जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको बारेमा आजको विश्वमा निकै चर्चा गरिन्छ र ठूला ठूला गोष्ठीहरूको आयोजना हुनुका साथै ठेलीका ठेली प्रतिवेदनहरू समेत तयार हुन्छन्। तर ती प्रतिवेदनहरूमा समावेश गरिएका सुझावहरूको पालना कहिँ कतै पनि गम्भीरतापुर्वक भएको पाइँदैन।
बरु हरेक वर्ष विश्वमा जलवायु परिवर्तन बारे हुने सभा, गोष्ठी र सम्मेलनहरूमा प्रयोग हुने मसलन्द, प्रतिवेदन, नोट्स तथा प्रकाशनहरूमा नै कति रूख ढालेर उत्पादन गरिएका कागजको खपत हुन्छ होला।
विश्वका महत्वपूर्ण विशाल वन क्षेत्र जस्तै अमेजन, दक्षिण-पूर्वी एशियाका निकै पुराना वर्षावन (रेन फरेस्ट) क्षेत्र, हिन्दूकुश पर्वतमालाका वन क्षेत्र आदिमा हुने गरेका विनासलाई रोक्न अझ पनि सकिएको छैन।
नेपाल कै कुरा गर्दा हाल वन क्षेत्रको विकासमा सुधारका संकेत आएता पनि विकासको नाममा वन विनास गर्ने परिपाटी पुनः मौलाउन थालेको छ। केही भ्रष्ट राजनैतिक नेताहरूको निहीत स्वार्थमा यस्ता भयानक कुकृत्यका योजना बुन्ने कार्य भइ रहेको प्रष्टै देखिन्छ।
तर पनि त्यसता कुकार्यलाई सफल हुन कदापि दिनु हुँदैन। त्यस्तै औद्योगिक विकासको नाममा कोइला र जीवाश्म इन्धन (फसिल फ्यूल)को अत्यधिक खपतले निम्त्याउने उष्ण ताप र प्रदूषणलाई पनि कम गर्न सकिएको छैन।
त्यसमाथि अष्ट्रेलिया, अमेरिका र युरोप तथा विश्वका अन्य भागका कुनै न कुनै ठाउँमा वर्षेनि लाग्ने विशाल डढेलोका कारण पनि प्रदूषण, तापक्रममा वृद्धि र वन तथा धनजनको ठूलो विनास हुने गरेको छ।
भूउपग्रहमार्फत पृथ्वीका विभिन्न भागको फोटो खिचेर भौगर्भिक अनुसन्धान गर्न शुरु गरिएको पनि करिव ६५ वर्ष हुन लागि सकेको छ। पृथ्वीमा भएका वन क्षेत्र, कृषि क्षेत्र, पानी तथा भूभाग, नदीनाला, पर्वतमाला, विभिन्न मुलुकका सिमाना, वातावरण, मौषम, दैवी प्रकोप लगायत धेरै कुराको अध्ययन गर्न भूउपग्रहबाट लिइएका तस्विर/भिडियो र रिमोट सेन्सिङ प्रविधिले ठूलो मद्दत पु¥याएका छन्। विगत ६५ वर्षमा यस सम्बन्धि प्रविधिले पनि ठूलो फड्को मारिसकेको छ।
जलवायु परिवर्तन कै मात्र कुरा गर्दा पनि प्रत्येक वर्ष वा दशकमा वा पच्चिस वा पचास वर्षमा मौषम परिवर्तन कुन हिसाबले भइरहेको छ भन्ने कुराको राम्रो जानकारी आजको उन्नत प्रविधिले प्रदान गरिरहेको छ।
तर बिग्रँदो जलवायु परिवर्तनमा सुधार ल्याउने कुरा चाहिँ सभा-सम्मेलनमा मात्र बढी हुने र यो मामलामा ठोस कार्य खासै भएको देखिँदैन।
वन-जंगल फडानी र यसको अप्राकृतिक दोहनमा नियन्त्रण गर्नुका साथै सक्दो वृक्षरोपण तथा सिमसार क्षेत्रको संरक्षण र मानव निर्मित ताल तथा पोखरीहरूको व्यापक निर्माण र वर्षे पानी जम्मा गर्ने जस्ता पुरातन प्रणालीलाई पुनर्जागृत गर्नु पर्दछ।
हिन्दूकुश क्षेत्र अफगानिस्तानदेखि पाकिस्तान, भारत, चीन, भुटान र वर्मासम्म फैलिएको छ। यस क्षेत्रमा पर्ने अफगानिस्तानको करिव पुरै क्षेत्र र पाकिस्तान र भारतको केही क्षेत्र जलवायु परिवर्तनका कारण ज्यादै सुख्खा र पथ्थरमात्र भएको उजाड क्षेत्र भइसकेको छ र यहाँ पानीको ज्यादै नै अभाव हुन थालेको छ।
करिव एक दशक अघिदेखि भारत र नेपालमा अवस्थित हिमालय क्षेत्रमा पनि हिउँ पग्लने क्रम बढ्दै गएको छ भने हिमालहरू काला र नाङ्गा देखिन थालेका छन्। केही वर्ष अघिदेखि त बेला बेलामा हिमालका चुचुराहरूसमेत हिउँ विनाका काला पथ्थरमा परिणत हुने गरेका छन्।
सन् १९८० को दशकमा खिँचिएका तस्विरमा भएका नेपालका हिम नदीहरू आज पग्लेर तालमा परिणत भइसकेका छन् भने त्यतिबेलाका बाक्लो हिउँ भएका टाकुराहरू पनि नाङ्गा हुँदै गएका छन्।
त्यतिबेला एकाध साना हिम ताल मात्र रहेकामा आज नेपालमा ३,००० मिटरको उँचाई भन्दा माथि करिव २,००० वटा हिम ताल बनिसकेको कुरा विभिन्न विज्ञहरू बताउँछन्।
हिमाली क्षेत्रमा पनि सामान्य भन्दा बढी र अहिलेसम्म कै अधिक तापमान यो वर्ष रेकर्ड गरिएको छ। फलस्वरुप हिमनदी पग्लेर तालहरू बन्न शुरु भएको छ। हिमालको हिउँ पग्लेर बन्दै गएका तालहरू फुटेर तल्लो भेगमा अप्रत्याशित बाढी र पहिरो जान सक्छ भने त्यस्ता तालमा हिमालबाट हिउँका ठूला ठूला पहिरो खसेर पानी छछल्किन गई बाढी र पहिरो जाने सम्भावना पनि उत्तिकै हुने गर्दछ।
हाल क्षणिक रूपमा मनोरम ताल बन्न गएको भएता पनि पछि यस्ता तालहरू सुक्दै जान्छन्। यो नै मरुभूमिकरणको पहिलो चरण हो। यो क्रम रहिरहेमा वा बढ्दै गएमा केही दशक भित्र हिमालको हिउँ झनै पग्लेर ताल बनेका यस्ता क्षेत्रको पानी सुक्दै जाने र पथ्थरै पथ्थरको मरुभूमि बन्ने क्रममा हिमालय पुग्न सक्दछ। यो एक अति विकराल स्थिति हो।
अर्को तर्फ चुरे पर्वत श्रृङ्खलामा पनि प्राकृतिक श्रोतको चरम दोहन हुन थालेपछि त्यहाँको वातावरणमा व्यापक फेरबदल हुन शुरु भएको छ। जमिन मुनीको पानी समेत सुक्नुका साथै वन-जङ्गल मासिने र ढुङ्गा, बालुवा, गिट्टीको अनधिकृत ओसार पसार तथा योजना विनाका बाटा खन्ने कामले गर्दा चुरे क्षेत्र जर्जर हुँदै गएको छ। तर चुरेभाँवरको दोहनमा कुनै कमी आएको छैन।
हिमाल र पहाड मात्र नभई तराईमासमेत कृषियोग्य जमीनको प्लटिङ र घर तथा शहरको निर्माण, बढ्दो जनसङ्ख्या र यातायातको साधनको बढ्दो चापले गर्दा पानीको हाहाकार, बढी उष्ण वायुका साथै खाद्यान्नको अभाव हुन थालेको छ।
यस्तो अवस्थामा बढ्दो तापमानसँगै पानीको अभाव र उष्णताले गर्दा माटोको उर्वरा शक्ति घट्ने हुँदा कृषियोग्य जमीनको उत्पादकत्वमा ह्रास आउन थाल्छ भने मानवजाती र पशुपंक्षीको जीवनचक्रमा नै नकारात्मक प्रभाव पार्न थाल्दछ।
पुरै मुलुक तथा दक्षिण एशियाको नै वातावरणमा ह्रास आउन थालेकोले पनि जलवायु परिवर्तन हुनमा थप बल पुगेको छ। मनसुनको कुनै ठेगान नहुने, कुनै वर्ष लामो अवधिसम्म पानी पर्ने त कुनै वर्ष खडेरी लाग्ने, प्रत्येक वर्ष तापक्रममा वृद्धि हुँदै जानाले जनजीवन नराम्ररी प्रभावित हुने तथा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा महामारीहरू बढ्दै गएका छन्।
वैज्ञानिकहरूको एक आँकडा अनुसार आउँदो ५० वर्षमा दक्षिण एशियामा गर्मीमा अप्रत्याशित वृद्धि भएर वर्षेनी करोडौं मानिसको मृत्यु हुन सक्ने अवस्था आउने छ। यसको शुरुवात भइ नै सकेको संकेत पाउन थालिएको छ।
यो वर्ष भारत, पाकिस्तान, वङ्गलादेश र नेपालका समेत धेरै भूभागमा गर्मीले नयाँ रेकर्ड बनाई सकेको छ भने सुख्खा तथा अप्रत्याशित वर्षा र बाढीले पनि वितण्डा मच्चाउन थालिसकेको छ। भारतमा धेरै मानिस गर्मीका कारण मरेका खवर प्राप्त भइरहेका छन्।
वर्षभरका विभिन्न समयका मौषमसँग नेपालका चाडपर्वहरूको अकाट्य सम्बन्ध कायम रहेकोमा जलवायु परिवर्तनले गर्दा केही समय यता चाडपर्व र सोसँग सम्बन्धित मौषमको बीचमा तालमेल नहुने अवस्था सिर्जना हुँदै गएको देखिन्छ।
विगत ६० वर्षमा सायद गत वर्षमात्र शिवरात्रीको दिन पानी नपरेको हुनु पर्दछ भने असार १५ तिर रोपाई शुरु गरेर जात्रा मनाउने कार्यमा पनि यथेष्ट वर्षाको कमीका कारण हौसला गुमेको अवस्था छ।
अहिले दशैँ र गर्मी तिहारका साथै माघे झरी माघमा नपर्ने, माघीमा जाडो नहुने, चैते हुरी चैतमा नआउने तथा मनसुनको शुरुवातमा पनि ढिलाई हुँदै जाने क्रम जलवायु परिवर्तनसँगै जोडिएको छ। केही दशक अघिसम्म पहाडी इलाकामा भदौतिर देखि ठण्डी मौषम शुरु हुने गरेकोमा हिजो आज कार्तिक महिनासम्म पनि गर्मी हुने र लामखुट्टे र साङला जस्ता जीवहरू देखा परिरहने हुन थालेको छ।
एकातिर हामी जलविद्युतको ठूलो सम्भावना भएको राष्ट्रको रूपमा चिनिन्छौँ भने अर्को तर्फ जलवायु परिवर्तन कै कारण हाम्रो जलविद्युत उत्पादन क्षमतामा ठूलो ह्रास आउन थालिसकेको छ भने हालैका बाढी पहिरोका कारण पनि कैयन् चालु तथा निर्माणाधीन जलविद्युत केन्द्र तथा प्रसारण लाइनहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। जलवायु परिवर्तन कै कारण भूमिगत जल भण्डार पनि सुक्दै गएको छ।
गर्मी छलेर ठण्डा क्षेत्रमा बसोवास गर्ने आकांक्षा मानवजातिमा मात्र हुँदैन। उदाहरणको निम्ति केही वर्षदेखि नेपालमा नै लामखुट्टेदेखि लिएर कैयन् प्रजातिका चराचुरुङ्गी र जङ्गली जनावर जस्तै चितुवा, बाघ र सर्प, विच्छी समेत अग्लो भूमि खोज्दै पहाड र हिमाल पुग्न थालिसकेका छन्।
मलेरिया र डेङ्गु अब तराईको मात्र समस्या नभई नेपालका सबै क्षेत्रमा पैmलँदै गएका छन्। त्यस्तै तापमान वृद्धि कै कारण हिजो आज उच्च पहाडी इलाकामा पनि आँप र लिच्ची फल्न थालेका छन्।
वर्षेनी टाढा टाढाबाट नेपालमा आएर केही समय बस्ने आप्रवासी चराहरूको संख्या बिस्तारै घट्न थालेको छ। तापमान र जनसंख्यामा वृद्धि तथा खेतीयोग्य जमीन र सिमसार क्षेत्रहरू घट्दै जानाले पनि त्यस्ता चराहरूले खानपान, बसोवास र बचेरा हुर्काउने जस्ता कुरामा यो क्षेत्र असुरक्षित भएको महसुस गरेर अन्यत्र जान थालेका छन्।
जलवायु परिवर्तन कै कारण कैयन् जीव-जन्तु तथा माछा र किटाणुहरूको साथै धेरै थरी वनस्पति समेत लोप हुने क्रम बढ्दो छ। आकाशे पानीमा निर्भर हुनु पर्ने कृषिमा ह्रास आएपछि पशुपंक्षीको अवैध शिकारमा पनि वृद्धि हुने गर्दछ र फलस्वरूप प्राकृतिक इकोसिस्टममा नै खलल पर्न थाल्दछ।
मौषमविद् तथा जलवायु विज्ञानका ज्ञाताहरूका अनुसार जलवायु परिवर्ततलाई रोक्ने उपायहरू अवलम्बन गरेको खण्डमा पनि एक्काइसौँ शताव्दिको अन्तसम्ममा हिमालयबाट ५० प्रतिशत हिउँ घटेर जानेछ।
हिउँ पग्लँदै जानाले हिमाली र पहाडी क्षेत्रमा अप्रत्यासित रूपमा विशाल बाढी आउने र भूक्षय हुने भय रहन्छ र यसको शुरुवात हुन थालिसकेको छ। एक वर्ष अघिको मेलम्ची क्षेत्रको बाढी र हालैको संखुवासभाको बाढी तथा पहिरो अधिक वर्षा भएर मात्र आएको होइन।
लामो समयसम्म सुख्खा लाग्ने र भिषण वर्षा तथा हिमतालबाट निस्केकोे पानी समेतको कारण यस्ता भयानक बाढी तथा पहिरो जाने गर्दछन्। यस्तो स्थितिले गर्दा ठूलो धनराशी खर्चेर निर्माण गरिएका पूर्वाधारहरू समेत सधैं खतरामा परिरहेका हुन्छन् भने मानिसहरू थातथलो छोडेर अन्यत्र बसोवास गर्न जाने क्रम पनि बढ्दछ।
विश्वको तापमान बढ्दै जानाले हिमालय जस्तै पृथ्वीको उत्तरी र दक्षिणी गोलाद्र्धमा रहेको विशाल हिउँको भण्डार पनि छिटो छिटो पग्लन थालेको छ। विश्वका अन्य क्षेत्रभन्दा उत्तरी गोलाद्र्धको तापमान तिव्र रूपले बढ्दै गएको छ भने दक्षिणी भागमा अवस्थित एन्टाकर््िटका पनि ज्यादै प्रभावित हुँदै गएको छ।
जलवायु परिवर्तन कै कारण पानीको सतह ह्वात्तै बढ्न थाल्नुका साथै विभिन्न क्षेत्रमा भूमिगत जल भण्डार घट्दै जानाले विश्वका धेरै टापु राष्ट्रहरू डुब्दै जाने तथा समुद्रको किनारामा अवस्थित विशाल शहरहरू भित्र पानी पसेर जटिल समस्या निम्तने गरेको छ।
घना र अव्यवस्थित शहरीकरणको कारण जमीन बिस्तारै भासिँदै जाने क्रमको शुरुवात भइसकेको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्क, भारतको मुम्बइ र कोलकाता, भियतनामको हो चिह्मीन सिटी, थाइल्याण्डको बैंकक, इन्डोनेशियाको जकार्ता आदि पानीको वहाव र सतह बढ्दै जानाले खतरामा पर्दै गएका छन्।
त्यस्तै बंगलादेशको समुद्री किनारा, माल्दिभ्स आदि डुब्दै जाँदै छन् भने मेक्सिको शहर तथा कैयन् अन्य घना बस्ती भएका शहरहरू भासिँदै गएका छन्। यस्ता शहरहरूमा हुने दैवी प्रकोपहरूबाट शहरी गरीव समुदाय नै बढी प्रभावित हुने गर्दछन्। त्यस्ता मानिसहरू घरबार विहिन हुन पुगेर वातावरणीय शरणार्थीको रूपमा बाँच्न वाध्य हुने गर्दछन्।
हावामा कार्वन डाई अक्साइडको मात्रा अधिक हुन थालेकोले यसले एकातर्फ सबै प्रकारका जिवहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ भने अर्को तर्फ समुद्रको सतह तथा जमीनमा पनि यसले अम्ल वर्षा गराएर वातावरणलाई झनै दुषित बनाइरहेको छ। समुद्रको समेत तापमान बढ्न थाल्नाले पानीमा जिउने जिवहरू पानीको सतहमा भन्दा पनि निकै गहिराई भित्र बस्न थालेका छन्।
जलवायु परिवर्तनको पहिलो शिकार कृषि क्षेत्र हुने भएकोले खाद्यान्नको संकट हुनुका साथै कृषि क्षेत्रमा आश्रित जनसंख्याको आर्थिक र सामाजिक जनजीवनमा ठूलो फरक पर्न थाल्दछ।
त्यसरी नै मुलुकको समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पर्न थालेर यसले रोजगारी र आर्थिक गतिविधि तथा खासगरी मुलुकको कृषिमा आधारित उद्योगधन्दा र व्यापारलाई समेत शिथिल बनाइदिन सक्छ। अप्रत्याशित बाढी पहिरोले गर्दा बनिसकेका र निर्माणाधीन पुर्वाधारहरू ध्वस्त हुन जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ।
ग्लोवल वार्मिङ, ग्रिनहाउस इफेक्ट तथा जलवायु परिवर्तन जस्ता विश्वभर असर गर्ने कुराहरू विशेषगरी औद्योगिक क्रान्ति पछि शुरु भएका हुन् र यसमा आजका विकसित राष्ट्रहरूका साथै कोइला तथा पेट्रोलियम पदार्थ अधिक खपत गर्ने हाम्रा विशाल छिमेकी भारत र चीनको पनि उत्तिकै हात छ। यी राष्ट्रहरूमा पनि हाल आएर यस्ता गौढ विषयहरूलाई नियन्त्रणमा राख्न विशेष कार्यक्रम तथा पहलहरू शुरु भएका छन्।
सिंगापुर, जापान, चीन तथा केही युरोपेली मुलुकहरू यस्ता समस्या समाधान गर्न व्यवहारिक रूपले नै सफल हुँदै गएका छन् भने अमेरिका, क्यानाडा, अष्ट्रेलिया, भारत जस्ता मुलुकका वैज्ञानिकहरूले यो कुरामा विशेष अनुसन्धान गरेका र समाधानका बाटाहरू पहिल्याएका छन्।
हामी जस्ता साना मुलुकले भने आफ्ना आर्थिक विकासका ढाँचा र जीवनशैलीमा केही परिवर्तन गरेर पनि केही हदसम्म आफ्नो तर्फबाट जलवायु परिवर्तनमा कमी ल्याउने प्रयास गर्न सक्दछौँ।
हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनको निदानका लागि राज्यस्तरमा नै पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउँदै नवीकरणीय उर्जा जस्तै जलविद्युत, सौर्य तथा वायु र वायो उर्जाको विकास तथा उपयोग गर्ने, वातावरणमैत्री आर्थिक विकास र निर्माणमा विशेष ध्यान दिने तथा आवश्यकता अनुसार मात्र सवारी साधनको उपलब्धतामा विशेष पहल गर्ने कार्यको आजै थालनी गर्नु पर्दछ।
वन-जंगल फडानी र यसको अप्राकृतिक दोहनमा नियन्त्रण गर्नुका साथै सक्दो वृक्षरोपण तथा सिमसार क्षेत्रको संरक्षण र मानव निर्मित ताल तथा पोखरीहरूको व्यापक निर्माण र वर्षे पानी जम्मा गर्ने जस्ता पुरातन प्रणालीलाई पुनर्जागृत गर्नु पर्दछ। कृषि, औद्योगिक र शहरी क्षेत्रहरू छुट्टाएर बढी भन्दा बढी हरित र जल क्षेत्रको विकास गर्नु उचित हुन्छ।
आम जनतामा वातावरणको महत्व झल्काउन व्यापक रूपमा वा अर्को शव्दमा प्रदेश र स्थानीय स्तरमा समेत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ भने सार्क सदस्य राष्ट्रहरूले एकापसमा समन्वय गरेर यी सब कार्यक्रम सबै सदस्य राष्ट्रमा सञ्चालन गर्नु आवश्यक छ।
लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन्।
Facebook Comment