पहिरोले काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथ अवरुद्ध

डिसी नेपाल
१५ असार २०८० ९:४३

मकवानपुर। काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ।

मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

यता हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिंगन प्रहरीले रोकेको छ। चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *