भन्थें। ऊ झन् उर्लीउर्ली मलाई जिस्क्याउँथी। किनकि ठाइँली मेरी दामल थिई। म अविवाहित थिएँ। उरन्ठ्यौलो केटो थिएँ। अलमस्त फुच्चे थिएँ। तर ऊ विवाहित संसार भोग्दै थिई। ऊ कलिली भए पनि अनुभवी थिई।

मेरो पनि उमेरले कुर्कुरे बैँसका अलमस्त झिल्काहरू दिन थालेका थिए। अल्लारे थिएँ। बस्तुभाउ चराउन जंगल जाँदा, मेला, पँधेरा, जात्रा पर्वमा र उसको घरतिर जाँदा भेट हुन्थ्यो। मौका मिल्यो कि ऊ मसँग छिल्ली हाल्थी।

ऊ त्यो बेला मलाई जिस्क्याउँथी,

-हामी त मतवाली, जति पोइला गए पनि हुन्छ। कति राम्री राम्री भनेर जिस्क्याउँछौ ए बाहुन काठा! कि आँट गरेर लान्छौ त राम्री लाग्यो भने!

-तर हाहा! यो बाहुन काठाको यत्रो हुती कहाँ पाउनु?’

-यो पटुका ओछ्याएकी छु। यसमा सुत्ने हुती छ काठा?

-पोइले सौता ल्याइहाल्यो। अब के गर्छु भन्नु नि?, पोइला जान्छु नि पाए। लुम्रे बाहुन, कि लैजान्छौ सहरमा ? हाहाहाहा।’

यति बेला मैले उसलाई गौर गरेर हेरेँ। ऊ अलि पाकीजस्ती देखिएकी थिई। तर उसमा चमक उस्तै थियो। हाँस्ता ऊ मिठो डिम्पल बनाएर हाँस्थी। मेरो तुलनामा त ऊ निकै तरुनी देखिन्थी।

हामी बीच उसले र मैले सामुहिक र बेगल बेगल भोगेका जीवनका बारेमा धेरै कुरा गर्यौँ। अहिलेको अवस्थाका बारेमा पनि धेरै कुराकानीहरू भए। म प्रश्न सोध्न थालेँ। ऊ उत्तर दिन थाली।

म, ‘…’

ऊ, ‘पोइले सौता ल्याएपछि बिचल्ली भयो नि हौ गाँठे। राँडले ओछ्यान खोसी हाली। त्यसपछि त सुरुभयो महाभारत। त्यो राँडसँग बेस्सरी जुधेँ। त्यो राँडको ओछ्यानमा गएर मुतीदिएँ। त्यो पोइ भनाउँदो मुर्दार त उतैपट्टि लाग्यो र मेरा साँप्रामा पुन्युको डाँठले बजायो। मेरो त हुर्मतै लिइ हाल्यो नि मोराले। अनि मैले पनि यसै भएन, उसै भएन भनेर मुर्दारको राजखानी जोडले अँठ्याएँ र न्वारानदेखिको वल निकालेर बजियालाई बजारेँ। अइया भनेर एकपल्ट त भुतुक्क भयो नि मुर्दार। झण्डै मरेन नि।’

म, ‘…’

ऊ, ‘अहिलेको बुढोलाई त बालाचतुर्दशीको रँबुवा दोभाने मेलामा भेटेको नि हौ। गाउँका साथीहरूसँग मेला भर्न गएकी थिएँ। अहिलेको बूढो, त्यस्का दिन बिग्रेका, त्यो पनि आएको रै’छ मेलामा। पुलिस रहेछ त्यो। मेलामा कतै अशान्त भइहाल्छ कि भनेर आएको रे असत्ती। आएपछि त जतिबेला पनि मेरै छेउछेउ पो आउँछ त मुर्दार। मलाई जोड जोडले फकाउन थाल्यो। आकाश-पाताल देखाउन थाल्यो। डाँडा काटेर भागौँ भन्न थाल्यो। यसो उसलाई गौर गरेर हेरेँ। कालोकालो धुर्मुस थियो अभागी। जागिरे भएकाले सहर लैजान्छ, राम्रोसँग पाल्छ, कालो भएर के भो र भनेझैँ लाग्यो। म पनि त आखिर सौताका कहाली लाग्दा वचन र पोइको हेला र कुटाइ खाएर कति बस्नु त हौ गाँठे। जम्मा एउटा जुनी पाएको छ मान्छेले, जे त होला भनेर आँट गरें। यस्तै मध्यरात थियो होला, उसले एउटा गैँडा चुरोट झिकेर दियो। मैले सल्काएँ। अनि मेरो ठुटो चुरोट पो तान्छ असत्ती त। बजियाले मेरो मनपेट पाएछ र अनि मेरो गोरो नाडीमा कालो हातले च्याप्प समायो डाम्नाले र मैले पनि पाटे लुङ्गी छोटो पारेर पटुकाले बाँधेँ। हामी दुवैले एकएक डबका जाँड खायौँ। हामी दुवैलाई अलिअलि तीनपानेको मात पनि लागेकै थियो। भाले बास्दा त हामीले तिनजुरे काटिसकेका थियौं। घाम झुल्किँदा त कटारी बजार पुगिसकेका थियौँ, लौ खा त। यत्रैसिति।’

म, ‘….’

ऊ, ‘उही हो नि, हन कताको फेर्नु नि हौ पोइ! मोरो त गतिलो रहेछ नि। असत्तीले मलाई झुक्याएर ल्याएको रहेछ। एक छोरा भएको स्वास्नी पोइल हिँडेर बेवारिस भएको अर्धो पो रहेछ मुर्दार। अब के गर्नु हाम फालिहालियो, भए ठिकै छ, सौता त बेहोरेकी थिएँ भने त्यो एउटा चिचिलो न हो भनेझैँ लाग्यो। भएन भने छोडिदिउँला त्यो मुर्दारलाई र फेरि पोइला जाऊँला भनेझैँ पनि लाग्यो। ‘कि खान्छ ढाँटले, कि आँटले’ भन्ने सुनेकी थिएँ, अनि हाम फालेँ।’

म, ‘….’

ऊ, ‘अनि के नि, उहिले गाउँमा भन्थे छोरी अर्धोलाई दिनु, चाटेर पाल्छ। हो रहेछ। अहिलेको मेरो पोइ त यस्तो गतिलो परेछ कि मलाई त ल्याप्ल्याप्ती चाट्छ हौ। लाजै पचाएर चाट्छ। गाली गर्ने, कुट्ने त परै जावस्। त्यसका दिन बिग्रिएका, मलाई त मालिक्नी बनाएर राखेको छ। मनकी मालिक्नी भएकी छु। मायाको मालिक्नी मै हुँ उसको। आखिर जीवन भनेको माया त रहेछ नि। एक मानो खानु, एक धरो लाउनु र एक ओछ्यान सुत्नु र एक लिँड गोब्य्राउनु त जसले पनि गरेकै छ नि। मुख्य कुरा त गतिलो माया रहेछ। अनि यस्तो गतिलो पोइ किन छाड्नु र!

म, ‘…’

ऊ, ‘त्यो उसको छोरोले त मलाई आफ्नै सहोदर आमाभन्दा पनि आगर गर्छ नि। बिचरा आमाबिनाको टुहुरो। मलाई आमा पाएपछि त छोरो पनि यति मायालु छ कि के भन्नु! त्यसको अनुहार नदेखुञ्जेल मलाई सन्तोकै हुँदैन। अहिले त तरुनी खेलाउने जुँघामुठे लाठे भइसक्यो नि। मैले उसलाई पाइनँ, लाम्टा चुसाउन पाइनँ त के भयो र! ऊ मेरै छोरो हो। आमा भन्नु पनि जन्मले मात्र हुँदो रहेनछ, कर्म दिने आमा झन् आगर हुँदो रहेछ बाबै।’

म, ‘…’

ऊ, ‘पोइल आएको एक वर्षमै छोरी पनि पाएँ नि। छोरीको रङ भने म गोत गएको छ। गोरी। अनुहार र बेहोरा भने ठ्याक्कै त्यस्कै धुर्मुसे बाउ जस्तै छे। इमान्दार र असल। एउटा छोरो भइहाल्यो। छोरी पनि पाएपछि त परिवार पुगिहाल्यो नि हौ यो महँगीमा।’

म, ‘….’

ऊ, ‘१५ वर्ष भयो नि काठमाडौँमा बसेको।’

म, ‘….’

ऊ, ‘पुलिसबाट जागिर छोडेर ऊ अचेल गार्डको काम गर्छ। जिन्दगी चलेकै छ।’

म, ‘…’

ऊ, ‘काम गर्छु नि काठमाडौँमा बसेर खान पाइन्छ? कति लोग्नेको मात्रै हाड घोट्नु ए!’

म, ‘…’

ऊ, ‘छन् नि मुर्दारहरू, बाबुसाहेब बाबुसाहेबनी भन्छन् आफूलाई। उनीहरूकै ढोके, बगैँचे, सुसारे आदि भएर काम गर्छु नि। बिहानदेखि बेलुका अँध्यारो नहुञ्जेल काम गर्नुपर्छ।

म, ‘…’

ऊ, ‘काठमाडौँको महँगी भनेर के गर्नु! जीवन नचलेर के गर्नु? काम नगरे कसैले भाँडामा चामल हालिदिँदैन क्यारे!

म, ‘….’

ऊ, ‘तलब के हुन्छ र हामी नपढेका मान्छेको? कामचलाउ नभए अर्काको घरको चुल्होचम्को, भाँडा–रछ्यान किन पो सम्हाल्नु त? तलब त खासै छैन तर उपरा दिन्छन्। मरिलानु पो के छ र! मरेका भोलिपल्ट दुई दिन भइहाल्छ।

म, ‘…’

ऊ, ‘तिमीले पनि मैले लगाएको सुन देख्यौ हगि बाहुन! यो सुन त मैले तलबले होइन, उपराले लगाएकी हुँ।

म, ‘….’

ऊ, ‘असत्ती नामर्द बाहुन! उहिले पटुका ओछ्याउँदा भाग्थ्यौ, अहिले भालुको मन खन्यूमाथि पापिष्ट बाहुन। अब त भेटे पटुका पनि ओछ्याउनु पर्दैन होला हगि!

म, ‘…’
ऊ, ‘भो मलाई भन्नु पर्दैन। तिमीहरू जस्ता ठूला मान्छेको आँतभेउ थाहा पाइसकेकी छु मैले।

म, ‘….’

ऊ, ‘पोइ गतिलो भेटेपछि बाटाको मादल पो किन हुनु ए! मुख्य कुरो गतिलो र माया गर्ने पोइ हो, बुझ्यौ बाहुन। तिम्री बाहुनी गतिली परिनन् कि क्या हो?’

म, ‘…’

ऊ, ‘मालिकमालिक्नी कस्ता छन् भन्नु हौ? अलच्छिनी छन्। असत्ती छन्। धोखेवाज छन्। तर मेरालागि दानी छन्। भावी छन्। विधाता छन्।

म, ‘…’

ऊ, ‘आफू मात्र कति बकबक गरिरहन्छौ ए काठा! मेरा कुरा सुन न। महाराजगञ्जमा छन् मेरा मालिकमालिक्नी। ठूलो दरवारजस्तो घर छ। घर के भन्नु महल छ नि। कुकुर मात्र ५ वटा छन्। मालिकको छुट्टै गाडी, मालिक्नीको छुट्टै गाडी छ। छोराछोरी विदेशिएका छन्। फूलबारी नै लोभ लाग्दो छ।

म, ‘…’

ऊ, ‘खोइ मालिकको के काम छ मलाई के थाहा? अर्काको चासो पो किन लिनु? बिहानै निस्कन्छन्। बेलुका आउँछन्। कतिदिन त घरमै आउन्नन्। कहिले मध्य रातमा आउँछन्।

म, ‘…’

ऊ, ‘पार्टी त भइरहन्छ नि। मान्छे आइरहन्छन्। रक्सी मात्रै त कति धोक्छन् धोक्छन् असत्तीहरूले। पैसाको त खोलो नै बगाउँछन्। भगवान् पनि असत्ती छन्। ‘हुनेलाई माथैमाथ, नहुनेलाई पुर्परोमा हात’ भनेको यही हो बुझ्यौ।

म, ‘…’

ऊ, ‘उपरावाला काम पनि छ नि। त्यही उपराले जिन्दगी अलि सजिलो भएको छ। यो सुन, छोराछोरीको पाकेट मनी र रामरउसचाहिँ तिनै मुर्दारहरूले दिएको उपराले चल्छ।’

म, ‘…’

ऊ, ‘ए तिमीलाई मैले पाउने उपराको कथा चाहियो हैन? अर्काको रछ्यान किन खोतल्छौ ए बाहुन! यो बाहुन त जातै कुरौटे, कप्टी, हुती नभएको, झेली।’

म, ‘….’

ऊ, ‘कति जिद्दी गछौँ ए बाहुन? भनेँ त, तलबभन्दा धेरै हुन्छ उपरा भनेर।’

म, ‘…’

ऊ, ‘उपरा कसरी आउँछ भन्नु नि। एकदिन काम सकेर घर आउन थालेकी थिएँ। गेटैमा मालिक भन्ने मुर्दार आइपुग्यो र मलाई ‘ठाइँली अलिकति तातो पानी तताइ दे न’ भन्यो। पानी तताउन किचेनमा गएको त मुर्दारले आएर पछाडिबाट च्याप्पै लाम्टामै अँठ्यायो। म त आत्तिएँ नि। मातिएको थियो। लरबरिएको थियो। अनि उही रँबुवा खोलाको चिसो पानीको जोस झिकेर एक लात हानेको त भुँडे मालिक भुइँमा पछारियो। खलाँतीजस्तो ह्याँकार ह्याँकार पो गर्न थाल्यो। अनि मलाई ‘ठाइँली! यो कुरा कसैलाई नभन्’ भन्दै हजार रुपियाँ पो दियो। त्यो दिन मैले पैसा लिइनँ। र सरासर घरतिर लागे।

म, ‘….’

ऊ, ‘भने नि। लोग्नेलाई छिपाउने कुरा हुन्छ? लोग्ने-स्वास्नीका बीचमा कुरा छिपाउन खोज्यो भने त घर कसरी चल्छ! माया कसरी बस्छ! माया नै नभएपछि यत्राको लोग्ने–स्वास्नी!’

म, ‘…. ?’

ऊ, ‘के भन्नु नि लोग्नेलाई, भोलिदेखि काममा जान्न भनेँ नि।’

म, ‘…. ?’

ऊ, ‘के भन्छ नि त्यो लोग्ने भन्ने गोबर ग्वाँजले। मायालु भएर यत्रो मुख लगाएर ‘भयो त नजाऊ, दुःखसुख गरौँला’ पो भन्छ ए। मैले यसो सोचेँ बल्लबल्ल पाएको काम। बजियाले फेरिफेरि त्यसो गर्यो भने चिर्पटाले त्यसका टाउकामा हानेर हुर्मत लिन्छु भन्ने मनमा लागेर आयो, अनि पहिलेझैँ काममा गएँ नि।’

म, ‘….?’

ऊ, ‘के भन्नु नि त्यो मालिक भन्ने मुर्दारले। बजियाले ‘मालिक्नीलाई पनि नभन्नु, कसैलाई पनि नभन्नु है’ भनेर दुई हजार पो दियो त। मेरो पालो पैसा गुटमुटाएँ र बुलोजका चेपमा हुलेँ अनि ‘हुन्छ’ भनेँ।

म, ‘….?’

ऊ, ‘फेरि लोग्नेलाई भनेँ नि। ‘तिमीलाई जे गर्न मन छ गर’ पो भन्छ त। कम्तीको मायालु र विश्वासी छ र मेरो लोग्ने!’

म, ‘…?’

ऊ, ‘अनि सुन न बाहुन, कति प्यारप्यार गरेको? अर्को दिन झन् गजब भयो। दिउँसो थियो। त्यो मालिक भनाउँदो काममा भनेर विराटनगर गएको थियो। घरमा एकजना पाहुना आएको थियो। किचेनको काम सकेर फूलवारीमा पानी हाल्दै थिएँ। असाध्य प्यास लाग्यो र पानी खान किचेनमा गएको त गेष्ट रुममा मालिक्नी त त्यही पाहुनासँग जिप्टिएको आफ्नै आँखैले देखेँ। दुवै नकच्चरा नकच्चर्नी जुरुक्कै उठे।

म, ‘…?’

ऊ, ‘अनि के भन्नु नि, तैँ चुप मै चुप भए नि। अनि मालिक्नी भन्ने किचकन्नीले पल्लो कोठामा लगेर मलाई ५००० दिएर ‘यो कुरा कसैलाई नभन है’ पो भनिन्।

म, ‘…?’

ऊ, ‘भने नि लोग्नेलाई। ऊ हाँसेर मुर्छा। मलाई त ‘लौ लैनो गाई भेट्यौ तिम्ले’ पो भन्छ।’

म, ‘…. ?’

ऊ, ‘कस्तो कुरा गर्छौ हौ बाहुन? हामी त मनमा कुरा खेलाएर बनावटी कुरा गर्ने ठूला मान्छे जस्तो होइन नि। जे छ खुलस्त भन्ने हो। लोग्ने–स्वास्नीका बिचमा विश्वास भनेकै यही हो। विश्वासमा अडेको छ संसार। बिचरा मेरो लोग्ने!’

म, ‘…?’

ऊ, ‘अनि त्यति मात्र कहाँ हो र! ती मालिक्नी भन्ने मुर्दारनीले पनि लोग्ने बाहिर जाँदा नाठा खेलाउन थाली, स्वास्नी बाहिर कतै गयो भने लोग्नेले बेस्से बटुल्न थाल्यो। यो कुरा चुप लागेर कसैको कुरा कसैलाई नभनेको पनि उपरा पाउन थालेँ नि।

म, ‘….?’

ऊ, ‘हाहाहा, ए बाहुन सुन। हुँदा हुँदा त नाठानाठीलाई खाजा बनाउन पो लगाउन थाले। दोकानबाट कोक, बियर, रक्सी, चुरोट किन्न पो पठाउन थाले। यसरी उपरा बढ्न थाल्यो।

म, ‘…?’

ऊ, ‘फेरि यो झेक्ने बाहुन मैलाई पो शंका गर्छ ए! फटाहा बाहुन।’

म, ‘…?’

ऊ, ‘तिम्रो उपरा र मेरो उपरामा फरक छ। तिमी ठूला मान्छे, ठूला कर्मचारीहरू मान्छेलाई बाध्य पारेर लिन्छौ। हलो अड्काएर गोरु चुट्छौ। हामी दिनभरि जोतिएर उपरा लिन्छौँ। उनीहरूले खुसीराजीले दिएको लिन्छु। तिम्रो उपरा पाप हो । मेरो उपरा कर्म हो।

म, ‘…?’

ऊ, ‘के गर्नु त्यो काम छोडेँ भने मैले अर्को काम पाउन्न। अनि त रत्नपार्ककै रेलिङ समाउने चेलीको जस्तो हुँदैन त मेरो हालत!’

म, ‘…?’

ऊ, ‘आफूले जिल्लामा हाकिम हुँदा कतिकति सुताएँ भन्छौ। स्वास्नी काम लागेन भने बरु फेर्नु नि। कानुनले दिएकै छ क्या रे। कताको चाहार्नु! तिमी पनि पातकी लोग्ने मान्छे त हौ नि। पैसा कमाएपछि मति बिग्रँदो रहेछ मान्छेको। पैसा भएपछि लोग्नेमान्छेले मात्र होइन स्वास्नीमानिसले पनि मति बिगार्ने रहेछन्। बराबर पो रहेछ। न उन्नाइस, न बीस। कोही रहरमा, कोही बहमा बिग्रन्छन् भन्थे, हो रहेछ।

म, ‘….?’

ऊ, ‘बुझ्यौ बाहुन? छाला जुदाउने कुरा पनि महत्त्वपूर्ण पो रहेछ। मान्छेले त्यही नपाएर अनेकन विधि गर्दा रहेछन्। ठूला मान्छेको त झन् बिजोग देखेँ मैले। तलवितल परे त्यस्का बाजेको इज्जत जाने अनि नभई पनि नहुने। कत्रो आपत् रहेछ। यो समाजले कहिले यो समस्या राम्ररी बुझ्छ हौ गाँठे। ठूला भनिएका मान्छेको त बाहिर सुकिला देखिने तर भित्र त कालोमैलो भड्खालैभडखाला हुँदो रहेछ बाबै। त्यही घरमा चाल पाएँ।’

म, ‘…?’

ऊ, ‘अनि त्यति मात्र कहाँ हो र! पछि पो थाहा पाएँ, जोडाजोडी भएर फुँडाफुँडी आउँदा रहेछन्। कारमा आउने हौ फुँडाफुँडी पनि। हाम्री मालिकमालिक्नीको त त्यो धन्दा पो रहेछ। जोडाजोडीबाट पैसा लिँदा रहेछन्। यस्ता फुँडाफुँडी बाक्लै आउन थाले। तास खेल्ने बहाना हुने रहेछ। मैले जतिजति चाल पाउँदै गएँ उतिउति मेरो उपरा बढ्दै गयो।

म, ‘…?’

ऊ, ‘तिनीहरूलाई खाजा बनाऊ, दोकानबाट किनेर ल्याऊ, बजिया–बजिनीले जुठ्याएको लुगा लगेर वासिङ मेसिनमा हाल। खाएको जुठा भाँडा माझ। र यो कुरा गोप्य राख। फुर्सद भएमा पूmलमा पानी हाल। यत्ति छ मेरो काम। यसैमा बिहानदेखि साँझ पर्छ।’

म, ‘…?’

ऊ, ‘पुलिसका बाउको के पिताम! ठूलो कम्पाउण्ड छ। कुकुर छन्। सम्पत्ति छ। पाउर छ। पुलिसको हाकिम आफैँ आउँछ।’

म, ‘…?’

ऊ, ‘विश्वास गर, पैसा खाने आइमाई मात्र हुँदा रहेनछन्। लोग्ने मान्छे पनि हुँदा रहेछन्। लोग्नेमान्छे पनि वेश्या हुँदोरहेछ, त्यही घरमा गएर चाल पाएँ।’

म, ‘….?’

ऊ, ‘यत्राको फसाउँछन्? तिनीहरूको फोटो पनि सुटुक्क खिचेर राखेकी छु नि। नत्र त यी ठूला मान्छेको भर हुन्न। कुनै दिन मलाई खाल्डामा पार्न सक्छन् नि मुर्दारहरूले। फोटो छ। केही भने भने त्यही फोटोले जोगाउँछ। त्यही फोटोले उपरा कमाउँछ।

म, ‘…?’

ऊ, ‘यही मोबाइलमा राखेकी छु नि! हेर्छौ? चिन्यौ भने कसैलाई पनि नभन नि। चुपचाप बस। मेरो कसम। नत्र मेरो जागिर धरापमा पर्छ। विश्वासघात गर्नु पनि हुँदैन। अहिलेको संसार नै त्यस्तै छ। के गर्ने! लोग्ने मोरा बाहिरबाहिर चाहार्छन्। अनि स्वास्नीले पनि त केही व्यवस्था गर्नै पर्‍याे। हामी गरिबको जस्तो हो र? थोरै कमायो, पुर्‍याएर खायो। धनी मान्छेको त हुँडार धोक्रो पनि कहिल्यै भरिन्न नि।

म, ‘…?’

ऊ, ‘लौ फोटो हेर। हेरी यी मेरा मालिक हुन्। यो उनकी गर्लफ्रेन्ड हो। कलेज पढ्छे। के गरोस् विचरा पैसा छैन। जे बिक्छ त्यही बेच्नु पर्‍याे नि।

म, ‘…?’

ऊ, अरू पनि देखाउँदै छु त। कति हतार गरेको। लु हेर। हेरी यी मेरी मालिक्नी र यो नकटो उनको ब्वाइफ्रेन्ड हो।

म, ‘…?’

ऊ, ‘अरू हेर। धित मरुन्जेल हेर। तिमीलाई अचम्म लाग्ला, हेरी यो ६० वर्षकी आइमाई हो, यसको केटो यो हो, जम्मा २५ वर्षको छ। त्यो आइमाईबाट पैसा खुव कमाउँछ रे केटोले।’

म, ‘…?’

ऊ, ‘अब कति हेर्छौ? यो चाहिँ अन्तिम हेर। हेरी यो चाहिँ अलि महँगी खालकी अरे। मन्त्री, व्यापारी, सचिब जस्ता ठूला मान्छेसँग आउँछे। पालैपालो फेरिफेरि आउँछे। राम्री पनि बिछट्टै छे। लोग्ने जिल्लातिर घुस्याहा अफिसमा हाकिम छ रे। विचरा के गरोस् ठूलै मान्छेलाई पट्याए पो दाम पनि हुने, खतरा पनि नहुने। तेल्ले पो दिन्छे त गतिलो उपरा। आफू त के दिँदी हो र! उनीहरूलाई नै दिन लाउँछे नि।’

मैले उसले देखाएको फोटो हेरिरहेथेँ। फोटोमा मन्त्री तथा सचिव उही थिए, जसले म

मेरो सरुवा जिल्लाको मालवाला अफिसमा गराइरहन्थे हरेकपटक। फोटोको व्यापारी उही थियो जसले मलाई घर बनाउन ठूलो सहयोग गरेको थियो। त्यसपछि मेरो अनुहार एकाएक उदास भयो। महँगी खालकीमा मेरी आफ्नै श्रीमतीको फोटो थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *