अनलाईन सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ
काठमाडौँ। विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका- १४ कंलकी बस्ने २५ वर्षीय विबेक चौधरी, काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन्।
राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाईन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाईन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
Facebook Comment