पशुपतिनाथको शिवलिंगमा बुधबार विहान जलहरी राखिने

डिसी नेपाल
१२ असार २०८० १३:००

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथ मन्दिरबाट निकालिएको जलहरी बुधबार विहान पशुपतिनाथ मन्दिरमा अवस्थित शिवलिंगको गर्भगृहमा राखिने भएको छ।

‘अख्तियारले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गरिसकेकाले भोलि (बुधबार) बिहान आठ पछि जलहरी धार्मिक विधि अनुसार राखिने छ,’ पशुपति क्षेत्र विकास कोष स्रोतले भन्यो।

०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरीलाई लिएर विवाद भएपछि अख्तियारले आइतबार जलहरी बनाउँदा प्रयोग भएको सुनको तौल लिएका थियो।

अख्तियारले आइतबार पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियोे।
अख्तियारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो।

जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ। सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ। सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको अख्तियार स्रोतले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियोे। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *