साहित्य

लघु कथाः बोझ

सविता बस्नेत दानी
१६ असार २०८० ६:०८

‘हैन यो घरको काम त सबै मेलै नै गर्नु पर्ने, ठेक्कै लिए जस्तो पो छ त, कसैले सिन्को भाच्न नहुने, यति मकै छोडाएर राख्दिनु है भनेको त शून्य कान लगाए बसेको छ, कस्ती अलिक्षिनि होलिन् अनि यस्ताले कसरी घर गरि खान्छन्? कसरी सासू ससुरा रिझाएर खान सक्छन्? बसी बसी खान पाएपछि अनि माइत आएर न नथुप्रिउन त।’

काखमा दुधे छोरी च्यापेर एकतमासले क्षितिज नियाली रहेकी सम्झना, भाउजूको कर्कस आबाजले झस्की।

‘ला! भाउजुले मकै छोडाइदिनु भनेकी थिइन् मैले त भुसुक्कै बिर्सेछु।’

काखकी छोरी काखैमा च्यापी जुरुक्क उठेर हानिँदै एकै सासमा बुइकलमा पुगी। बिरामी आमा सकी नसकी मकै छोडाउँदै रहिछन्।
‘खोइ छोड्नुस् त आमा म छोडाउँछु।’

‘छोडाइस् तैंले! तैंले मन लगाएर काम गर्ने भए त आफ्नै घर गरेर खाइ हाल्थिस् नि?’

आमाको यस्तो वचन सुनेर सम्झनाको गहभरी आशु भरियो। आखाको डिलसम्म आएका आशुका भेल न बगाउन सकी न त आखैं भित्र फर्काउन नै सकी।

आमा एकोहोरो फतफताउँदै मकै छोडाउँदै थिइन्-‘आजकालका केटीहरुलाई के भन्नू हामीले कति दुख सहेर, सासू लोग्नेको कति लात सहेर घर गरी खायौं, अहिलेकालाई के भाको खै यस्सो ठाकठुक पर्न पर्छ पोको बोकेर निस्किन्छन्। कत्ति पनि सहनशीलता भन्ने नै छैन।’

आमाको अनुहारमा एकोहोरो हेरिरहनु भन्दा सम्झनासँग कुनै विकल्प थिएन।

‘आँसु र भात सरि गरी खान्थेउ हामीहरु। लोग्नेको लात, सासू, नन्द र आमाजुको लुछाइ कति सहनु पर्थ्यो। सहन नसकी माइत गएर बिलौना पोख्यो, उल्टै आमाबाको हप्की सहनु पर्‍याे। जति बुहार्तन सहनु परे पनि आफ्नो मन दह्रो गरेर त्यहि लोग्नेको सत मा बसेका थियौ र पो अहिले शिर ठाडो गरेर बस्न सकेका छौ।’

‘हेर नानी, जस्तो भए पनि घर भनेको घर हो, पोइको घर भनेको आफ्नो घर हो, तेरो हक लाग्छ। के गर्छेस् नानी, माइतीको अबस्था तँलाई राम्रै था´छ, कति गाह्रो छ हामीलाई।’

‘आम्दानीको नाममा त्यही तेरो दाजुको जागिर न हो। उसले अर्काको पसलमा काम गरेर कति पो कमाउँछ र? त आफैं बिचार गर त। हाम्रो आम्दानी राम्रो भएको भए, कलिलो उमेरमै तेरो बिहे गरिदिने हाम्रो पनि रहर थिएन। पढाइ लेखाइ गराउन सकिएन, के गर्छेस् नानी,…
“एक पटक राम्रोसँग बिचार गर बाबै, दाजु भाउजूलाई आफ्नो छोराछोरी कसरी हुर्काउने भन्ने सुर्ता छ। अझ ३/३ जना भाइ बहिनीको बिहेदान गर्नु छ। तँ र तेरो छोरी पनि थपिँदा झन् के होला हाम्रो हालत?”

आमाको यस्तो कुरा सुनेर सम्झना छांगाबाट खसे सरी भइन्। आमाबाबुको आश भरोसामा रातदिन जाँड खाएर, बाहिर केटी लिएर हिँड्ने र घर आएर हरेक रात जसो शारीरिक र मानसिक यातना दिने लोग्नेलाई छाड्ने हिम्मत गरेकी थिइन्।

जतिसुकै मरेर काम गरे पनि जस नदिने, पेट भरि खान नदिने सासू, ससुरा घर परिवारलाई छोडेर दुधे छोरी च्यापेर एक सरो कपडामा घर छोडेर निस्केकी थिइन्।

आमाको कुरा सुनेर सम्झनाको आँखा वरपर कालो बादल छायो। घर फर्केर जाउँ २ महिना अघि घर छोड्दा सासु र लोग्नेले अब यो घरको ढोका तेरो लागि बन्द भयो भनेका थिए। त्यसमाथि गाँईगुई हल्ला चलेको छ उनको लोग्नेले अर्की श्रीमती घर भित्राई सकेको छ रे।

‘माइती बसौं, आमाले सांकेतिक रुपमा बिदा दिई सकेकी छिन्। भाउन्न छुट्यो बरै, रिँगाटा लागेर आँखै तिर्मिरायो, वाकवाकी लागेर आयो, काखमा च्यापेको छोरी भुईमा राखेर दौड्दै आँगनको डिलमा गएर वान्ता गरिन्।

नजिकै आएर कान्छो भाइले सोध्यो, “ठुल्दिदी के भो तँलाई?”

भित्रबाट भाउजू झर्किँदै भन्दै थिइ “के हुनु र कान्छा, सुकी दे गाँड भन्दा फुकी दे गाँड भनेको यही हो।”
कान्छा अलमल्ल परेर हेरिरह्यो।

सम्झना आफू पर नसरेको कति महिना भएछ भनेर औँला भाच्दै थिइन्। खुइ्इ सुस्केरा हालेर बरण्डामा खेल्दै गरेकी छोरीलाई काखमा च्यापेर एक तमासले घरको तगारो तिर हेरिरहिन् आफ्नो गन्तव्य देखिन्छ कि भनेर…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *