अमेरिकामा बुद्ध, मेरी छोरी र म
‘मेरो नाम सुनिता’, ‘ओ सुनिता, हिन्दी फिल्ममा हिरोइनको नाम सुनिता थियो’ एक नाइजेरियन साथीसँग परिचयको क्रममा पहिलो प्रतिकृया यस्तो थियो। झनक्क रिस उठे पनि रिसलाई मुस्कानले छोपेर ‘ए हो र?’ भनें।
उसले म कहाँको भनेर सोध्न आवश्यक पनि ठानेन होला र त केही सोधेन बरु थप्दै गयो। “मैले ८० को दशकतिर राजेश खन्ना र रेखाको फिल्म हेरेको थिएँ, त्यसमा रेखाको नाम सुनिता थियो” म उसकाे कुरा आश्चर्य मानेर सुनि रहेकी थिएँ।
८० को दशकमा नै अफ्रिकी देशहरुमा बलिउडको पकड रहेको कुराले अचम्म लागेको थियो। तर मन एक किसिमले खिन्न पनि भएको थियो। मेरो नाम र अनुहारको नाक नक़्शा हेर्ने वित्तिकै उसले मेरो पहिचान दिन सकेको थियो।
हुन त यो पहिलो घटना थिएन। बोलीचाली, रंगरोगन र खानपान हेरेर सोध्दै नसोधी इण्डियाको कुन शहरबाट आएकी हौ भनेर धेरैले सोध्दथे।
यहाँ अफ्रिकनले नामको आधारमा नै बलिउडको आडमा मलाई भारतीय बनाइसकेको थियो। कता कता मन कसैले चिमोटेको जस्तो भान भयाे। अगाडि ६ फिट अग्लो कालो तर हँसिलो अधबैंशे” तिमी रेखा जस्तै सुन्दर छौ, सुनिता” भनेर मुस्काइ रहेको थियो।
“आदिपुरुष” मा नेपालको सार्वभौमिकताको गलत प्रचार गर्दा औंलो ठड्याउनु गल्ती हो? परदेशमा नेपाली फिल्म हेर्न विदा नै लिएर जाने गर्छन्। नेपालमा केही समयको लागि हिन्दी चलचित्र रोक्नु कसुर हुन्छ भने हरेक नेपालीले पहिचानको प्रश्नको सामना कहिलेसम्म गर्ने?
खै किन किन उसकाे प्रशंसाले मेरो पहिचानलाई जिस्काएको जस्तो लाग्यो। अनायासै मुखबाट निस्कियो,” म नेपाली हुँ। सगरमाथा र बुद्धकाे देशबाट आएकी हुँ। आइन्दा मलाई इन्डियन नभन” फटाफट उसकाे अनुहार नै नहेरी अगाडि बढें। मनमा त्यो घटनाले धेरैले दिन डसी रह्यो। जति डस्यो उति आफ्नो पहिचान अमूल्य लाग्यो र त बुद्ध र सगरमाथालाई काखी च्यापेर हिंड्न थालें।
एक दिन छोरी स्कुलबाट रुँदै आइ। अनुहार मलिन थियो। “के भयो सुरवी?” छोरीलाई सोधें। ” आज स्कुलमा क्विजमा सही उत्तर दिँदा पनि नम्बर काटियो!” उसकाे अनुहार न्याउरो भएपनि स्वरमा आक्रोश मिसिएको थियो। म अलमल्ल परें।
“सही उत्तर दिँदा पनि कसरी नम्बर काटियो त? गुरुसँग भनेनौ?” एकै स्वासमा सोधें। अमेरिकामा गुरुहरु अति नै मिलनसार र सहयोगी हुन्छन्। आफूलाई सही लागेको कुरा खुलेर गर्न सकिन्छ। ” कापी नै लगेर देखाएँ तर पुस्तकमा मैले लेखेको भन्दा छुट्टै उत्तर थियो।” सुरवीले खिन्न हुँदै भनी।
“के थियो र प्रश्न?” झन् कौतुहल बढ्छ। निराश हुँदै भन्छे, “बुद्ध कुन देशमा जन्मिएका हुन्?” उनको परीक्षामा सोधिएको प्रश्नले बल्ल रहस्य खुले जस्तो भाएर सोधी हालें। “कितावमा के थियो र?” रुन्चे स्वरमा भन्छे, “उत्तर इण्डिया”।
अब भने सबै भेद प्रष्ट खुलेको थियो। जुन बुद्धलाई शीरमा सजाएर आफ्नो मातृभुमीको परिचय दिँदै हिडेकी थिएँ, त्यही पहिचान सन्तानलाई दिएकी थिएँ। त्यो चोरी भइ सकेको रहेछ।
संसार भरिको पाठ्यपुस्तकमा ग़लत इतिहास पढाइएको कुराले दिनदहाडै कसैले आफ्नो सम्पत्तिमा डाका लागे जस्तो, आफ्नो मुटुमा कसैले दह्राे लात्ता हाने जस्तो भयाे। “म चुप लागेर त बसिन।
गुरुलाई म बुद्धकाे देशबाट आएकी हुँ। यो तथ्य ग़लत छ भने” सुरवीको दृढ आवाज। तर उसँग त्यसलाईइ पुष्टि गर्ने कुनै प्रमाण थिएन। सुरवीको गुरुले पनि खिन्न माने रे।
त्यस्तै, अमेरिका आए लगत्तै जिविकोपार्जनको लागि काम गर्नु अनिवार्य नै हुन्छ। नेपालीहरुलाई सजिलै विश्वास गरेर काम दिनेहरु भारतीय नै हुन्छन्। कामको पहिले दिन नै नेपाली भनेर जान्ने वित्तिकै म्यानेजर हिन्दीमा बोल्न थाल्यो। म त अक्क न बक्क परें।
हुन त भर्खर भर्खर अमेरिका आउँदा अंग्रेजी बोल्न नै जाने पनि लवज नमिल्ने हुनाले हिन्दीमा बोल्दा सजिलै लाग्न पर्ने हो। तर एक नेपालीप्रतिको उसकाे अड्कल अन्दाज खासै मन परेन। लाग्यो, कसैले जवर्जस्ती मेरो पहिचान हडपेको छ।
त्यसैले हिन्दी भाषा बुझे पनि नबुझे झैं गरेर अंग्रेजीमा नै बोलेकी थिएँ। सायद मेरो व्यबहारले उसलाई दह्राे झापड लागेछ र उसले मलाई काममा राखेन। हात लागि सकेको काम गुमाउन पर्दा दुख लाग्यो। रोजीरोटीको चिन्ता पनि भयो। तर आत्मसम्मान दंग परेकी थिएँ।
यस्ता घटनाहरु दिनमा धेरै पटक व्यहोर्नु प्रवासी नेपालीको दैनिकी नै हो। दिनमा कम्तीमा पनि ४/५ पटक म “नेपाली हुँ” भनेर चिनाउन पर्ने परिस्थिति सिर्जना हुन्छ।
जहाँ जहाँ पुगिन्छ, त्यहाँ त्यहाँ सगरमाथाको उचाइ र बुद्धकाे शान्ति बाँडी रहे जस्तो भान हुन्छ। काममा पनि पहिचानको लागि पटक पटक सम्झाइ राख्नु पर्छ। विदेशीले झट्ट हेर्दा उस्तै संस्कृति, उस्तै अनुहार र भेषभुषाले जटिल बनाइ राखेको हुन्छ।
हिजो मात्र अमेरिकन नेपाली फिल्म उत्सवमा सहभागी हुँदा विशेष अतिथीहरुले इतिहास, कला, संस्कृति एवं भावनाको चित्रण चलचित्रहरुको माध्यमबाट हुने यथार्थ व्यक्त गरिरहँदा मेरो मन सातसमुद्र पारि मातृभुमीमा आफ्नो पहिचान, स्वाभिमान र सार्वभौमिकताको लागि एक्लै लडिरहैको मान्छे सम्झिएँ।
जसरी एक नाइजेरियनले हिन्दी फिल्मकाे भरमा कसैको पगिचान अड्कल गर्छ। बद्ध सम्बन्धि गलत इतिहास नयाँ पुस्तालाई घोकाइन्छ। त्यसैगरि हालै “आदिपुरुष” मा नेपालको सार्वभौमिकताको गलत प्रचार गर्दा औंलो ठड्याउनु गल्ती हो? परदेशमा नेपाली फिल्म हेर्न विदा नै लिएर जाने गर्छन्। नेपालमा केही समयको लागि हिन्दी चलचित्र रोक्नु कसुर हुन्छ भने हरेक नेपालीले पहिचानको प्रश्नको सामना कहिलेसम्म गर्ने?
Facebook Comment